काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले सार्वजनिक गरेका दुई पोष्टरले चलचित्रको पारिवारिक कथावस्तु र पात्रहरूको भावनात्मक यात्रालाई संकेत गरेका छन् ।
पहिलो पोष्टरमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मालाई एउटै परिवारका सदस्यका रूपमा प्रस्तुत गरिएको छ । घरको आँगनमा खुशीयालीका साथ पारिवारिक तस्वीर खिचाइरहेको दृश्यले सुखी परिवारको चित्र प्रस्तुत गरेको छ । पोस्टरमा देखिएको गाउँघरको परिवेश र रातो माटोले लिपपोत गरिएको घरले नेपाली सांस्कृतिक परिवेश तथा दशैँको माहोल झल्काएको छ ।
दोस्रो पोष्टरमा भने पात्रहरूको अनुहारमा तनाव, कौतुहलता र आक्रोश देखाइएको छ । झरना थापा र सुहाना थापाको भावभंगिमाले अनपेक्षित घटनापछि उत्पन्न भएको अन्योल संकेत गर्छ भने दिव्यदेव पन्त र अनिल बुढाथोकी आक्रोशित अवस्थामा देखिनुभएको छ । पोष्टरमा माओत्से गुरुङ पनि कुटिल मुस्कानसहित प्रस्तुत भएकाले उहाँको पात्रप्रति थप उत्सुकता सिर्जना भएको छ ।
निर्माण पक्षका अनुसार पोष्टरहरूले एउटा सुखी परिवारमा अचानक आइपर्ने घटनापछि सुरु हुने पारिवारिक संघर्ष र भावनात्मक उतारचढावलाई संकेत गरेका छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रले नेपाली समाजमा सन्तानको भविष्यका लागि एक बुबाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई मुख्य विषयवस्तु बनाएको छ । चलचित्रमा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा, अनिल बुढाथोकी, माओत्से गुरुङलगातका कलाकारको अभिनय छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता वसन्त लम्साल हुनुहुन्छ । यसअघि उहाँले अभिनेता विपीन कार्की अभिनीत ‘कर्मा’ निर्माण गर्नुभएको थियो । चलचित्र ‘बाः एक योद्धा’ आगामी भदौ १९ गते, कुशे औँसी (बुबाको मुख हेर्ने दिन)को पूर्वसन्ध्यादेखि देशभर प्रदर्शनमा आउँदै छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि