काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको मध्यपुर ठिमी नगरपालिकास्थित जिरे खुर्सानी दरबार होटललाई कारबाही गरेको छ । असुरक्षित तरिकाले ढुवानी गरेको मासु प्रयोग गरी परिकार तयार गरेको उजुरी गुनासो सम्बोधन गर्ने क्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको संयुक्त अनुगमन टोलीले जिरे खुर्सानीलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको हो ।
साथै अनुगमन गरी मासुको नमुना संकलन गरेर केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्न पठाइएको र सोही मितिमा भण्डारण गरी राखेको कुखुराको काँचो मासु करिब १४ केजी, तन्दुरी काँचो मासु करिब पाँच केजी र फ्रिजमा भण्डारण गरी राखेको स्रोत नखुलेको करिब १८ केजी बिक्री तथा परिकार बनाउन रोक्का गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
विभागका अनुसार उक्त मासु प्रयोगशालामा परीक्षण गराँउदा स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणु फेला परेको परीक्षण प्रतिवेदन प्राप्त भएकाले पुनः अनुगमन निरीक्षण गरिएको र विवरणमा उल्लेखित परिमाणको मासु मानव उपभोगका लागि असुरक्षित भएकाले नष्ट गरिएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’ बमोजिमको कसुर गरेको हुँदा सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड ‘ख’ बमोजिम दुई लाख पाँच हजार जरिवाना गरिएको विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिनुभएको छ ।
त्यसैगरी काठमाडौंको टोखा नगरपालिकास्थित एनएस ग्रुप इण्डष्ट्रिज प्रालिमा पनि उद्योगमा सरसफाइ सन्तोषजनक नपाइएको, उद्योगको परिसरमा पानी भरेर बजारमा लैजान लागेका टुटे, फुटेका, कुच्चिएका जार पाइएको, उद्योगको प्रशोधन कक्षमा लगाइएको टायल जीर्ण अवस्थामा रहेको पाइएकाले टुटे, फुटेका, कुच्चिएका ४४ थान जार नष्ट गरिनुका साथै प्रशोधन कक्षमा भुइँमा रहेको टायलको मर्मत गरी पाँच पाँच दिनभित्र सुधार गरेको प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका प्रवक्ता शर्माले जानकारी दिनुभएको छ ।
त्यस्तै काठमाडौं महानगरपालिका वसुन्धारास्थित अधिकारी तेल मिलमा पनि सरसफाइ सन्तोषजनक नपाइएको, खाद्य पदार्थलाई पानीसँगै एउटै ठाउँमा राखेको, प्रशोधन, भण्डारण कक्ष अलग्गै नरहेको, पूर्ण लेबल विवरण नखुलेको खाद्यवस्तु भेटिएकाले सुधारका लागि निर्देशन दिइएको विभागले जनाएको छ । साथै पूर्ण लेबल विवरण नखुलेको एक लिटर नरिवल तेल, पाँच केजी (काजु, बदाम, फर्सीको बिया) आपूर्तिकर्तालाई फिर्ता गर्न लगाइएको पनि विभागले जनाएको छ ।
त्यसैगरी विभागका अनुसार काठमाडौं महानगरपालिका दरबारमार्गस्थित द ब्ल्याक गोल्ड रेस्टुरेन्ट प्रालिमा स्थलगत अनुगमन निरीक्षण गर्दा कृत्रिम खाद्य रंगको अनुचित प्रयोग गरेको, भान्सा साँघुरो तथा निकासको व्यवस्था सन्तोषजनक नपाइएको, स्टोरमा किटको व्यवस्थापन उचित तरिकाले नगरिएको, तीन थान एक सय ग्रामको खाद्य रंगको उपभोग्य मिति गुज्रेको पाइएको, फ्रिजमा खाद्यवस्तु अव्यवस्थित तरिकाले भण्डारण गरिएको पाइएको छ । उपभोग्य मिति गुज्रिएका तीन थान एक सय ग्रामको खाद्य रंग, एक थान लेमन साल्ट दुर्ई सय ग्रामको नष्ट गरिएको, बाह्य किट नियन्त्रणको व्यवस्था भए तापनि थप प्रभावकारी गर्न निर्देशन दिइएको, पूर्ण लेबल विवरण भएका प्रशोधित खाद्य पदार्थमात्र प्रयोग गर्न निर्देशन दिइएको, खाद्य स्वच्छता कायम राख्न निर्देशन दिइएको र थप अनुसन्धान तथा कारबाही प्रक्रिया काठमाडौं महानगरपालिकाले अगाडि बढाउने जानकारी गराइएको छ ।
त्यसैगरी काठमाडौंको चण्डोलस्थित एक्सप्रेस इट्स प्रालिमा स्थलगत अनुगमन निरीक्षणका क्रममा कृत्रिम खाद्य रंगको अनुचित प्रयोग गरेको, भान्साको सरसफाइ सन्तोषजनक नपाइएको, किट नियन्त्रणको व्यवस्था प्रभावकारी नभएको, निकासको सरसफाइ प्रभावकारी नभएको, दुर्ई थान सात सय ग्रामको चाउमिनको उपभोग्य मिति समाप्त भएको पाइएको र तेलको टिपीः ३८ भई मापदण्ड प्रतिकूल पाइनुका साथै उपभोग्य मिति गुज्रेका दुर्ई थान सात सय ग्रामको चाउमिन नष्ट गरिएको विभागले जनाएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर