नयाँदिल्ली । टी-२० विश्वकपको ऐतिहासिक जित हासिल गरेको केही समयमै भारतीय क्रिकेट टोलीमा यति ठूलो भूकम्प आउला भनेर कसैले सोचेको थिएन । तर, हालै आयरल्याण्डविरुद्धको टी-२० शृंखलामा बेहोरेको अप्रत्याशित ०-२ को हारले एउटा गम्भीर प्रश्न खडा गरिदिएको छ- आखिर विश्व च्याम्पियन टोली रातारात कसरी ‘लुजर’ को स्थितिमा पुग्यो ?
दैनिक भास्करको रिपोर्टअनुसार च्याम्पियन टोली अचानक धराशायी हुनुमा तीनवटा मुख्य कारणहरू जिम्मेवार देखिन्छन् । अनुचित कप्तानी फेरबदल, स्थापित खेलाडीहरूको खराब फर्म र युवा प्रतिभालाई अवसर नदिई ‘प्रोसेस’ को नाममा अल्झाउने मानसिकता । च्याम्पियन टोली कमजोर बन्नुको पहिलो र मुख्य कडी कप्तानीमा गरिएको हतारोको फेरबदल हो । टी–२० विश्वकप जिताएका कप्तान सूर्यकुमार यादवलाई खराब फर्मको बहानामा टोलीबाट मात्र होइन, कप्तानीबाटै सिधै बर्खास्त गरियो । उहाँको स्थानमा श्रेयस अय्यरलाई कमान सुम्पियो ।
अय्यरले आइपिएलमा कोलकाता नाइट राइडर्सलाई च्याम्पियन बनाएको ट्र्याक रेकर्ड पक्कै राम्रो छ तर अन्तर्राष्ट्रिय टी-२० मा लामो समयपछि फर्किनुभएका उहाँमाथि अचानक नेतृत्वको भारी थपिँदा टोलीको सन्तुलन बिग्रियो । कप्तान परिवर्तन हुँदा मैदानमा देखिने आत्मविश्वास र रणनीतिमा स्पष्ट विचलन देखियो, जसको फाइदा आयरल्याण्ड जस्तो टोलीले उठायो । रिपोर्टअनुसार विश्वकप जितेको मातमा रहेको भारतीय ब्याटिङ लाइन–अप आयरल्याण्डको कन्डिसनमा तासको पत्ता जस्तै ढल्यो । टोलीका प्रमुख ब्याटरहरू अभिषेक शर्मा, सञ्जु सैमसन र इशान किशनजस्ता नामहरू पूर्ण रूपमा असफल साबित भए ।
जसप्रित बुमराह र हार्दिक पाण्ड्याजस्ता सिनियर म्याचविनरहरूलाई आराम दिइएको अवस्थामा यी युवा तथा स्थापित ब्याटरहरूले जिम्मेवारी लिनुपर्थ्यो । तर, अति आत्मविश्वास वा खराब प्रविधिका कारण शीर्ष क्रम लगातार ध्वस्त हुँदा भारतले खेलमा पुनरागमन नै गर्न सकेन ।
भारत पराजित हुनु र प्रशंसकहरू आक्रोशित हुनुको सबैभन्दा ठूलो कारण १५ वर्षीय ब्याटिङ सनसनी वैभव सूर्यवंशीलाई बेन्चमा थुनेर राख्नु हो । आइपिएल २०२६ मा राजस्थान रोयल्सबाट खेल्दै ७७६ रन बनाएर ‘अरेन्ज क्याप’ जितेका र २३७.३० को विस्फोटक स्ट्राइक रेट भएका वैभवलाई टोलीमा त समेटियो तर प्लेइङ-११ मा मौका दिइएन । जब स्थापित खेलाडीहरू लगातार फ्लप भइरहेका थिए, तब पनि वैभवलाई डेब्यु गराइएन । महान् क्रिकेटर सुनील गाभस्करले भन्नुभएको छ, ‘मैले वैभवले डेब्यु गर्ने आशा गरेको थिएँ । इंग्ल्याण्ड जस्तो कठिन भ्रमणअघि उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा अभ्यस्त गराउने यो सुनौलो मौका थियो, जसलाई व्यवस्थापनले गुमायो ।’
यसको जवाफमा कप्तान श्रेयस अय्यर र सहायक प्रशिक्षक रायन टेन डोस्काटेले वैभव ‘दुर्लभ प्रतिभा’ भए पनि उहाँले टिमको स्थापित ‘प्रोसेस’ पार गर्नुपर्ने र पुराना खेलाडीलाई नै विश्वास दिनुपर्ने भन्दै बचाउ गर्नुभएको छ । समाचारअनुसार यही प्रतिभा भर्सेस प्रोसेसको चक्रव्यूहमा भारत फस्यो । जुन टोली डराएर बस्छ र लयमा रहेका युवालाई मौका दिन हिचकिचाउँछ, त्यो च्याम्पियनबाट लुजर बन्न बेर लाग्दैन भन्ने उदाहरण यो शृंखला बन्यो ।
आयरल्याण्डको यो धक्काले भारतीय टोलीको ‘आक्रामक टी-२० ब्राण्ड’ माथि शंका उब्जाएको छ । अब भारतीय टोली इंग्ल्याण्ड भ्रमणमा जाँदैछ, जहाँ चुनौती अझ कडा हुनेछ । अर्कोतर्फ, चीनमा हुने एसियाली खेलकुदका लागि बुमराहसहितको पूर्ण शक्तिको टोली त घोषणा गरिएको छ तर टोलीभित्रको मनोबल अहिले खस्किएको रिपोर्टको निष्कर्ष छ ।
टिम इण्डिया कागजमा अझै पनि च्याम्पियन हो तर मैदानको प्रदर्शन र रणनीतिक कमजोरीले उसलाई ‘लुजर’ साबित गरिदिएको छ । यदि भारतीय क्रिकेटले भविष्य सुरक्षित गर्ने हो भने श्रेयस अय्यरको कप्तानीमा सुधार, फ्लप भइरहेका सिनियरको विकल्प र वैभव सूर्यवंशीजस्ता ‘एक्स-फ्याक्टर’ खेलाडीहरूलाई ‘प्रोसेस’ को नाममा नअल्झाई सिधै मैदानमा उतार्न आवश्यक देखिएको रिपोर्टमा सुझाव दिइएको छ ।
एजेन्सी






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर