टेक्सास । विश्व फुटबलका एक सर्वकालीन महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको फुटबल महाकुम्भको सबैभन्दा ठूलो ट्रफी उचाल्ने सपना लगभग सधैँका लागि अधुरै रहन पुगेको छ । अमेरिकाको टेक्सासस्थित डलासमा सम्पन्न विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ को खेलमा पोर्चुगल पराजित भएसँगै ४१ वर्षीय सुपरस्टार रोनाल्डोको विश्वकप यात्रा आँसु, आक्रोश र निराशाबीच समाप्त भएको हो । खेल सकिएपछि मैदानबाट बाहिरिने क्रममा रोनाल्डो निकै भावुक देखिनुभएको थियो । भावुक बन्नुभएका उहाँले समर्थकहरूतर्फ हात हल्लाउँदै मैदान छाड्नुभएको थियो ।
यो दृश्यले विश्वभरका उहाँका करोडौँ समर्थकहरूलाई स्तब्ध बनायो । खेलपछि मिडियासँग कुरा गर्दै रोनाल्डो निराश देखिए पनि उहाँले आफ्नो खेल जीवनप्रति गर्व गर्नुभयो । ‘यसरी प्रतियोगिताबाट बाहिरिनुपर्दा दुःख लाग्नु स्वाभाविक हो । तर, मैले आफ्नोतर्फबाट सबैथोक दिएँ, आफ्नो उत्कृष्ट प्रदर्शन गरेँ । म सफा विवेकका साथ मैदानबाट बिदा हुँदैछु । यही फुटबल हो, यही जीवन हो । कहिले जितिन्छ, कहिले हारिन्छ’, उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १४६ गोलको कीर्तिमान बनाउनुभएका रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप भएको पुनः पुष्टि गर्नुभयो । यद्यपि, पोर्चुगलको राष्ट्रिय टोलीबाट अगाडिको यात्रा के हुने र उहाँले सन्न्यास लिने–नलिने भन्नेबारे हतारमा कुनै निर्णय नलिने उहाँले बताउनुभयो ।
पोर्चुगल विश्वकपबाट बाहिरिएसँगै टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले पोर्चुगललाई विश्वकप जिताउने उद्देश्यका साथ आफू आएको तर त्यो पूरा हुन नसकेकाले सम्झौता आजकै दिनदेखि अन्त्य भएको घोषणा गर्नुभयो । मार्टिनेजले रोनाल्डोलाई फुटबलको ‘आइकन’ र ड्रेसिङ रुमको उत्कृष्ट उदाहरण भन्दै बचाउ पनि गर्नुभयो ।
पराजयसँगै फुटबल जगत्मा लामो समयदेखि चल्दै आएको क्रिस्टियानो रोनाल्डो कि लियोनेल मेसी श्रेष्ठ ? भन्ने बहसमा मेसी समर्थकलाई बल पुगेको छ । मेसीले सन् २०२२ मा नै अर्जेन्टिनालाई विश्वकप जिताइसक्नुभएको छ भने जारी विश्वकपमा पनि उहाँ सात गोलसहित उच्च फर्ममा हुनुहुन्छ । अर्कोतर्फ रोनाल्डोले आफ्नो खेल जीवनमा कहिल्यै विश्वकपको ट्रफी छुन पाउनुभएन । विश्वकपको इतिहासमा मेसीको नाममा २० गोल भइसकेको छ भने रोनाल्डो ११ गोलमा रोकिनुपरेको छ र रोनाल्डोले नकआउट चरणमा गरेको एकमात्र गोल यसै वर्ष क्रोएसियाविरुद्धको पेनाल्टीमात्र थियो ।
स्पेनको खतरनाक डिफेन्स !
क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको दुखद् बहिर्गमनको अर्को पाटो भनेको इबेरियन छिमेकी स्पेनको सानदार जित र क्वाटरफाइनल प्रवेश हो । युरोपेली फुटबलका यी दुई महारथीबीचको भिडन्त खेलको अन्तिम सेकेण्डसम्म पनि निकै रोमाञ्चक र तनावपूर्ण रहेको थियो । खेलभरि नै स्पेनले बलमाथि नियन्त्रण जमाउँदै उत्कृष्ट पासिङ गेम खेलेको थियो भने पोर्चुगलले रोनाल्डोलाई केन्द्रमा राखेर काउन्टर अट्याकमा जोड दिएको थियो । पहिलो हाफमा रोनाल्डोले प्रहार गरेको एउटा उत्कृष्ट बललाई स्पेनका कीर्तिमानी गोलकिपर उनाई सिमोनले हावामै उफ्रिएर दुई हातले बचाउनुभएको थियो । आफ्ना साथी खेलाडी जोआओ फेलिक्सको हेडर सिमोनको काँधमा ठोक्किएर आएपछि रोनाल्डोले ब्याकवार्ड किक गरे पनि सिमोनले उत्कृष्ट बचाउ गर्दै स्पेनको संकट टार्नुभयो । रोनाल्डो र फेलिक्सका थुप्रै प्रहारहरूलाई विफल पार्दै सिमोन स्पेनका लागि मैदानमा बलियो पर्खाल बनेर उभिनुभयो ।
निर्धारित ९० मिनेटको समयसम्म दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चितजस्तै देखिन्थ्यो । तर, खेलको निर्णय इन्जुरी समयको अन्तिम क्षणमा हुन पुग्यो । स्पेनका मिकेल मेरिनोले इन्जुरी समयमा पोर्चुगलको बलियो रक्षापंक्तिलाई तोड्दै उत्कृष्ट र नाटकीय गोल गर्नुभयो । उहाँको सोही एकल गोल नै स्पेनलाई क्वाटरफाइनल पुर्याउन पर्याप्त बन्यो ।
यसअघि इटाली (१९९०) र स्विट्जरल्याण्ड (२००६-२०१०) को नाममा रहेको कीर्तिमानलाई स्पेनले तोडिदिएको छ । सन् २०२२ को विश्वकपमा मोरोक्कोसँग पेनाल्टीमा बाहिरिएयता स्पेनले विश्वकपका खेलहरूमा १० घण्टा ९ मिनेटदेखि कुनै गोल खाएको छैन । स्पेनको यो बलियो रक्षापंक्तिको सुरुवात गोलकिपर उनाई सिमोनबाट हुन्छ । डलासमा क्रिस्टियानो रोनाल्डो र पोर्चुगिज टोलीलाई रोक्दै सिमोनले विश्वकपमा लगातार ६०९ मिनेटसम्म गोल नखाएको महाकीर्तिमान बनाउनुभएको हो ।
यस क्रममा सिमोनले इटालीका वाल्टर जेंगाको ५१७ मिनेट र आफ्नै देशका लिजेन्ड इकर कासिलासको ४७६ मिनेटको कीर्तिमानलाई धेरै पछाडि छाडिदिनुभएको छ । सन् २०१२ को युरोकप जितेयता स्पेनको विश्वकप यात्रा सहज थिएन । सन् २०१४ र २०१८ मा टोली समूह चरण र पहिलो नकआउट चरणबाटै बाहिरिएको थियो । तर, वर्तमान युरोपियन च्याम्पियनका रूपमा विश्वकपमा फर्किएको स्पेन यस पटक पुनः विश्व फुटबलको शिखरमा पुग्न सक्षम देखिएको छ । स्पेनले अहिलेसम्म आफ्नो सर्वश्रेष्ठ खेल पस्कन बाँकी नै भए पनि गोल नखानु अन्य टोलीका लागि खतराको घण्टी हो । क्वाटरफाइनलमा पुगेको स्पेनले अब सेमिफाइनल प्रवेशका लागि आगामी शुक्रबार बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि