नेपाली कांग्रेस गम्भीर रूपमा दुई फ्याक जस्तो देखिने गरी चर्केको छ महिना बितिसकेको छ । यसबीचमा एकताका प्रयास र यसबारेका विभिन्न अभिव्यक्ति आए । अहिले पनि त्यस्ता प्रयास र अभिव्यक्तिहरू एकपछि अर्को सार्वजनिक भइरहेकै छन् । तर कांग्रेस नेतृत्वले निकास निकाल्न भने सकेको छैन । यसका लागि एक पक्षले अर्को पक्षलाई दोष दिइरहेका छन् र दुवै पक्षले आफू आफ्ना कमजोरीहरू लुकाउने र अर्को पक्षका सानातिना कमजोरीलाई कोट्याई-कोट्याई ठूलो बनाउने प्रयास गरिरहेका छन् । कांग्रेसका दुबै पक्षबाट भएका यस प्रकारका प्रयासहरूबाट विश्वेश्वरप्रसाद कोइरालासहित अनेक पूर्वजहरूले स्थापना गरेको यो पार्टी अहिले आएर अरूले खिसीट्युरी गर्ने अवस्थामा पुगिसकेको छ ।
यसको मतलब यो हो कि अब कांग्रेस पुनः पहिलेको जस्तो सशक्त पार्टी बन्नसक्ने सम्भावना कम देखिँदैन । कांग्रेस अहिले नै निमिट्यान्न बनेर नेपालको राजनीतिक धरातलबाट अस्थाइ त नहाल्ला तर यसको अवस्था भने दिनप्रतिदिन कमजोर बन्दै गइरहेको छ । यसको दोष अरू कसैलाई लगाउन मिल्दैन कांग्रेस आफैं नै दोषी हो । अहंकार र जुँगाको लडाइँ यसको कारक बनेको छ । जेन–जी विद्रोहपछि सरकारको गठबन्धनबाट पनि बाहिरिनुपरेको र पार्टी सभापति शेरबहादुर देउवा दम्पतीमाथि आक्रमण भएपछि केही मान्छेहरूको सहानुभूति प्राप्त भए पनि त्यो अनेक कारणले स्थायी हुनसकेको छैन ।
अहिले देउवा दम्पती देशबाहिर हुनुहुन्छ । देउवाले कार्यवाहक सभापति नियुक्त गरी जिम्मेदारी लिनुभएका पूर्णबहादुर खड्कालगायत पार्टीका उमेर, अनुभव र जिम्मेवारीले वरिष्ठ बन्न पुग्नुभएका धेरैजसो नेताहरूले यतिखेर विशेष महाधिवेशनमा परेको चिरा मेट्ने प्रयासमा सम्पर्क कार्यालयको बोर्डमुनि एकत्र भएको बताइँदैछ । विशेष महाधिवेशन र पन्ध्रौं महाधिवेशनको रेखा खिचिएको भए पनि विशेष महाधिवेशन पक्षलाई नै निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिक मानिसकेको अवस्था छ । तर संस्थापन इतरपक्षले त्यसलाई स्वीकार्न सकिरहेको छैन । यस अवस्थामा विशेष महाधिवेशन पक्षधर नेतृत्वसँग समझादारी र सहमति भएको खण्डमा कांग्रेस एकता हुनसक्ने अन्यथा अर्को पार्टी खडा गरेर अगाडि बढ्नुपर्ने अवस्था आउनसक्ने इतर पक्षको भनाइ छ ।
कांग्रेसको चिरा मेट्ने हो भने समायोजन जरुरी छ भन्दै क्रियाशील सदस्यताको नवीकरणलगायत केन्द्रीय समितिमा चौधौं महाधिवेशनबाट गठित समितिका बाँकी १११ जना सदस्यसमेत समावेश गरी केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग संस्थापन इतरबाट आएको सुनिन्छ । बहुमत सभापति गगन थापाकै पक्षमा रहने गरी केन्द्रीय समितिको संयोजन, पन्धौं महाधिवेशन तयारी समितिमा इतर पक्षको सहभागिता, अनुशासन समिति, सदस्यता छानविन समितिमा समायोजन गर्नुपर्ने आग्रह इतर पक्षको देखिन्छ । यदि संस्थापन पक्षले आफ्ना कुरा नसुन्ने हो भने समानान्तर अभ्यास र अलग बाटो तय गर्ने चेतावनी संस्थापन इतरको रहेको छ । त्यसैले अब कांग्रेसलाई एकताको निष्कर्षतिर पुर्याउन देखावटी होइन साँचो मनले संवाद गरौं भनेर इतर पक्षका नेताहरूले सार्वजनिक प्रस्ताव गर्नुभएको हुनुपर्छ । वरिष्ठ नेता डा.शेखर कोइराला भने अहिले पनि फरक बाटोबाट अगाडि बढ्दै हुनुहुन्छ । उहाँ कहिले संस्थापन र कहिले असहमत पक्षका निकटमा परिभ्रमण गरिरहनुभएको छ । कांग्रेसभित्र चुलिएको विवादलाई समाधान गर्न उहाँ मध्यस्थकर्ताको प्रयासमा आफूलाई अनिर्णित बनाउँदै अगाडि बढ्नुभएको भए पनि अन्ततः असहमत पक्षकै नेतृत्वमा पुग्ने अवस्था देखिँदैछ ।
संस्थापन पक्ष संस्थापन इतरका माग सम्बोधन गर्न तयार भइरहेको अवस्था छैन । इत्तर पक्षका नेताहरू कांग्रेसमा नरहने र अर्को पार्टी खोलेर अगाडि बढ्ने हो भने सो पार्टीलाई जनस्तरबाट नेपाली कांग्रेसका रूपमा स्वीकारिँदैन भन्ने उनीहरूको अनुमान देखिन्छ । जहाँ चारतारे झण्डा र चुनाव चिह्न रूख हुँदैन त्यो पार्टी नेपाली कांग्रेस रहँदैन भन्ने बुझेका संस्थापन पक्षका पदाधिकारीहरूले संस्थापन इतरलाई गलाएर पार्टीमा समेट्ने र नसमेटिनेहरू पाखा लागून् भन्ने नीति लिएको हुनसक्छ । यसरी दुबैतिरको अहंकार र जुँगाको लडाइँले गर्दा नेपाली कांग्रेस गम्भीर रूपमा बिथोलिइरहने अवस्था सिर्जना भएको छ । यसो भइरह्यो भने दिनप्रतिदिन नेपाली कांग्रेस झन्झन् कमजोर बन्नजान्छ र अन्ततः यसको गौरवपूर्ण इतिहास नै धुमिल बन्नपुग्नेमा दुई मत हुँदैन ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको एउटा उत्तेजक जमातले निरन्तर पुरना नेताहरूको अपमान गर्ने, एैंजेरु, रूखका बोक्रा, चोइटा अथवा कुचोले बढार्नुपर्ने कसिंगर हावाले बढार्नेजस्ता अपमानजनक टिप्पणी गरिरहेको सुनिन्छ । नेपाली कांग्रेस निरन्तरताको प्रवाह हो भन्ने हेक्का धेरैमा देखिँदैन । असी वर्षको इतिहासमा अनेक भावधाराहरू जोडिँदै आएको यो पार्टी विवादको गौंडो उक्लिन नसकेको अवस्थामा नेपालबाट लोकतन्त्र समाप्त भएको वा कमजोर भएको इतिहास सिद्ध देखिन्छ । राजनीतिमा लिगेसीको महत्त्वपूर्ण स्थान हुन्छ । यदि योगदान गर्नेहरूको लिगेसी अन्त्य भएमा, अपमानित भएर पृथक हुने अवस्था आएमा नवपालुवाहरू पनि वौरिने होइन ओइलिएर जाने सम्भावना हुन्छ । यस अवस्थामा नेपाली कांग्रेसलाई एक बनाउने/नबनाउने एकमात्र व्यक्ति वा शक्ति सभापति गगन थापा नै हुनुहुन्छ । विगतमा पार्टी विभाजन भएको समय तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको दृढ पहलमा एकीकरण भएको सबैको स्मृतिमा यथावत् छ । ०५१ श्रावणको सन्दर्भमा करिब पार्टी फुटिसकेको थियो त्यस समय सभापति कृष्णप्रसाद भट्टराईले निहुरिएर भए पनि कांग्रेस जोगाउनुभएको थियो ।
०५९ मा गिरिजाप्रसाद र शेरबहादुर देउवा निहुरिन नसक्दा कांग्रेस विभाजित भएको थियो । तर ०६४ मा गिरिजाप्रसादकै अग्रसरतामा पार्टी एक भएको थियो भन्ने धेरैलाई थाहा नभएको होइन । अहिले विवाद र विभाजनको चक्रमा पुग्नलागेको कांग्रेस जोगाउने दृढ राजनीतिक इच्छाशक्ति छ र आफैं निर्णायक हुनुहुन्छ भने सभापति थापाले नै जोगाउन सक्नुहुन्छ । उहाँ आफैं निर्णायक हुनुहुन्न र राजनीतिक इच्छाशक्ति छैन भने कांग्रेसलाई एकपटक फेरि नियतिले विभाजनको कठघरामा उभ्याउने संकेत स्पष्ट देखिँदैछ । यदि नेपाली कांग्रेस विभाजित भयो भने त्यसपछि शृंखलाबद्ध रूपमा अरू दलहरूको बाटो पनि ढिलोचाँडो त्यही हुने देखिँदैछ । जसको परिणाम वर्तमान परिवर्तन र त्यसपछि राष्ट्रियताले भोग्नुपर्नेछ । नेता र नेतृत्वको यो लडाइँले पुग्ने क्षति अनुमानभन्दा बाहिर हुनसक्छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी