काठमाडौं । योगमाया दिवसको अवसरमा नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान-२०८३’ अग्रज कथाकार माया ठकुरीलाई तथा ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान–२०८३’ साहित्यकार तथा अभियन्ता निनु चापागाईंलाई प्रदान गरिएको छ । दुवै सम्मानमा जनही ५० हजार १०१ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । सम्मान अग्रज साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरे, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, रेखा कँडेल, राजेश न्यौपानेलगायतले समर्पण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रोचक घिमिरेले योगमायाले निरंकुशता, सामाजिक विकृति र विभेदविरुद्ध खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै सम्मानका लागि योग्य व्यक्तित्वको छनोट गरेर नेपाल स्रष्टा समाज स्वयं सम्मानित भएको बताउनुभयो । सोही अवसरमा योगमाया न्यौपानेका विषयमा लेखिएका लेख-रचनाको संग्रह ‘योगमाया : इतिहासदेखि वर्तमानसम्म’ कृतिको पनि लोकार्पण गरिएको थियो । प्रदीप सापकोटाले सम्पादन गरेको उक्त कृतिमा योगमायाको व्यक्तित्व, योगदान र विचारबारे विभिन्न लेखकका लेख समेटिएका छन् ।
सम्मान ग्रहणपछि कथाकार माया ठकुरीले सम्मानले आफूलाई गौरवान्वित बनाएको बताउनुभयो । अर्का सम्मानित निनु चापागाईंले योगमायाको जीवन र योगदानबारे अझ व्यापक अध्ययन र अनुसन्धान आवश्यक रहेको धारणा व्यक्त गर्दै उहाँलाई आफ्नो समयकी क्रान्तिकारी कविका रूपमा स्मरण गर्नुभयो ।
कार्यक्रममा पुरस्कारका संस्थापक पवन आलोक र राजेश न्यौपानेले योगमायाको योगदान आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो । सम्मानित व्यक्तित्वहरूको परिचय इल्या भट्टराईले प्रस्तुत गर्दै माया ठकुरीका कृतिहरू नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका पाठ्यक्रममा समावेश भएको तथा निनु चापागाईंले साहित्य र सामाजिक आन्दोलनमा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
न्यौपाने बन्धु समाज नेपालका अध्यक्ष बलराम न्यौपानेले योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न पहल भइरहेको जानकारी दिँदै नवप्रकाशित कृतिले उनको योगदानबारे थप जानकारी फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गायिका लोचन भट्टराईको स्वर तथा संगीतमा आधारित योगमायाका रचनामाथि तयार गरिएको गीत–भिडियो पनि प्रस्तुत गरिएको थियो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकार तथा स्रष्टाहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन प्रदीप सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रकाश घायलले र धन्यवाद ज्ञापन गोपिकृष्ण न्यौपानेले गर्नुभएको थियो । आयोजकका अनुसार पवन आलोकद्वारा स्थापित ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’बाट हालसम्म १८ जना तथा राजेश न्यौपानेलगायतको पहलमा स्थापित ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’बाट नौजना व्यक्तित्व सम्मानित भइसक्नु भएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी