काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोलीकी कप्तान सोनी पाख्रिनले मलेसियामा हुने एसीसी यू–१९ महिला प्रिमियर कपमा देशले गर्व गर्ने प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
एशियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा असार २७ गतेदेखि मलेसियाको क्वालालम्पुरमा हुने प्रतियोगिताका लागि बिहीबार गौशालामा आयोजित बिदाइ कार्यक्रममा कप्तान पाख्रिनले छोटो समयको तयारी भए पनि टोली उत्कृष्ट प्रदर्शनका लागि तयार रहेको बताउनुभयो।
उहाँले प्रतियोगितामा उत्कृष्ट क्रिकेट खेल्दै आफूलाई प्रमाणित गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो। यसअघि पूजा महतोको कप्तानीमा उपकप्तान रहनुभएकी पाख्रिन उमेर समूह परिवर्तनसँगै यसपटक टोलीको कप्तान बन्नुभएको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो। टोलीले पछिल्लो डेढ महिनामा सुर्खेत र मधेश प्रदेशमा आयोजित उमेर समूह प्रतियोगितामा सहभागिता जनाएपछि करिब १० दिनको तयारी गर्दै प्रतियोगितामा सहभागी हुन लागेको हो।
टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले उपलब्ध स्रोत–साधनअनुसार सन्तोषजनक तयारी भएको बताउँदै यो प्रतियोगिता आगामी महिला यू–१९ विश्वकप छनोटको दृष्टिले पनि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
उहाँले कप्तान सोनी पाख्रिन, सना प्रविण र सावित्री धामीजस्ता सक्षम ब्याटर तथा सन्तुलित बलिङ आक्रमणका कारण नेपाल प्रतियोगिताका बलिया टोलीमध्ये एक रहेको दाबी गर्नुभयो। साथै, नेपाली महिला क्रिकेटले निर्माण गरेको उपलब्धिलाई अझ सुदृढ बनाउन यो टोलीले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
क्यानका उपाध्यक्ष रोशन सिंहलगायत पदाधिकारीले टोलीलाई औपचारिक रूपमा बिदाइ गर्नुभएको थियो। नेपाली टोली बिहीबार नै मलेसिया प्रस्थान गरेको छ।
प्रतियोगितामा नेपालसहित १३ राष्ट्र सहभागी छन्। नेपाल समूह ‘ए’ मा हङकङ, कतार र सिंगापुरसँग रहेको छ। समूह ‘बी’ मा यूएई, ओमान र भुटान, समूह ‘सी’ मा आयोजक मलेसिया, इन्डोनेसिया र कुवेत तथा समूह ‘डी’ मा थाइल्यान्ड, म्यान्मार र जापान रहेका छन्।
हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। नेपालले पहिलो खेलमा कतारसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि असार २८ गते सिंगापुर र असार ३० गते हङकङसँग खेल्ने तालिका छ।
प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चार टोलीले आगामी एशिया कपमा स्थान बनाउनेछन् भने फाइनल खेल साउन २ गते हुनेछ।
नेपाली टोली: कप्तान सोनी पाख्रिन, सना प्रविण, अलिसा कुमारी यादव, सावित्री धामी, मनीषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, त्रिसना विक, कृस्मा गुरुङ, अन्जी पाठक, मनीषा चौधरी, स्नेहा महरा र करुणा विष्ट।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर