काठमाडौं । नेपाली चलचित्र निर्देशक दीपक रौनियारको नयाँ छोटो फिल्म ‘प्राइभेट प्रोपर्टी’ विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक लोकार्नो फिल्म फेस्टिभल को ७९औं संस्करणका लागि छनोट भएको छ । आगामी अगष्ट ५ देखि १५ सम्म स्विट्जरल्याण्डमा आयोजना हुने महोत्सवको ‘पार्दी दी दोमानी’अन्तर्गतको प्रतिष्ठित ‘कोन्कोर्सो कोर्ति दुओतेर’ प्रतिस्पर्धामा फिल्म छनोट भएको हो । अमेरिका, नेपाल र फ्रान्सको सहनिर्माणमा बनेको यस फिल्मको विश्व प्रिमियर पनि सोही महोत्सवमा हुनेछ ।
यसवर्ष उक्त प्रतिस्पर्धाका लागि विश्वभरबाट केवल १० वटा छोटो फिल्म छनोट गरिएका छन्, जसमा रौनियारको ‘प्राइभेट प्रोपर्टी’ले पनि स्थान बनाएको हो । यसअघि रौनियार निर्देशित ‘हाइवे’ बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव, ‘ह्वाइट सन’ र ‘पूजा, सर’ भेनिस फिल्म फेष्टिभल तथा ‘फोर नाइट्स’ बर्लिनाले सर्ट्समा विश्व प्रिमियर भइसकेका छन् ।
फिल्म छनोट भएपछि निर्देशक रौनियारले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्दै अहिले शेफ सन्तोष शाहको जीवनबाट प्रेरित फिचर फिल्म ‘द टेष्ट अफ साल्ट’को लेखन, विकास र लगानी जुटाउने काममा व्यस्त रहेको बताउनुभएको छ । उहाँले गत जनवरीमा अमेरिकाको नर्थ क्यारोलिनामा ‘प्राइभेट प्रोपर्टी’को छायांकन गरिएको जानकारी दिँदै फिल्म निर्माणमा साथ दिने कलाकार, प्राविधिक टोली, शैक्षिक संस्था र सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभएको छ ।
लोकार्नो फिल्म फेष्टिभलले ‘पार्दी दी दोमानी’ कार्यक्रमलाई नयाँ सिनेमाटिक प्रयोग, सिर्जनात्मक अभिव्यक्ति र उदीयमान फिल्मकर्मीलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने महत्त्वपूर्ण प्रतिस्पर्धाका रूपमा लिने गरेको छ । यसवर्ष यसअन्तर्गत २९ देशका ४० फिल्मको विश्व प्रिमियर हुने आयोजकले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि