काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उनीहरूलाई दोषी ठहर गरेको हो । असार २९ गते सजाय निर्धारणका लागि भने पेस गर्ने भनिएको छ ।
२०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव पाण्डेसहित ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुर लगाउँदै सरकारी वकिलले मुद्दा दायर गरेको थियो । प्रतिवादीहरूमध्ये पूर्वउपप्रधानमन्त्री रायमाझीलाई राज्यविरुद्धको कसुर, ठगी तथा संगठित अपराधमा जिल्ला अदालतले दोषी ठहर गरेको छ । पूर्वगृहमन्त्री खाँणलाई यिनै कसुरमा मतियार ठहर गरिएको छ । पूर्वगृहसचिव पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको जिल्ला अदालतको फैसलामा उल्लेख छ ।
त्यस्तै, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई सरकारी लिखत किर्ते गरेको, ठगी तथा संगठित अपराधको कसुरमा मतियार बनेको र राज्यविरुद्धको कसुरमा पनि मतियार बनेको भन्दै दोषी ठहर गरिएको छ । जिल्ला अदालतले यो प्रकरणमा मुख्य योजनाकार भनिएका सानु भण्डारी र केशव दुलाललाई पनि सरकारी लिखत किर्ते, ठगी तथा संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ ।
के थियो अभियोग ?
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिबाट २८ करोड ८१ लाख ठगी गरेको भन्दै काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध पाँचवटा मुद्दा चलाएको थियो ।
अभियोगपत्रमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल सहितले विभिन्न व्यक्तिहरूबाट भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी विभिन्न व्यक्तिहरूबाट २८ करोड ८१ लाख रूपैयाँ ठगी गरी लाभ लिएको उल्लेख थियो ।
यो प्रकरणमा सरकारी वकिलले पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव पाण्डे, भुटानी शरणार्थीका नेता रिजाल, सानु भण्डारी, केशव दुलालसहित ३० जनाविरुद्ध राष्ट्रहित विपरीतको कार्य, संगठित अपराध, ठगी, सरकारी कागज किर्ते र एकीकृत कसुरमा मुद्दा चलाएको थियो । ३० जनालाई नै ठगीमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग गरिएको छ । उनीहरूबाट पीडितलाई मनासिव क्षतिपूर्ति भराउन पनि सरकारी वकिलले माग गरेको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने योजना बनाई गृहमन्त्री, गृहसचिव, सुरक्षा सल्लाहकार लगायतलाई करोडौँ रुपैयाँ दिएर आपराधिक समूहको संगठनमा मिसाएको, नाइकेको रूपमा सानु भण्डारी र केशव दुलाल, इन्द्रजित राई, सन्दीप रायमाझी र प्रतीक थापाले काम गरेको त्यसपछिको तहमा २५ जनाले काम बाँडफाँट गरेर संगठित अपराध चलाएको अभियोगपत्रमा उल्लेख छ ।
को-कोले पाए सफाइ ?
यसैगरी, केही आरोपीले भने सफाइ पाएका छन् । सफाइ पाउनेको सूचीमा टोपबहादुरका छोरा सन्दीप रायमाझीसँगै पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा पनि रहेका छन् । त्यस्तै, रामशरण केसी, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले पनि प्रमाण नपुगेको भन्दै सफाइ पाएका छन् । तर, शरणार्थी काण्डमा बिचौलियाको काम गरेका बेचन झा ठगीमा दोषी ठहर भएका छन् । यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएको थियो । फरार रहेका प्रतिवादीहरूको हकमा भने मुद्दा मुल्तवीमा राख्ने फैसला भएको छ । दोषी ठहर भएका सबैको सजाय असार २९ गते तोकिनेछ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी