यो पुराण ऋग्वेदका मन्त्रद्रष्टा परमगाणपत्य महर्षि मुद्गलले लेखेका हुन् । अन्य ऋषिले पुराण लेखेको देखिँदैन । सबै महापुराण, पुराण र उपपुराण व्यासका नाममा दरिएका देखिन्छन् । ब्रह्मचिन्तक ऋषि वशिष्ठले महारामायण भनिने जसलाई ‘योगवाशिष्ठ’ लेखेका छन् । महर्षि वाल्मीकिले लेखेको आदिकाव्य ‘वालमीकीय रामायण’ चौबीस हजार श्लोकको छ । यसमा रामसँग सम्बद्ध जीवनवृत्यात्मक सृजना रहेको देखिन्छ । यो नेपाली भूमिमा लेखिएको प्राचीनतम भाषामध्ये संस्कृत भाषामा लेखिएको आधुनिक युगको खोज अनुसन्धानले पनि ऋग्वेदभन्दा लगत्तैपछि लेखिएको जेठो काव्यका रूपमा यो महिमामण्डित भएर रहेको देखिन्छ । मौद्गल पुराण हो भने वाल्मीकीय रामायण काव्य हो ।
महर्षि मुद्गलले गणेशका आठ अवतारले यिनै आठ प्रकृतिले गराउने विकृतिलाई परिशमन गराएको मूल आख्यानसूत्र बनाएर गणेशका अवताररूप अर्थप्रकृतिलाई बीजबिन्दु पताकादिको यथास्थान सन्निवेशन कलाको अद्वितीय मनोहर प्रस्तुति गरेका छन् । अहंकारको वशवर्ती भएर दक्षयज्ञ विध्वंश भएको कुरोलाई बीजाधानका रूपमा पुराणले प्रस्तुत गरेको छ ।
महाकाव्यमा पनि कविवृत्तान्त र कविको कल्पना धान्न आख्यानको आवश्यक्ता पर्दछ । पुराणमा सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर, वंशानुचरितसमेत गरी पाँचवटा कुरा हुन्छन् भनेर शास्त्रकारले लक्षण बनाएका छन् । यसैगरी महाकाव्य र काव्यकविताका पनि लक्षणकारले लक्षणसूत्र बनाएका छन् । मुद्गल महापुराणका नायक गणनायक गणेश छन् । उनका अनन्त अवतारमध्ये मूलभूत अवतार आठवटा मानिएका छन् । यस पुराणका आठवटा खण्ड यिनै आठ अवतारमा परिकेन्द्रित रहेका छन् । अर्को प्रकारले हेर्दा अष्टप्रकृतिले समग्र विश्व र जीवनिर्जीव बाँधिएको हुन्छ :-
भूमिरापोऽनलो वायुः खं मनो बुद्धिरेव च ।
अहंकार इतियं मे भिन्नाप्रकृतिरष्टधा ।।
भूमि, जल, तेज, वायु, आकाश, मन, बुद्धि र अहंगार यी मेरा आठ प्रकारका प्रकृति हुन् भनेर कृष्णले गीताको सातौं अध्यायको चार श्लोकमा भनेका छन् । उपनिषद्मा पनि यो चिन्तन आएको छ र यसै कुरालाई महर्षि मुद्गलले गणेशका आठ अवतारले यिनै आठ प्रकृतिले गराउने विकृतिलाई परिशमन गराएको मूल आख्यानसूत्र बनाएर गणेशका अवताररूप अर्थप्रकृतिलाई बीजबिन्दु पताकादिको यथास्थान सन्निवेशन कलाको अद्वितीय मनोहर प्रस्तुति गरेका छन् । अहंकारको वशवर्ती भएर दक्षयज्ञ विध्वंश भएको कुरोलाई बीजाधानका रूपमा पुराणले प्रस्तुत गरेको छ । पातञ्जलादि योगशास्त्रहरू काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य यी छवटा कुरालाई शरीरमा रहेका महान् शत्रु हुन् भन्छन् ।
अहंकारलाई शिवपुराणमा प्राणीका लागि सहकारी भूमिका निर्वाह गर्ने र असहकारी भूमिका निर्वाह गर्ने तत्वका रूपमा उत्तम अहम्, मध्यम अहम् र अधम अहम्समेत गरी तीन श्रेणीमा विभाजन गरिएको छ । उत्तम अहम्ले मान्छे राम, कृष्णमुद्गल, गृत्समद, वशिष्ठ र विश्वामित्रादिका साथै बुद्ध, गान्धी आदिका कोटिमा पुर्याउँछ भने मध्यम अहम्ले गान्धी, नेहरू, माओ, चाओ र बीपी, गणेशमान, कृष्णप्रसाद, गिरजाबाबुसम्म पुर्याएको हामीले देख्यौं । अधम अहम्ले अंगुलीमाल, कंस, दम्भासुर, दक्ष, दुर्योधन जस्ता बनाएको तिनकै चरित्रले हो रहेछ भनेर श्रोताले चित्त बुझाउन सक्छन् ।
पुराणमा पुराना कुरामात्र हुँदैनन् नयाँ चेतना उदाएर चरित्र निर्माणका लागि पनि यथेष्ट स्थान छाडिराखेको हुन्छ । एकै गाईको दूध दारका ठेकीमा र खमारीका ठेकीमा जमाउँदा स्वादमा भिन्नता आएजस्तो र ओली पनि दम्भी बालेन पनि दम्भी तर दुबै आ-आफ्ना कालखण्डका राम्रो गर्छु भनेरै आएका यो देशका प्रधानमन्त्री हुन् । ओलीको अवस्था देखियो बालेनका दम्भले कहाँ पुर्याउँछ हेर्न बाँकी नै छ ।
महापुराण र उपपुराण
महापुराण अपेक्षाकृत् मौलिक आख्यानमा रचिएका हुन्छन् भने उपपुराण चाहिँ महापुराणकै विभिन्न कथावस्तुलाई ईषत् परिवर्तन गरेर अघि बढेका हुन्छन् । मुद्गल पुराणलाई महर्षि मुद्गलले महापुराण भनेर २३,१५० श्लोक र उवाचादिसहित गन्दा २४,००० हजार पुर्याएका छन् । पुराण विवेचकले महापुराणलाई १५,००० भन्दा माथि श्लोक संख्या भएको हुनपर्ने भने पनि व्यासका महापुराणका श्लोक संख्या सबै एकैनासका छैनन् । कोही नौ हजारका छन् त कोही त्यसभन्दा कम भएका पनि छन् । पुराणको आरम्भिक मानक व्यास नै हुन् । जसरी महाकाव्यको आरम्भिक मानक इलियड, ओडिसी, शाहनामा, रामायण महाभारत आदि मानिए र तिनकै आधारमा अरस्तु भामहादिले महाकाव्य लक्षण बनाए ।
पुराणमा चाहिँ यस्तो भएको रहेनछ । आख्यानको स्रोत भने वेद, उपनिषद र लोक तथा सामाज नै हो पुराणको पनि र महाकाव्यादिको । दुवैको ध्येय उद्दीष्ट तत्व भनेको सुखी आनन्दित जीवन नै हो । जीवन भोगाइका मार्ग दुईवटा मात्रै पुराणले पनि देखाएका छन् र महाकाव्यादिले पनि प्रवृत्ति तथा निवृत्ति । भोग या योग र त्याग । योगमा त्याग छ भने भोगमा राग हुन्छ । भेगेप्साले कि कृष्ण बनाउँछ कि रावण कंस बनाउँछ । योगेच्छाले बुद्ध या राम बनाउँछ । महादेव या विष्णु बनाउँछ । त्यागमा आत्मनिग्रह छ भने भोगमा प्रज्वलनशील ऊर्जा । रजनीश र डोनाल्ड ट्रम्पका बीचको अन्तर यहीँ आएर परिलक्ष्यित हुन्छ । रजोप्रभावित तर निवृत्तिमुखी भोगका सम्राट हुन् रजनीश भने भष्मासुरे भोगेच्छाको विश्वसम्राट डोनाल्ड ट्रम्प ।
यस पुराणमा पनि मान्छेका शरीरमा रहने छवटा शत्रुले मोहासुर, दम्भासुर, मदासुर, लोभासुर, मत्सरासुर अहंकार राजका रूपमा उभ्याएर महर्षिले आत्मनिग्रह र विश्व साम्राज्यका बीचको अन्तरलाई स्पष्ट्याउँदै गणेशलाई आदि पूजा प्रदान गर्नाका रहस्यको व्यख्या गरेका छन् । आदि, मध्यान्तमा जो रहन्छ त्यो नै परात्पर ब्रह्म गणेश हुन् भन्ने वेदादिका ऋचाका आधारमा सिद्ध गरेका छन् ।
ज्येष्ठायमहते...गणनान्त्वा गणपतिं आदिको व्याख्या गर्दा अन्य पुराणले मानेका त्रिदेवको अन्तर्सम्पुटित रूप परात्पर ब्रह्म हो र त्यो गजानन, महोदर, लम्बोदर, वक्रतुण्ड, एकदन्त, विघ्नराज, धूम्रवर्णका रूपमा आएर षड्रिपु संहार गरी खगोल भूगोलका साथै योगचरितमा प्रकाश पारेका छन् ।
पुराणको महात्म्य हुन्छ त्यो महात्म्यको कुरो मुद्गलले यस पुराणको नवौं खण्डको ४०औं र ४१औं अध्यायमा वर्णन गरेका छन् भने पुराणको आदि बीजका सम्बन्धमा प्रथम खण्डको पहिलो र दोस्रो अध्यायमा मजाले विमर्श गरेका छन् । दक्षका अहंकारले पशुका स्वरूपमा पुर्याएको चर्चा सर्वत्र भेटिन्छ र चिन्तन सुधारेर आराधना र योगमा निरत भएपछि दक्ष र अजामिल जस्ताको पनि उद्धार भएका अगणनीय पूर्णाख्यान र उपाख्यान यस पुराणमा पनि भेटिन्छन् । सबै पुराणभन्दा अन्त्यमा लेखिएको हुनाले यसमा वेदउपनिषदादिका निष्कर्षसमेत समाविष्ट गरिएका छन् : ‘ओमितिश्रीमदान्त्ये पुराणोपनिषदिश्रीमन्मौद्गले महापुराणेनवमेखण्डे योगचरितेमुद्गलदक्षसंवादे पुराणसमाप्तिवर्णनंनामैकचत्वारिंशोऽध्यायः ।’ भनेर अध्याय समाप्तिको पुष्पिका वाक्यलाई राखेको भेटिन्छ ।
युनानी युवकयुवती अंगरिसका गुरुकुलमा आएर पढ्दापढ्दै पारस्परिक आकर्षित भएछन् । तिनले गुरुलाई आफ्ना कुरा निवेदन गरेपछि कुलाधिपति अंगिरसले वर्णान्तरण या जात्यान्तरण गर्ने अधिकार मलाई छैन । यो अधिकार मुद्गलले पाएका छन् भनेर मुद्गलका गुरुकुलमा पठाइदिन्छन् । मुद्गलले तिनका कुरा सुनेर हविष्यान्न खुवाई भूमिशैया गराएर भोलिपल्ट युवकको व्रतबन्ध र युवतीलाई उसले रोजेको युनानी युवकसँग बिहे गरी त्यसै गुरुकुलमा उपाध्याय र उपाध्यायी बनाएर राखेछन् । यसरी मुद्गलले मानवीय चाहनानुसारको संकल्प र उसका निष्ठाका अगाडि जात, जन्मको कुल आदिले होइन मानवकर्मले उच या निच हुन्छ भन्ने त्यही बेलाको भारतीय जगत्मा देखाएको कुरो भेटिन्छ जसले आजका मानवलाई आलोकित गर्दछ ।
मुद्गल कुलाधिपति भएको गुरुकुल अति विद्यार्थी र प्रध्यापक संकुल थियो भन्ने देखिन्छ । अंगरिस मुद्गलका गुरु हुन् । यिनले गुरुलाई गुणै रहन दिएर आफू चिनी बनेर देखाएका छन् । योगामृत शास्त्रमा वर्णित योगको समग्र वर्णन गरेर पनि पातञ्जल योगसूत्रका अष्टांग योगका प्रत्येक पादको ठीक व्यख्या पनि यिनले प्रस्तुत गरेका छन् ।
भोगभूमि र कर्मभूमिको अन्तर
मुद्गल तपस्यामा लागेर लक्ष्यसिद्धिमा पुग्ने बेलातिर एकदिन विष्णुको दूत विमान लिएर आएर मुद्गललाई विमानमा बस्न अनुरोध गर्दछ । मुद्गलले तीनवटा प्रश्न गरेका छन् : (क) मलाई कहाँ लाने ? दूत भन्छ ः स्वर्गमा लैजान भगवान्ले पठाउनुभएको । (ख) मुद्गल सोध्छन् त्यहाँ के गर्न पाइन्छ ? त्यहाँमात्र यहाँ गरेका सत्कर्मको फलभोग हुन्छ । केही गर्न पाउँदैनौ । त्यो भोगभूमि हो । (ग) योग, तप, ध्यान, परोपकार गर्न पाइन्छ कि पाइँदैन ? पछि फेरि यहाँ आउनु या जन्मनुपर्छ कि पर्दैन ? शुभकर्म भोगेर सकेपछि पुनः जन्मनुपर्छ । स्वर्गमा योग, तप, ध्यान होइन इच्छा बमोजिमका तमाम भोग गर्न पाउनुहुन्छ ।
कर्मभूमिमा बसेर गरेका कर्मको भोगमात्र गर्ने ठाउँ हो स्वर्ग भनेर विष्णुका दूतले भनेपछि त्यसो हो भने तिम्रा मालिकलाई गएर भन मुद्गल यहाँ आउन मानेनन् । म जान्न । मलाई मोक्ष या मुक्ति दिन नसक्नेका आदेश मान्न म बाध्य छुइँन । यो मेरो अधिकार हो । अतः जाऊ भनेपछि विष्णुदूत मुद्गललाई बुद्धि नभएको मूर्ख भनेर अनापसनाप गाली गर्दै आफ्ना लोकतिर लाग्दछ । यसरी हेर्दा मुद्गल समानताका पक्षपाती थिए । विश्वविराट शक्तिले सिर्जना गरेपछि सृजितलाई विश्वविराट बन्ने अधिकार स्वतः हुन्छ । यस ब्रह्माण्डमा भएका सबैमा कतै न कतै समानताको अवस्था हुनुपर्छ । त्यो खोज्छु र एक दिन पत्ता लाएर नै छाड्छु भन्ने संगल्प लिएका छन् ।
यसरी कर्मयोग र ज्ञानयोगलाई आफ्नो लक्ष्य बनाएका छन् मुद्गलले । यो पुराणमात्र छैन । यसमा भूगोल, ज्योतिष, वेदवेदान्तका निष्कर्षलाई पनि समावेश गरिएको छ । अनुष्टुभदेखि ३३ अक्षर हुने लामो छन्दसम्मका आधा सय जति छन्द यसमा प्रयोग भएका छन् । रूपक, दृष्टान्त, उपमा, प्रश्न, विभ्रम, सन्देह तुल्ययोगिता, अतिशयोक्ति, लोकोक्ति जस्ता अलंकार प्रयोग भएका छन् । समाजमा, गाउँमा र व्यक्तिमा देखापर्ने दैविक अधिदैविक र भौतिक समस्या या व्याधिको समाधान योग, औषध र साधना आदिबाट खोज्ने सल्लाह दिएका छन् । राज्यमा उत्पन्न समस्या समाधान कुनै न कुनै ऋषिका उपदेश र मार्गनिर्देशबाट गराइएको छ । दैहिक रोग वैद्य, जडिबुटीले ठीक पारेको देखाइएको छ ।
यसरी हेर्दा मुद्गल कुलाधिपति भएको गुरुकुल अति विद्यार्थी र प्रध्यापक संकुल थियो भन्ने देखिन्छ । अंगिरस मुद्गलका गुरु हुन् । यिनले गुरुलाई गुणै रहन दिएर आफू चिनी बनेर देखाएका छन् । योगामृत शास्त्रमा वर्णित योगको समग्र वर्णन गरेर पनि पातञ्जल योगसूत्रका अष्टांग योगका प्रत्येक पादको ठीक व्यख्या यिनले प्रस्तुत गरेका छन् । संस्कृत वांमयमा तीनवटा मुद्गल देखिन्छन् (क) ऋग्वेदको मन्त्र द्रष्टा मुद्गल, (ख) तपस्या गर्दा भोकाएर वनमा खाद्य खोज्दा पाकेका मुङका कोसा उधारेर खाँदा पेट पनि भरिएको र शरीरमा तागत पनि आएको हुनाले मुङ खाद्य हो भन्ने पत्ता लाउने मुद्गल ।
उसिनर राजाका उन्तीस भाइ छोरामध्ये भर्म्यास्वका पञ्चमपुत्र मुद्गल जो आफ्ना भागमा परेको राज्य नलिईकन तपस्यातिर लागेका मुद्गल । यी तीनमध्ये (ग) मौद्गल्य गोत्र प्रवर्तक मुद्गल खोज, सत्यापन गर्नुपर्ने अवस्थामा रहेका देखिन्छन् । गोत्रप्रवर्तक सप्तर्षिमा यिनी पर्दैनन् । गोष्ठ प्राचीन भए पनि आगो दिएर गोष्ठ साग्निक र निरग्निक हुने प्रथा धेरैपछि आएर आरम्भ भएको हो । अतः चाख हुने विद्वन्का लागि खोज गर्ने ठाउँ यथेष्ट छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी