काठमाडौं । दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै हरित वित्त प्रवर्द्धन गर्ने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले जर्मन वित्तीय संस्था डिएसआईकेसँग रणनीतिक साझेदारी गरेको छ।
जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित एसियाली क्षेत्रीय कार्यक्रमअन्तर्गत भएको उक्त साझेदारीमार्फत नेपालमा दिगो बैंकिङ अभ्यासलाई सुदृढ बनाइने बैंकले जनाएको छ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र डिएसआईकेकी एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गर्नुभएको हो।
बैंकका अनुसार साझेदारीलाई दुई चरणमा कार्यान्वयन गरिनेछ। यसअन्तर्गत हरित बैंकिङ अभ्यासलाई संस्थागत गर्दै विस्तार गर्ने, दिगो वित्तीय प्रणाली विकास गर्ने तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार बैंकिङ अभ्यास परिमार्जन गरिनेछ।
कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले यो सम्झौता बैंकका लागि दिगो बैंकिङ अभ्यासलाई परिपक्व बनाउने महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार साझेदार संस्थाको प्राविधिक सहयोग र नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मार्गदर्शनमा बैंकले हरित वित्त, न्यून कार्बन उत्सर्जन तथा दिगो उद्यमशीलता प्रवर्द्धनमा थप योगदान पुर्याउने अपेक्षा गरेको छ।
सम्झौताअनुसार डिएसआईकेले ईएसजी रिस्क राडार र सस्टेनेबल फाइनान्स कम्पास जस्ता प्राविधिक उपकरण उपलब्ध गराउनेछ। साथै ग्रामीण क्षेत्र तथा साना–मझौला उद्यम (एसएमई) को क्षमता अभिवृद्धि र हरित उद्यम प्रवर्द्धनका लागि विशेष कार्यक्रम पनि सञ्चालन गरिनेछ।
कुमारी बैंकले आफ्नो देशव्यापी सञ्जालमार्फत उक्त पहललाई विस्तार गर्ने जनाएको छ। हाल बैंकका देशभर २८६ शाखा, ३०३ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ तथा एक हजार १०० भन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा रहेका छन्।
बैंकले यो सहकार्यले नेपालको दिगो आर्थिक विकास, हरित वित्त विस्तार तथा जलवायु–उत्थानशील भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि