काठमाडौंदेखि कर्णालीसम्मका विद्यालयमा हरेक दिन लाखौं विद्यार्थीले गणित, भौतिकशास्त्र, रसायनशास्त्र पढ्छन्, तर उनीहरूमध्ये अधिकांशलाई आफूले पढेको ज्ञान वास्तविक जीवनमा कसरी रूपान्तरित हुन्छ भन्ने कुरा एसइई र कक्षा १२ सकुन्जेलसम्म पनि थाहा हुँदैन । उनिहरूलाई कक्षाकोठामा न्युटनको गतिको नियम घोकाइन्छ, तर पुल किन ढल्दैन वा गाडीको ब्रेकले कसरी काम गर्छ भन्ने कुरासँग त्यही नियम कसरी जोडिन्छ भनेर कहिल्यै सिकाइँदैन । यही खाडलले गर्दा नेपाली विद्यार्थीका लागि इन्जिनियरिङ भनेको आफ्नै वरिपरि भइरहेको एउटा जीवन्त विज्ञान नभएर ‘पढेर जागिर पाइने अर्को विषय’ मात्र बनेको छ ।
सरल शब्दमा भन्नुपर्दा, विज्ञानले ‘किन हुन्छ’ भन्ने प्रश्नको उत्तर खोज्छ भने इन्जिनियरिङले ‘कसरी बनाउने’ भन्ने प्रश्नको उत्तर दिन्छ । विज्ञान अवलोकन र सिद्धान्तमा आधारित हुन्छ, जबकि इन्जिनियरिङ डिजाइन, प्रयोग र सीमित स्रोतको उपलब्धतामा उत्तम समाधान खोज्ने प्रक्रिया हो ।
नेपालका विद्यालयमा गणित र विज्ञान पढाउने शिक्षकहरू प्रायः पाठ्यपुस्तकमा लेखिएका सूत्र, परिभाषा र सिद्धान्त घोकाउनमै सीमित छन् । किनकि उनीहरू आफैं परम्परागत शैक्षणिक पद्धतिबाट प्रशिक्षित भएका छन्, जहाँ प्राकृतिक विज्ञान र इन्जिनियरिङ विज्ञान बीचको भिन्नता कहिल्यै स्पष्ट पारिँदैन । प्राकृतिक विज्ञानले प्रकृतिमा भइरहेका घटनाको व्याख्या गर्छ– जस्तै स्याउ किन भुइँमा खस्छ, वा पानी उमाल्दा किन वाफ बन्छ इत्यादि । तर, इन्जिनियरिङले त्यही ज्ञानलाई उपयोग गरेर मानिसको समस्या समाधान गर्न नयाँ थोक निर्माण गर्छ, जस्तै स्याउ खस्ने सिद्धान्तलाई बुझेरै भवन ढल्न नदिने संरचना डिजाइन गरिन्छ, र पानी उम्लेर बनेको उच्च चाप युक्त वाफकै शक्तिबाट विद्युत् उत्पादन गर्ने टर्बाइन घुमाइन्छ । यो भिन्नता निकै सरल तर अत्यन्त महत्त्वपूर्ण छ, तर विद्यार्थीलाई कहिल्यै स्पष्ट रूपमा सिकाइँदैन ।
सरल शब्दमा भन्नुपर्दा, विज्ञानले ‘किन हुन्छ’ भन्ने प्रश्नको उत्तर खोज्छ भने इन्जिनियरिङले ‘कसरी बनाउने’ भन्ने प्रश्नको उत्तर दिन्छ । विज्ञान अवलोकन र सिद्धान्तमा आधारित हुन्छ, जबकि इन्जिनियरिङ डिजाइन, प्रयोग र सीमित स्रोतको उपलब्धतामा उत्तम समाधान खोज्ने प्रक्रिया हो । एउटा वैज्ञानिकले भौतिकशास्त्रको सिद्धान्तबाट किन र कसरी विद्युत् प्रवाह हुन्छ भन्ने व्याख्या गर्छ भने एउटा इन्जिनियरले त्यही सिद्धान्तलाई प्रयोग गरी घरघरमा बत्ती बल्ने विद्युतीय सर्किट डिजाइन गर्छ । त्यसैले, इन्जिनियरिङ विज्ञानको व्यावहारिक अनुवाद हो, जसले ज्ञानलाई उपयोगी वस्तु र सेवामा रूपान्तरण गर्छ ।
वास्तवमा, इन्जिनियरिङ कुनै सीमित व्यक्तिको विषय होइन; यो त हरेक नागरिकको दैनिक जीवनसँग जोडिएको ज्ञान हो । विद्यार्थीले बिहान प्रयोग गर्ने नलबाट आउने पानी सिभिल तथा वाटर सप्लाई इन्जिनियरिङको उपज हो । विद्यालय जाँदा चढ्ने बस वा मोटरसाइकल मेकानिकल इन्जिनियरिङको प्रत्यक्ष उदाहरण हो । मोबाइल फोन र इन्टरनेट इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङको नतिजा हो, अनि घर बनाउँदा प्रयोग हुने इँटा, सिमेन्ट र फलामको जोडाइ स्ट्रक्चरल इन्जिनियरिङको आधारभूत सिद्धान्तमा आधारित हुन्छ । खेतमा प्रयोग हुने सिँचाइ प्रणाली, धारामा आउने खानेपानी शुद्धीकरण प्रविधि, र गाउँघरमा पुगेको विद्युत् प्रसारण लाइन- यी सबै दैनिक जीवनमै भेटिने इन्जिनियरिङका जीवन्त उदाहरण हुन् । तर विडम्बना, विद्यार्थीलाई यी उदाहरणसँग आफूले कक्षामा पढेको सिद्धान्त जोडेर देखाइँदैन, जसका कारण उनीहरूका लागि विज्ञान भनेको जीवनभन्दा बाहिरको एउटा पुस्तकीय विषयमात्र बन्न पुगेको छ ।
नेपाल यस क्षेत्रमा किन पछाडि पर्यो भन्ने प्रश्नको उत्तर खोज्दा थुप्रै तह देखिन्छन् । पहिलो, पाठ्यक्रममा नै विज्ञान र इन्जिनियरिङबीचको सम्बन्ध स्पष्ट पार्ने खालको सामग्री छैन । दोस्रो, विद्यालयमा प्रयोगात्मक शिक्षा र परियोजनामा आधारित सिकाइको अभ्यास लगभग शून्य छ, जसका कारण विद्यार्थीले हात चलाएर, केही बनाएर सिक्ने अवसर नै पाउँदैनन् । तेस्रो, शिक्षकलाई नै इन्जिनियरिङ प्रयोगमूलक तालिम दिइएको छैन, परिणामस्वरूप उनीहरूले पनि यो भिन्नता व्याख्या गर्न सक्दैनन् । चौथो, करियर परामर्शको अभावमा विद्यार्थीले इन्जिनियरिङलाई राम्रो अंक ल्याएपछिमात्र रोज्ने विषय का रूपमा बुझ्छन्, नकि आफ्नो रुचि र सीपसँग जोडेर। र पाँचौं, विकसित मुलुकहरूमा जस्तो स्कुल तहमै रोबोटिक्स, साधारण सर्किट, स-साना संरचना निर्माण जस्ता व्यावहारिक क्रियाकलाप को अभाव हुनु । जबकि यस्ता गतिविधिले नै बालबालिकामा इन्जिनियरिङप्रतिको स्वाभाविक जिज्ञासा जगाउँछन् ।
सरकारले माध्यमिक तहको विज्ञान पाठ्यक्रममा हरेक अध्यायसँग सम्बन्धित इन्जिनियरिङ प्रयोग स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ, ताकि सिद्धान्त पढ्दै गर्दा विद्यार्थीले त्यसको व्यावहारिक उपयोग पनि सँगसँगै बुझ्न सकुन ।
यसको समाधानको लागि राज्यको स्पष्ट नीति र लगानी हुनुपर्छ । पहिलो कदमका रूपमा सरकारले माध्यमिक तहको विज्ञान पाठ्यक्रममा हरेक अध्यायसँग सम्बन्धित इन्जिनियरिङ प्रयोग स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ, ताकि सिद्धान्त पढ्दै गर्दा विद्यार्थीले त्यसको व्यावहारिक उपयोग पनि सँगसँगै बुझ्न सकुन् । दोस्रो, शिक्षकहरूका लागि नियमित प्रयोगमूलक तालिम अनिवार्य गरिनुपर्छ, जसमा साधारण सर्किट, स-साना मोडेल पुल, वा पानीचक्की जस्ता चिजबिज आफैं बनाएर देखाउने सीपको विकास गराइनुपर्छ । तेस्रो, हरेक विद्यालयमा न्यूनतम एउटा ‘इनोभेसन वा मेकर स्पेस’ स्थापना गरी विद्यार्थीले आफैं साना उपकरण, मोडेल र परियोजना बनाउने वातावरण सिर्जना गर्नुपर्छ । चौथो, माध्यमिक तहदेखि नै स्थानीय इन्जिनियर, प्राविधिज्ञ र उद्योगका पेशागत विशेषज्ञलाई विद्यालयमा आमन्त्रित गरी अन्तर्क्रिया गराउने कार्यक्रम अनिवार्य बनाउनुपर्छ, जसले विद्यार्थीलाई इन्जिनियरिङ पेशाको वास्तविक स्वरूप बुझ्न मद्धत गर्छ । र अन्तिममा, स्थानीय तहले आफ्नै क्षेत्रका पुल, सिँचाइ, खानेपानी वा विद्युत् आयोजनालाई शैक्षिक भ्रमणको माध्यम बनाई विद्यार्थीलाई प्रत्यक्ष अवलोकन गराउनुपर्छ, ताकि किताबमा पढेको ज्ञान र वरपर देखेको संरचनाबीचको सम्बन्ध उनीहरूले आफैं महसुस गर्न सक्षम बनुन् ।
इन्जिनियरिङ कुनै जटिल वा सीमित व्यक्तिको संसारमात्र होइन, यो त हामी उठ्ने ओछ्यानदेखि पिउने पानी, चढ्ने गाडी र बाल्ने बत्तीसम्म सबैतिर व्याप्त रहेको एउटा व्यावहारिक विज्ञान हो । नेपालका लाखौं विद्यार्थीलाई सानै उमेरदेखि यो सत्य महसुस गराउन सकियो भनेमात्र भविष्यमा देशले आफ्नै पुल, आफ्नै जलविद्युत् आयोजना र आफ्नै प्रविधि निर्माण गर्नसक्ने योग्य र आत्मविश्वासी इन्जिनियरहरू उत्पादन गर्न सक्नेछ । यसका लागि आवश्यक पर्ने लगानी ठूलो होइन, आवश्यक पर्ने भनेको दृष्टिकोणमा परिवर्तन र शिक्षा संरचनामा व्यावहारिकतालाई दिइने प्राथमिकता मात्र हो ।
(लेखक एरोस्पेस इन्जिनियर हुनुहुन्छ ।)







Awesome Post