काठमाडौं । आगामी हरितालिका तीजको अवसर पारेर चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा चलचित्रको औपचारिक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।
सार्वजनिक पोष्टरले गहिरो र विद्रोही प्रेमकथाको संकेत गरेको छ । पोष्टरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय)को अनुहारमा चोटका सामान्य दाग र हातमा हतकडी देखिन्छ भने रातो विवाह पहिरनमा सजिनुभएकी अभिनेत्री दिव्या रायमाझीले उहाँको छातीमा टाउको अडेसाएर उभिएको दृश्य प्रस्तुत गरिएको छ । पोष्टरले पारिवारिक वा सामाजिक द्वन्द्वबीच विकसित प्रेमकथाको झल्को दिने निर्माण पक्षको दाबी छ ।
पोष्टर सार्वजनिक कार्यक्रममा पारस र दिव्या पोष्टरकै स्वरूपमा मञ्चमा प्रस्तुत हुनुभएको थियो । दिव्या बेहुलीको पहिरनमा हुनुहुन्थ्यो भने पारसको हातमा हतकडी थियो । उहाँहरूको प्रस्तुतिले कार्यक्रममा उपस्थित सञ्चारकर्मी र अतिथिको ध्यान आकर्षित गरेको थियो । ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रको पोस्टर श्रीधर पौडेलले खिचेको तस्वीरमा आधारित रहेर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गर्नुभएको हो ।
‘होस्टेल ३’बाट ठूलो पर्दामा डेब्यु गर्नुभएका पारस यस चलचित्रमा दिव्या रायमाझीसँग मुख्य भूमिकामा देखिँदै हुनुहुन्छ । चलचित्रमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल, समायरा थापामगरलगायत कलाकारको अभिनय छ ।
‘होस्टेल ३’का निर्देशक सशान कँडेलले माधव शर्माको कथामा आधारित भएर चलचित्र निर्देशन गर्नुभएको हो । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको चलचित्रमा योगेन्द्र कार्की र मार्लोभ ढुंगाना सहायक निर्देशकका रूपमा आबद्ध हुनुहुन्छ ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन, रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी तथा अर्जुन पोखरेलको संगीत छ । प्रताप शमशेर राणा निर्माता रहेको चलचित्रमा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता, दुर्गा खरेल र शिशिर श्रेष्ठ सहनिर्माता तथा कोसिसराज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर रहनुभएको छ । निर्माण पक्षले तीजको अवसरमा प्रदर्शनमा आउने चलचित्रले प्रेम, परिवार र सामाजिक सम्बन्धको भावनात्मक कथा प्रस्तुत गर्दै दर्शकलाई फरक सिनेम्याटिक अनुभव दिने विश्वास व्यक्त गरेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि