काठमाडौं । नेपालभरका सामुदायिक क्याम्पसमध्ये मानविकी संकायतर्फ स्नातक तहमा उत्कृष्ट अंक हासिल गर्न सफल सञ्जिता रेग्मी सम्मानित हुनुभएको छ । मदन भण्डारी मेमोरियल कलेजकी छात्रा रेग्मीलाई नेपाल पब्लिक क्याम्पस संघले बिहीबार ३७औँ वार्षिकोत्सव कार्यक्रममा १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो । उक्त उपलब्धिले कलेजले सिर्जना गरेको समग्र शिक्षण वातावरण र विद्यार्थी, शिक्षक तथा समुदायका साझा प्रयास उजागर गरेको संघले जनाएको छ ।
सो अवसरमा संघले कलेजलाई पनि सम्मानपत्र प्रदान गरेको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सामुदायिक क्याम्पसहरूले नेपालको उच्च शिक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै पब्लिक क्याम्पसका समस्या र आवश्यकतालाई गम्भीरतापूर्वक अध्ययन गरी विश्वविद्यालयबाट आवश्यक निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वविद्यालयको नेतृत्व सम्हालेको चौथो दिनमै कार्यक्रममा सहभागी हुनु सामुदायिक क्याम्पसप्रतिको सम्मान भएको उल्लेख गर्दै उहाँले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने तथा पूर्व नेतृत्वको अनुभवबाट मार्गदर्शन लिँदै विश्वविद्यालयलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा दीपक अर्यालले देशभरका चार सय ५० भन्दा बढी सामुदायिक क्याम्पसलाई लक्षित गरी गरिएका निर्णय प्रभावकारीरूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा तीर्थराज खनियाले नेपालको उच्च शिक्षा प्रणाली स्पष्ट नीति, विश्वविद्यालयको स्वायत्तता र दीर्घकालीन दृष्टिकोणका आधारमा पुनर्संरचना गर्नुपर्ने बताउनुभयो भने विश्वविद्यालय अनुदान आयोगका निमित्त सचिव डा. केदार आचार्यले सामुदायिक क्याम्पसहरूले समुदायको सक्रिय सहभागितामार्फत् उच्च शिक्षाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै त्यसको उचित मूल्यांकन र मान्यता सरकारले दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
संघका सल्लाहकार एवं पूर्वउपाध्यक्ष धनलाल महर्जनले उत्कृष्ट अंकका आधारमा सम्मानित चार विधाका स्नातक तहका विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डा. बाबुराम अधिकारीले विभिन्न विधामा सम्मानित भएका विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा सामुदायिक क्याम्पसहरूलाई बधाई दिँदै यस्ता उपलब्धिले अन्य शैक्षिक संस्थाहरूलाई उत्कृष्टता हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो भने नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुघनप्रसाद गुप्ताले गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै सामुदायिक क्याम्पसहरूको विकासका लागि सरकारले थप सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर