टुटफुट, विभाजन, घात–अन्तर्घात र आरोप–प्रत्यारोपका शृंखला नै चलाएका नेपालका कम्युनिष्ट पार्टीका नेताहरू एउटै मञ्चमा देखिनु र एकताको आवश्यकता महसुस गर्नुले नेपालको वामपन्थी वृतलाई तरंगित बनाएको हुनसक्दछ तर आमजनताको निम्ति भने यो ‘चियाकपको आँधी’ नै सावित हुनेछ । विसं २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी आफ्नो ७६ वर्षको इतिहासमा ७० पटक विभाजित भएको छ । सत्ताबाट बाहिर हुँदा वामपन्थीदलहरूको अस्तित्व स्वीकार गर्ने तर सत्तामा पुग्नेबित्तिकै आफूबाहेकका पामपन्थीदलहरूको अस्तित्व नै स्वीकार गर्न नचाहने प्रवृत्तिले पनि नेपालका वामपन्थी शक्तिहरूलाई कमजोर बनाएको छ । नेपालका वामपन्थीदलबीच एकता हुनु र भ्यागुताको धार्नी बनाउनु कुरा एउटै हो ।
नेकपा एमालेका पूर्वमहासचिव स्वर्गीय मदन भण्डारीको ७५औं जन्मजयन्तीमा मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा वामपन्थी पृष्ठभूमिका पूर्वप्रधानमन्त्रीहरू नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेकपाका संरक्षक झलनाथ खनाल अतिथि वक्ताको रूपमा उपस्थित थिए ।
नेकपा एमालेका पूर्वमहासचिव स्वर्गीय मदन भण्डारीको ७५औं जन्मजयन्तीमा मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा वामपन्थी पृष्ठभूमिका पूर्वप्रधानमन्त्रीहरू नेकपा एमालेका अध्यक्ष खडगप्रसाद ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेकपाका संरक्षक झलनाथ खनाल अतिथि वक्ताको रूपमा उपस्थित थिए । चारै नेताहरूले वामपन्थी एकताको आवश्यकता टड्कारी रूपमा रहेकोमा एकै मत थिए तर नेतृत्व, पद र शक्तिको अतृप्त लालसा उपरोक्त चारै नेतामा रहेको पाइन्छ । कम्युनिष्ट आन्दोलनको विश्वसनीयता केवल एकताको घोषणाले पुनः स्थापित हुँदैन । त्यसका लागि नेतृत्वले आफ्ना विगतका गल्ती सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ ।
गुटगत स्वार्थ, व्यक्तिवाद, अवसरवाद र सत्ता केन्द्रित राजनीतिबाट मुक्त हुने प्रतिबद्धता व्यवहारमा देखिनुपर्छ । पार्टीभित्र लोकतान्त्रिक संस्कृतिको विकास, नीति निर्माणमा पारदर्शिता, युवा पुस्तालाई नेतृत्वमा अवसर, अवान्छित होडबाजीको अन्त्य, सुशासनप्रति दृढ प्रतिबद्धता तथा जनजीविकाका सवालमा परिणाममुखी कामबिना कुनै राजनीतिक पुनर्जारण सम्भव छैन । विसं २०७४ सालको आमनिर्वाचन वामगठबन्धनको ब्यानरमुनि र साझा घोषणापत्रका साथ लडिएको थियो । चुनाव परिणाम वामगठबन्धनको पक्षमा रह्यो । चुनाव सम्पन्न भएको ६ महिनापछि ३, जेठ २०७५ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी र नेकपा एमाले मिलेर नेपाल कम्युनिष्ट (पार्टी)को गठन भएको थियो । नेकपा माओवादी केन्द्रले माग गरेपछि २३ फागुन २०७७ मा सर्वोच्च अदालतको एउटा आदेशले एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएको थियो ।
९ भदौ २०७८ मा तत्कालीन एमालेबाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेको थियो । नेकपा हुँदाको अस्वस्थ प्रतिस्पर्धा, त्यसपछिको एमालेमा पनि देखियो । ओली–नेपालले एकअर्काको अस्तित्व पूर्णरूपमा अस्वीकार गरेका थिए । माधवकुमार नेपालको नाम लिनुपरे ‘मुख कुल्ला गर्ने’ सम्मको अभिव्यक्ति ओलीले दिएका थिए । नेपालले पनि आफ्नो शब्दकोषबाट गालीका शब्दहरू प्रयोग गर्दथे । नेकपा एमालेले हाल बेहोरको क्षतिमा नेकपा विभाजन र स्वयं एमाले विभाजनको ठूलो हात रहेकोमा दुबै नेता सहमत देखिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आयोजनमा भएको कार्यक्रममा दुबै नेताले आपसमा हात मिलाएर हार्दिकता र अभिवादन साटासाट गरे ।
नेकपा एमालेको सक्रिय राजनीतिमा प्रयत्नशील पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १४ असारकै दिन एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । उनले सोही दिन एमालेको संगठित सदस्यता नवीकरणसमेत गराइसकेको जानकारी दिएकी थिइन् । बाँकी जीवन एमालेको नेता र कार्यकर्ताका रूपमा व्यतित गर्ने उनले बताएकी थिइन् तर उनको सक्रियतालाई शंकाको नजरले हेर्ने काम भयो । गत ५ र ६ साउनमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमार्फत उनको सदस्यता नवीकरणलाई खारेज गर्ने काम भयो । यस घटनाले एमालेमा प्रवेश गर्न खोज्ने युवा पुस्ताको मनोबललाई कमजोर बनाउने काम गर्यो । १० प्रतिशतको थ्रेसहोल्ड लागु गर्ने सरकारको प्रयासले अन्य राजनीतिक दलहरूलाई झन् टाढा पुर्याउने काम गर्यो ।
गत जेठ ४ मा बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टीको सदस्यता दिने निर्णय गरेसँगै विद्या भण्डारी सक्रिय भएकी छिन् । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको माग चर्को रूपमा उठेको तथा पुस्तानान्तरणको बहसले पनि पार्टी अध्यक्ष ओलीलाई पुराना नेताहरूको सहयोग लिन बाध्य पारेको छ । पुराना नेताहरूसँग मिलेर जानु एमाले अध्यक्ष ओलीको बाध्यता र आवश्यकता दुवै भएको छ । हुन त २१ फागुनको चुनावअघि पनि वामसहकार्यको प्रयास भएको थियो तर सफल भएन । चुनाव सकिएको चार महिनापछि शीर्ष नेताहरू एकै मञ्चमा देखिएर सहकार्य र एकताको विषयमा विमर्श गरेका छन् । राजनीतिक दलहरूबीचको एकीकरणलाई गलत त कसैले पनि भन्न सक्दैन तर प्रश्न उठ्छ यो एकीकरण टिकाउ कति रहला ? संकटको बेला एकताको नारा तर शक्ति प्राप्त भएपछि विभाजित हुने प्रवृत्ति नेपाली जनतालाई मन परेको छैन ।
विसं २०७४ सालको आमनिर्वाचनपछि झण्डै दुई तिहाइको जनादेश प्राप्त गरेको वामगठबन्धनले देशमा राजनीतिक स्थायित्व प्रदान गर्ने अपेक्षा गरिएको थियो । वामगठबन्धनले समृद्ध नेपालको सपना पनि देखाएको थियो तर त्यो सपना नेतृत्वबीचको शक्ति संघर्ष, व्यत्तिगत अहंकार, अविश्वास र गृटगत प्रतिस्पर्धाको शिकार बन्यो । अन्ततः तीन वर्ष नपुग्दै नेकपा विभाजित भयो । त्यसले जनतामा गहिरो निराशा मात्रै उत्पन्न गरे, कम्युनिष्ट एकीकरणको विश्वासनीयतामाथि प्रश्नचिह्न खडा गर्यो । दुई तिहाइ जनमत हुँदा टिकाउन न सकेको पार्टी एकता, अहिले कुन नैतिक आधारमा पुनः सम्भव हुन्छ ? सत्ता गुमेपछि एकताको नारा लगाइन्छ भने त्यसले जनतामा संशय नै उत्पन्न गराउँछ, विश्वास होइन ।
फागुन २१ को निर्वाचन परिणामले के पनि संकेत गरेको छ भन्ने जनताले विकल्प खोज्न थालेका छन् । परम्परागत कम्युनिष्ट दलहरू क्रमशः कमजोर बन्दै गएका छन् । नयाँ राजनीतिक शक्तिको उदय र स्थापित दलप्रतिको असन्तुष्टिले पुराना दलहरूलाई आत्म समीक्षा गर्न दवाव दिएको छ तर अहंकारले ग्रसित पुराना नेताहरू आत्मसमीक्षा र सिंहावलोकन गर्न तयार देखिँदैनन् । विचार, नीति संगठन र नेतृत्व संस्कृतिमा परिवर्तनबिना हुने एकता अर्थहीन हुन्छ । नेकपाका सहसंयोजक माधवकुमार नेपालले जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसकेको स्वीकार गर्नुभएको छ । अन्य नेताहरूले एकताको आवश्यकतामा बढी जोड दिए । भित्रभित्रै चारै नेतामा चलाखी देखिन्छ । एकले अर्काको नेतृत्वलाई सजिलै स्वीकार गर्ने सम्भावना देखिँदैन ।
जेनजी आन्दोलनलाई हेर्ने दुष्टिकोणमा परिवर्तन नआएसम्म पुराना दलका नेताहरू जनताको विश्वास जित्न सक्दैन । नेकपाका संयोजक पुष्पकमल दाहालले जेनजी आन्दोलनलाई सकारात्मक रूपमा लिएका थिए । उनले जेन–जी आन्दोलनलाई जनआक्रोश र पुराना दलहरूको कार्यशैलीको उपज भन्दै स्वभाविक रूपमा लिएर आन्दोलनपछिको परिवर्तनलाई आत्मसात गर्नुपर्ने अडान लिए । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई पनि उनले सहर्ष स्वीकार गरे । एमाले भने अहिलेसम्म जेनजी आन्दोलन र त्यसपछिको परिवर्तनलाई स्वीकार गरेको छैन । हुनत एमालेभित्र पनि अब यस विषयमा दुई मत देखिन्छ र एक पक्ष जेनजी आन्दोलनलाई स्वीकार गरेर जानुपर्ने मत राखिरहेको छ ।
नेकपा एमालेको एउटा ठूलो समूह परिवर्तनलाई आत्मसात गर्ने पक्षमा रहेको देखिँदैन । नेकपा एमाले र देशका कम्युनिष्टहरूले जनताको विश्वास गुमाउनुका पछाडि अन्य कारणभन्दा आफ्नै अन्तरविरोध र विभाजन प्रमुख थियो भन्ने यथार्थ बोध हुनसके नेतृत्वको असफलताबारे पार्टीभित्र पनि चर्चा हुनसक्नेछ । कार्पेटमुनि धुलो राखेर समस्याको समाधान हुँदैन । वामदलहरूबीच एकता आफैंमा नकारात्मक विषय होइन तर त्यो जनताको हितका लागि हो कि केवल सत्ता पुनः प्राप्त गर्ने रणनीति त्यो त एकीकरणको आवश्यकता महसुस गर्ने नेताहरूको व्यवहारबाट नै प्रष्ट हुनेछ ।
नेपाली जनताको दुईतिहाइ बहुमत प्राप्त गरी अहिले सत्तामा आएका प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको वर्तमान सरकारले नेपाली जनतालाई परिवर्तनको अनुभूति गराउने कुरामा दुईमत हुने ठाउँ छैन । रास्वपा सरकारलाई प्रतिबद्धता स्मरण छ र सोही दिशामा अगाडि बढेको छ । वामदलहरूबीच एकता सुन्नमा राम्रो लागे पनि व्यवहारमा त्यो त्यति सहज छैन ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी