काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद निष्कर्षतर्फ उन्मुख हुँदै गएको छ । पार्टीको नियमित महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेका इतर समूहका नेताहरूले पार्टी एकता वा नयाँ पार्टी निर्माणको विषयमा अब धेरै पर्खेर बस्न नहुने स्पष्ट निष्कर्ष निकालेका छन् । मंगलबार काठमाडौंको चुनदेवीमा खोलिएको नयाँ सम्पर्क कार्यालयमा बसेको बैठकमा सहभागी नेताहरूले अलमल नगरी तत्काल ठोस निर्णय लिन नेतृत्वलाई सुझाव दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले बैठकमा उठेका विषयवस्तुबारे विस्तृत जानकारी दिनुभयो । उहाँका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको दोस्रो दिनको यो बैठकमा सबै नेताहरूले मुख्य रूपमा पार्टी एकताकै विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन् । यद्यपि, यदि सम्मानजनक रूपमा एकता हुन सकेन भने लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न र पुराना श्रद्धेय नेताहरूको ऐतिहासिक योगदानलाई इतिहासमा नमेटिनेगरी निरन्तरता दिन वैकल्पिक शक्ति वा नयाँ संगठन निर्माण गर्नबाट अब हच्किन नहुनेमा अधिकांशको जोड रहेको छ ।
मंगलबारको बैठकमा पाँचजना नेताहरूले आ–आफ्नो धारणा राख्दै जे गर्ने हो त्यो छिटो गर्नुपर्ने र अब धेरै आशंका पालेर बस्न नहुने सुझाव दिएका छन् । यसैगरी, सोमबारको बैठकमा प्रस्तावका रूपमा आएको आगामी साउन ६ गते पर्ने बीपी स्मृति दिवसलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले शीर्ष नेताहरूलाई नडराउन र आफ्नो अडानमा दृढ भएर खुट्टा टेक्न आग्रह गर्नुभयो । पार्टी सभापति गगनकुमार थापाले केही दिनअघि झापाको एक कार्यक्रममा सदस्यता अद्यावधिक नगर्नेलाई पार्टी सदस्यका रूपमा नचिन्ने भनी स्पष्ट पारिसकेको अवस्थामा अब पछि हट्ने वा सम्झौता गर्ने कुनै ठाउँ नभएको उहाँले बताउनुभयो । आफूहरू अहिले शान्त बसेको, व्यवहारमुखी भएको र मौका दिएको कुरालाई कमजोरीका रूपमा नबुझ्न उहाँले संस्थापन पक्षलाई कडा चेतावनी दिनुभयो । तल्लो तहका कार्यकर्ताहरूबाट निरन्तर फोन आइरहेको र नेतृत्वलाई पछि नहट्न दबाब दिइरहेको जानकारी गराउँदै उहाँले आवश्यक परेमा पुरानै चुनाव चिह्न रूख भनेर मात्र माया मारेर बसिरहनु जरुरी नभएको स्पष्ट पार्नुभयो । बलायरले इतर पक्षका नेताहरूलाई सभापति गगन थापाबाहेक अरू कसैसँग पनि वार्ता नगर्न सुझाव दिँदै आफूहरू जति लचिलो हुनुपर्ने हो त्यति भइसकेको बताउनुभयो ।
त्यसैगरी, पूर्वकेन्द्रीय सदस्य मोहन बस्नेतले विशेष महाधिवेशन गर्ने पक्षले आफ्नै खुसीले नभई अरू कसैको उक्साहट र सहयोगमा काम गरिरहेको दाबी गर्नुभयो । सहयोगीहरूले उनीहरूलाई सजिलै नछाड्ने उहाँको भनाइ थियो । बस्नेतले महाधिवेशन हारेकाहरू केन्द्रीय सदस्य र पदाधिकारी बनेको भन्दै इतर पक्षका नेताहरूले विशेष महाधिवेशन पक्षधरहरूको अनुहारसमेत हेर्न नरुचाउने र उनीहरूबाट अपमानित महसुस गर्ने बताउनुभयो । उहाँले आगामी साउन १५ गतेभित्र अन्तिम निर्णय लिन र राष्ट्रिय भेलाको मिति तोक्न नेतृत्वलाई आग्रह गर्नुभयो । एकताका लागि निश्चित समय तोकेर लाग्ने र त्यसो हुन नसके महाधिवेशनको मिति तोकेर अघि बढ्नुपर्ने उहाँको स्पष्ट प्रस्ताव थियो ।
शीर्ष नेताहरूले अप्ठेरो अवस्थामा लड्न सिकाएको स्मरण गराउँदै उहाँले अहिलेको अवस्थामा नेतृत्वले खुट्टा कमाउन नहुने र मानसिक रूपमा तयार भएर अघि बढ्नुपर्ने बताउनुभयो । सम्पर्क कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न आफू पूर्णरूपमा तयार रहेको पनि बस्नेतले प्रतिबद्धता जनाउनुभयो । कार्यवाहक सभापतिले धारणा राख्न मञ्च खुला गरेपछि नेताहरूले स्पष्ट रूपमा आफ्ना कुरा राखेका थिए । नेताहरूका बाँकी धारणा सुन्नका लागि बुधबार दिउँसो ३ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमै पुनः बस्नेगरी मंगलबारको बैठक स्थगित भएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी