रुपन्देही । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स-रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनमार्ग सबै तयारी अवस्थामा छन् तर यात्रुहरुको भीड छैन । कहिलेकाहीँ चार्टर उडान आउँछ, केही यात्रु ओर्लिन्छन् र फेरि तिनै उक्त विमानमा चढेर फर्किन्छन् अनि फेरि विमानस्थल पहिलेकै सन्नाटामा फर्किन्छ ।
चार वर्षअघि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा ठूलो उत्साहका साथ सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज पनि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ । अर्बौं रुपैयाँको लगानी, आधुनिक पूर्वाधार र सरकारले दिएको आकर्षक सहुलियतका बाबजुद विमानस्थलले अपेक्षित गति लिन सकेको छैन ।
विमानस्थल प्रशासन, निजी क्षेत्र र पर्यटन व्यवसायीसँग गरिएको कुराकानीले एउटा साझा निष्कर्ष देखाउँछ । समस्या धावनमार्ग वा भवनको होइन, नीति, बजार व्यवस्थापन र निर्णय क्षमताको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहकाअनुसार पछिल्लोपटक थाई एयर एसियाले बैंकक-भैरहवा-बैंकक रुटमा हप्ताको दुई दिन नियमित उडान सञ्चालन गरेको थियो तर त्यो मार्चसम्मको ‘विन्टर सिड्युल’सम्म मात्र सीमित रह्यो । अहिले ‘समर सिड्युल’ सुरु भइसकेकाले अक्टोबरसम्म कुनै नियमित अन्तर्राष्ट्रिय उडान छैन । बीचबीचमा चार्टर उडान भने भइरहेका छन् ।
साहकाअनुसार वायुसेवा कम्पनीले नियमित सेवा बन्द गर्नुको मुख्य कारण यात्रु अभावलाई देखाएका छन् । “जहाज आउँछ तर अपेक्षित ‘अकुपेन्सी’ हुँदैन । जानेबेला केही यात्रु भए पनि फर्कंदा जहाज खाली जस्तै हुन्छ । व्यावसायिक कम्पनीले नाफा हेर्ने भएकाले यस्तो अवस्थामा नियमित उडान टिकाउन कठिन हुन्छ”, उहाँ भन्नुहुन्छ । तर उहाँ यात्रु नै नभएको निष्कर्षसँग पूर्ण रुपमा सहमत हुनुहुन्न । “लुम्बिनी प्रदेश मात्रै होइन, मधेस, कोशी, सुदूरपश्चिमलगायत विभिन्न प्रदेशबाट विगतमा यात्रु भैरहवा आउँथे । यात्रुको सम्भावना छ । समस्या यात्रु व्यवस्थापनमा भयो”, उहाँको भनाइ छ ।
साहकाअनुसार अन्तर्राष्ट्रिय उडान सफल बनाउन एयरलाइन्स मात्र पर्याप्त हुँदैनन् । यात्रुलाई जहाजसम्म पुर्याउने सम्पूर्ण प्रणाली सक्रिय हुनुपर्छ । “वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने म्यानपावर कम्पनी, टिकट बिक्री गर्ने ट्राभल एजेन्सी र जनरल सेल्स एजेन्ट (जिएसए) सबैले मिलेर काम गर्नुपर्याे । त्यो हुन सकेन”, उहाँले भन्नुभयो । उहाँकाअनुसार कतिपय विदेशी वायुसेवा कम्पनी भैरहवामा उड्न इच्छुक भए पनि उनीहरुको नेपालस्थित जनरल सेल्स एजेन्ट काठमाडौँमै केन्द्रित छन् । उनीहरुको सम्पूर्ण व्यापारिक संरचना राजधानीमै भएकाले उनीहरुले यात्रुलाई पनि काठमाडौँबाटै उडाउन बढी जोड दिने गरेका छन् । “काठमाडौंका जिएसएले स्थानीय ट्राभल एजेन्सीसँग पर्याप्त सहकार्य गरेनन् । भाडामा केही सहुलियत दिने, टिकट सहज उपलब्ध गराउने वा संयुक्त रुपमा बजार प्रवर्द्धन गर्ने काम हुन सकेन । त्यसैले जहाजमा यात्रु भर्न कठिन भयो”, साहले बताउनुभयो ।
उहाँकाअनुसार विमानस्थल सञ्चालनमा पूर्वाधारभन्दा ठूलो चुनौती अहिले यही बजार संरचना बनेको छ । साहको अर्को प्रश्न आफ्नै राष्ट्रिय ध्वजावाहकप्रति छ । नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सले भैरहवाबाट नियमित अन्तरराष्ट्रिय उडान सुरु गरेको भए विदेशी वायुसेवा कम्पनीलाई पनि सकारात्मक सन्देश जाने थियो । “नेपाली ध्वजावाहकले नै यहाँबाट उडान सुरु गरेको भए वातावरण बन्ने थियो कि ? त्यसपछि विदेशी कम्पनी आउन पनि सहज हुन्थ्यो”, उहाँ भन्नुहुन्छ ।
भैरहवाको भविष्य भारतसँग जोडिएका विषयमा पनि साह स्पष्ट देखिनुहुन्छ । भारतीय वायुसेवा कम्पनीले दिल्ली, मुम्बई, कोलकाता, बेङ्गलोरलगायत विभिन्न सहरबाट भैरहवामा सहजै उडान गर्न सक्छन् । त्यसले भारतीय पर्यटक र बौद्ध तीर्थयात्रीको सङ्ख्या उल्लेख्य रुपमा बढाउन सक्नेछ तर यसका लागि सरकारी तहबाट आवश्यक पहल हुन नसकेको उहाँको गुनासो छ । नेपाल र भारतबीचको एयर सर्भिस एग्रिमेन्ट धेरै पुरानो भएकाले त्यसमा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल समेटिएको छैन ।
नयाँ यथार्थअनुसार उक्त सम्झौता पुनरावलोकन गर्नुपर्ने आवश्यकता उहाँ औँल्याउनुहुन्छ । “भारतीय एयरलाइन्सले अहिले काठमाडौंमा दैनिक धेरै उडान गरिरहेका छन् । उनीहरुलाई भैरहवाबाट पनि उडान गर्न सरकारी तहबाट औपचारिक पहल हुनुपर्छ”, उहाँको भनाइ छ । सरकारले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई आकर्षित गर्न विभिन्न आर्थिक सहुलियत उपलब्ध गराउँदै आएको छ । ल्यान्डिङ शुल्क, नेभिगेसन शुल्क र यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट तथा काठमाडौंको तुलनामा हवाई इन्धनमा पनि उल्लेखनीय सहुलियत दिइएको छ । यात्रु कम हुँदा एयरलाइन्सलाई हुने आर्थिक क्षति केही हदसम्म यी छुटले पूर्ति गर्ने उद्देश्य राखिएको हो तर उहाँको निष्कर्ष स्पष्ट छ, “सहुलियतले मात्र पर्याप्त हुँदैन । यात्रु व्यवस्थापन र टिकट बजारको संरचना सुधारिएन भने छुटले मात्र नियमित उडान टिकाउन सक्दैन ।”
विमानस्थलको अन्तर्राष्ट्रिय हवाई यातायात तथ्याङ्कले पनि उतारचढाव देखाउँछ । सन् २०२२ देखि सन् २०२६ को मे महिनासम्म अन्तर्राष्ट्रियतर्फ एक हजार २१८ विमान आवागमन भएका छन् भने ६९ हजार ३१६ यात्रुले सेवा लिएका छन् । सन् २०२३ मा यात्रु सङ्ख्या चार हजार ७५१ मा झरेको थियो । सन् २०२५ मा यो सङ्ख्या बढेर १९ हजार ५९० पुगे पनि अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताअनुसार यो अझै न्यून मानिन्छ । चालु वर्षको मे महिनासम्म चार हजार १५३ यात्रुले मात्र सेवा लिएका छन् ।
भैरहवा विमानस्थलको अर्को विशेषता यहाँ जडान गरिएको इन्स्ट्रमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) हो । साहकाअनुसार कम दृश्यता भएका दिनमा पनि सुरक्षित अवतरण गर्न सहयोग गर्ने यो प्रणाली नेपालका लागि महत्वपूर्ण सम्पत्ति हो । अझ रोचक कुरा, यस्तो सुविधा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध छैन तर यसको ‘सेकेन्डरी प्रोटेक्सन जोन’को करिब १.३ किलोमिटर भाग भारतीय भूभागमा पर्ने भएकाले भारतसँग आवश्यक सहमति हुन बाँकी छ । यस विषयमा पहिले पत्राचार भए पनि त्यसपछि दुवै पक्षबाट पर्याप्त ‘फलोअप’ नभएको उहाँ स्वीकार गर्नुहुन्छ । अहिलेसम्म सञ्चालन भएका अन्तर्राष्ट्रिय उडानमा यसले कुनै प्रत्यक्ष समस्या सिर्जना गरेको छैन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नुले निजी क्षेत्रलाई पनि उत्तिकै निराश बनाएको छ । तर निजी क्षेत्रका प्रतिनिधिको बुझाइमा यसको मूल समस्या यात्रुको अभावभन्दा धेरै गहिरो छ । उनीहरुकाअनुसार सरकारको नीतिगत अन्योल, काठमाडौं केन्द्रित हवाई बजार, भारतसँगको अपर्याप्त कूटनीतिक पहल र कमजोर समन्वयका कारण विमानस्थलले आफ्नो वास्तविक सम्भावना उपयोग गर्न सकेको छैन ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाइ हुनुमा सरकारको नीतिगत कमजोरीलाई मुख्य कारण मान्नुहुन्छ । उहाँकाअनुसार चार वर्षदेखि सरकारले ‘विमानस्थल चल्छ’ भन्ने आश्वासन मात्रै दिइरहेको छ । अब आश्वासन होइन, ठोस निर्णय आवश्यक छ । उहाँ भन्नुहुन्छ, “काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक अत्यधिक हवाई चाप छ । जहाजहरु अवतरणका लागि लामो समय आकाशमा होल्ड भइरहेका छन् । यस्तो अवस्थामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा प्रयोग गर्ने नीति सरकारले तत्काल ल्याउनुपर्छ ।”
थापाको सुझाव छ, “सरकारले हवाई नीतिमा संशोधन गरेर अन्तर्राष्ट्रिय उडानको स्पष्ट वर्गीकरण गर्नुपर्छ । ‘फुल-सर्भिस क्यारियर’ र ठूला वाइडबडी विमान काठमाडौंमा केन्द्रित रहन सक्छन् भने बुद्ध सर्किट, धार्मिक पर्यटन र क्षेत्रीय बजार लक्षित बजेट एयरलाइन्स तथा न्यारोबडी जहाजलाई भैरहवामा अवतरण गर्न प्रोत्साहन मात्र होइन, आवश्यक परे नीतिगत व्यवस्था गर्नुपर्छ ।”
सरकारले सबै अन्तर्राष्ट्रिय उडान काठमाडौंमै केन्द्रित हुने वर्तमान अवस्था परिवर्तन नगरेसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अपेक्षित गति लिन नसक्ने उहाँको ठम्याइ छ । नेपालमा सञ्चालनमा रहेका अधिकांश अन्तर्राष्ट्रिय एयरलाइन्सका एजेन्ट काठमाडौंका सीमित व्यवसायीको नियन्त्रणमा रहेको उहाँको दाबी छ । टिकट बिक्री, बजार व्यवस्थापन, प्रचारप्रसार र यात्रु वितरणको सम्पूर्ण अधिकार केही कम्पनीमा केन्द्रित हुँदा भैरहवा र पोखराजस्ता नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले प्रतिस्पर्धा गर्ने अवसर नै पाएका छैनन् ।
“काठमाडौंका जिएसएले आफ्नै व्यापारिक हितअनुसार जहाजको बजार व्यवस्थापन गर्छन् । स्थानीय ट्राभल एजेन्सीलाई पर्याप्त सहयोग, सहुलियत वा टिकटको समान पहुँच दिइँदैन”, थापा भन्नुहुन्छ । उहाँको प्रस्ताव छ- भैरहवा र पोखराका लागि स्थानीयस्तरका जिएसए नियुक्त गर्ने नीति सरकारले ल्याउनुपर्छ । उडानको सुनिश्चित भए लुम्बिनीका पर्यटन व्यवसायी र ट्राभल कम्पनी ठूलो लगानी गरेर पनि त्यो जिम्मेवारी लिन तयार रहेको उहाँको दाबी छ ।
लुम्बिनी आउने धेरै विदेशी पर्यटक भारतका बौद्ध तीर्थस्थल पनि भ्रमण गर्न चाहन्छन् तर अहिले भारतको इ-भिसा लिएर आएका तेस्रो मुलुकका पर्यटक बेलहिया नाका हुँदै भारत प्रवेश गर्न नपाउने व्यवस्था रहेको श्रेष्ठ बताउनुहुन्छ । यसले बुद्ध सर्किटको अवधारणालाई कमजोर बनाएको उहाँको भनाइ छ । नेपाल सरकारले भारतसँग उच्चस्तरीय कूटनीतिक पहल गरेर यो समस्या समाधान गर्नुपर्नेमा उहाँको जोड छ । पश्चिम नेपालका हजारौँ युवा हरेक वर्ष वैदेशिक रोजगारीमा जान्छन् तर मेडिकल परीक्षण, श्रम स्वीकृति, बायोमेट्रिक र भिसा प्रक्रियाका लागि उनीहरू अझै काठमाडौँ जान बाध्य छन् । भैरहवामै श्रम डेस्क, मेडिकल सेन्टर र प्रमुख मुलुकका भिसा सेन्टर स्थापना गर्न सकियो भने यही क्षेत्रबाट ठूलो सङ्ख्यामा यात्रु अन्तर्राष्ट्रिय उडानमा जोडिनसक्ने उहाँको विश्वास छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई केबल रुपन्देहीको परियोजना मान्न नहुने बताउनुहुन्छ । “धनगढी, नेपालगञ्ज, दाङ, बर्दिया, कैलाली, कञ्चनपुरका नागरिकलाई काठमाडौं पुगेर जहाज चढ्नुभन्दा भैरहवा आउन समय र खर्च दुवै हिसाबले सहज हुन्छ । श्रेष्ठको विचारमा अरुलाई दोष दिनुभन्दा पहिले नेपाल सरकारले आफ्नै दायित्व पूरा गर्नुपर्छ । उहाँ प्रश्न गर्नुहुन्छ, “सरकारकै स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले दैनिक एउटा नियमित अन्तर्राष्ट्रिय उडान किन सुरु गर्न सक्दैन ?”
उहाँकाअनुसार नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले नियमित उडान सुरु गरे त्यसले बजारमा सकारात्मक सन्देश जानेछ । त्यसपछि विदेशी एयरलाइन्स पनि भैरहवाप्रति आकर्षित हुन सक्छन् । यदि यात्रु उडान तत्काल विस्तार गर्न कठिन छ भने कार्गो उडानलाई विकल्पका रुपमा अघि बढाउन सकिने सुझाव पनि निजी क्षेत्रले दिएको छ ।
विमानस्थलमा पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति र सञ्चालन क्षमता रहेका अवस्थामा अन्तर्राष्ट्रिय कार्गो सेवा सुरु गर्न सकिए कृषि उत्पादन, औद्योगिक वस्तु र निर्यात व्यापारले नयाँ बजार पाउन सक्छ । भारतसँग प्रत्यक्ष हवाई सम्पर्कलाई विमानस्थलको भविष्यसँग जोडेर हेरिएको छ । नयाँदिल्ली, मुम्बई, कोलकाता, बेङ्गलोर, वाराणसी वा लखनउबाट नियमित उडान सुरु भए भारतीय पर्यटक मात्रै होइन, बौद्ध धर्मावलम्बी, तीर्थयात्री तथा तेस्रो मुलुकका पर्यटक पनि सिधै लुम्बिनी आउन सक्नेछन् । यसले लुम्बिनीसँगै पाल्पा, पोखरा, मुक्तिनाथ र पश्चिम नेपालको पर्यटनलाई पनि प्रत्यक्ष लाभ पुग्नेछ ।
विसं २०२१ मा घाँसे हवाई मैदानबाट सुरु भएको यो विमानस्थल २०२३ सालदेखि आन्तरिक विमानस्थलका रुपमा हालको स्थानबाट सञ्चालनमा आएको छ । विसं २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्नु भई करिब रु ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । करिब आठ सय बिघामा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रन-वे रहेको छ । ‘फोर ई क्याटेगरी’को विमानस्थलमा नवौँ क्याटेगरीको दमकलहरु रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरण हुनसक्ने यहाँ चार न्यारोबडी र एक वाइडबडी जहाज पार्किङ गर्न सकिन्छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी