काठमाडौं । पूर्णतया हास्यव्यंग्य कथावस्तुमा आधारित नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को औपचारिक शुभमुहूर्त गरिएको छ । होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुभारम्भ वैदिक विधिअनुसार पूजाआजा गरी निर्माण टोली, कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको हो ।
शुभमुहूर्तसँगै चलचित्रको निर्माण यात्रा औपचारिक रूपमा सुरु भएको निर्माण पक्षले जनाएको छ । चलचित्रको नियमित छायांकन यही असार २९ गतेदेखि सुरु गरिने तयारी गरिएको छ । निर्माण पक्षका अनुसार चलचित्र विशुद्ध पारिवारिक मनोरञ्जनमा केन्द्रित रहनेछ भने हास्यव्यंग्य शैलीमार्फत समकालीन समाजका विविध पक्षलाई रोचक ढंगले प्रस्तुत गरिनेछ ।
आभास अधिकारीको कथा तथा कन्सेप्टमा निर्माण हुनलागेको चलचित्रको निर्देशन समीरले गर्नुहुनेछ । शुभमुहूर्त कार्यक्रममा निर्देशक समीरले चलचित्रले सुरुदेखि अन्त्यसम्म दर्शकलाई हँसाउने विश्वास व्यक्त गर्दै नेपाली चलचित्र क्षेत्रमा स्तरीय कमेडी फिल्मको आवश्यकता महसुस गरेर यो परियोजना अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार हास्यलाई केवल मनोरञ्जनमा सीमित नराखी सामाजिक यथार्थ र मानवीय सम्बन्धका विविध आयामलाई पनि समेट्ने प्रयास गरिएको छ ।
चलचित्रका निर्माता प्रद्युम्न बोगटी (प्रवीन)ले उत्कृष्ट पारिवारिक कमेडी चलचित्र निर्माण गर्ने उद्देश्यका साथ आफूहरू अघि बढेको बताउनुभयो । उहाँले सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीको समर्पित मेहनतले चलचित्र दर्शकमाझ रुचाइनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो । नेपाली दर्शकले लामो समयदेखि खोजिरहेको स्वच्छ, पारिवारिक र मनोरञ्जनात्मक चलचित्र दिने लक्ष्य रहेको उहाँको भनाइ थियो ।
कथाकारसमेत रहनुभएका कार्यकारी निर्माता आभास अधिकारीले चलचित्रको कथा आफ्नै समाजमा घट्ने रमाइला, व्यंग्यात्मक तथा ठट्यौला घटनाक्रमबाट प्रेरित भएको जानकारी दिनुभयो । उहाँले दैनिक जीवनमा भेटिने पात्र, प्रवृत्ति र सामाजिक व्यवहारलाई हास्य शैलीमा प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिने प्रयास गरिएको बताउनुभयो ।
चलचित्रको अर्को विशेष आकर्षणका रूपमा सामाजिक सञ्जालमार्फत ‘दले दाइ’ नामले लोकप्रिय बन्नुभएका कमेडियन सुमन कोइरालाको अभिनय डेब्यू रहने भएको छ । पहिलो पटक ठूलो पर्दामा देखिन लाग्नुभएका उहाँसँगै वरिष्ठ अभिनेता धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशी लगायतका कलाकारको मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा सह-निर्माताका रूपमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा आबद्ध हुनुहुन्छ । यसैगरी विशाल कक्षपतिले छायांकन गर्नुहुनेछ छ भने अभिषेक कार्की संगीतकारका रूपमा रहनुभएको छ । पटकथा तथा संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा तयार पार्नुभएको हो । करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर तथा रविन काजी शाक्य प्रोडक्सन डिजाइनरका रूपमा कार्यरत रहनुहुने छ ।
चलचित्रमा प्रदीप लामा र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ भने पोष्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गर्नुहुने छ । त्यसैगरी मेकअपमा दिलमाया रोका, हेयर स्टायलमा अप्सरा कुँवर तथा कस्ट्युम डिजाइनमा रीजुन प्रधान रहनुहुनेछ । शुभमुहूर्त कार्यक्रम सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियासहित सम्पन्न भएको थियो । कार्यक्रममा निर्माण टोली र कलाकारहरूले चलचित्रको सफल निर्माण तथा प्रदर्शनप्रति उत्साह व्यक्त गर्दै नेपाली दर्शकलाई भरपुर मनोरञ्जन दिने प्रतिबद्धता जनाएका थिए ।
निर्माण पक्षका अनुसार ‘तिरिमिरी झ्याइँ’ नेपाली समाजका विविध पात्र र परिस्थितिलाई हास्यव्यंग्य शैलीमा प्रस्तुत गर्ने पारिवारिक चलचित्र हुनेछ । नियमित छायांकन सम्पन्न भएपछि प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी निर्माण कम्पनीले दिएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर