भूटानका गायक प्रताप सुब्बाका गीतहरूले जसरी भूटानी नेपाली समुदायको पीडा, पहिचान र स्मृतिलाई बोकेका छन्, त्यसैगरी तिलक पोकवालको जीवनकथाले पनि विस्थापन, संघर्ष, आत्मसम्मान र पुनर्निर्माणको नयाँ कथा सिर्जना गरेको छ । मिनेसोटाको मेपलउड शहरस्थित राइस स्ट्रिटमा रहेको ‘नेपाली किचेन एण्ड ग्रोसरी’मा दिउँसोको समयमा चहलपहल बढ्दै जान्छ । कोही तातो मोमोको अर्डर गरिरहेका हुन्छन्, कोही भूटानी परिकारसहित नेपाली थालीको स्वाद लिन बसेका हुन्छन् । एक कुनामा चिया पिउँदै आफ्नै भाषामा गफ गरिरहेका ग्राहकहरूको जमघट पनि देखिन्छ । त्यहाँ एक स्वारमा बन्धनको चिनो गीत युट्युबबाट बजिरहेको छ । जहाँ नेपाली, भूटानी र भारतीय खाद्य सामग्रीले भरिएको त्यो पसल र रेष्टुरेण्ट आज केवल व्यापारिकस्थल मात्र होइन, मिनेसोटामा बसोवास गर्ने दक्षिण एसियाली समुदायका लागि घरको झल्को दिने साझा ठाउँ बनेको छ ।
त्यही व्यवसायको केन्द्रमा उभिएका छन् तिलक पोकवाल र उनका व्यवसायी साथीहरू । उनी नेपालका नेपाली त होइन तर सगरमाथा झै उचाकदका साथ सहयोगी छन् नेपाली मन र नेपाला पन बचाउनका लागि । सधैं सालिन र शान्त छन् गौतम बुझ्दा झै– पराइदेशमा सम्बन्ध विस्तारगरि नेपाली सारथी झल्काइ अंगालोमा आफ्नोपन दिलाइ दिन ।
आज उनी सफल उद्यमी, रियल स्टेट व्यवसायी, सामुदायिक अगुवा र समाजसेवीका रूपमा परिचित छन् । तर, उनको जीवनकथा आजको समृद्धि र पहिचानबाट सुरु हुँदैन । यो कथा भूटानको समराङ गाउँबाट सुरु हुन्छ, जहाँ उनको बाल्यकाल बित्यो । त्यसपछि यो कथा नेपालका शरणार्थी शिविरहरूमा आएको कठोर विस्थापन, वर्षौंको अनिश्चितता, शिक्षाको खोजी, परिवारप्रतिको जिम्मेवारी, नयाँ देशमा पुनःस्थापना र अन्ततः अमेरिकी सपनालाई आफ्नै शैलीमा हासिल गरेको यात्रासम्म फैलिन्छ ।
तिलक पोकवालको जीवन एउटा व्यक्तिको सफलताको मात्र कथा होइन, यो शरणार्थी जीवन, सामुदायिक आत्मबल, आप्रवासन, श्रम, उद्यमशीलता र सार्वजनिक सेवाको संगम हो । उनको यात्रा भूटानी नेपाली समुदायको विस्थापन र पुनर्निर्माणको इतिहाससँग पनि गहिरो रूपमा जोडिएको छ ।
भूटानको समराङ गाउँमा जन्मिएका हुन तिलक । त्यो समय समराङ नेपालीभाषी भूटानी समुदायको महत्त्वपूर्ण बसोबास क्षेत्र मानिन्थ्यो । गाउँको जीवन सरल थियो । परिवारहरू खेतीपाती, पशुपालन, सामुहिक श्रम, धार्मिक संस्कार र आपसी सहयोगमा निर्भर थिए । तिलकको बाल्यकाल पनि त्यस्तै वातावरणमा बित्यो, जहाँ बिहानको दिन विद्यालयबाट सुरु हुन्थ्यो र बेलुकी घरका काम, खेतबारीको सहयोग र परिवारसँगको समयले दिन पूरा हुन्थ्यो ।
बाल्यकालका ती दिनहरू सामान्य थिए, तर स्थिर थिए । आफ्नै घर थियो, आफ्नै माटो थियो, आफ्नै छिमेक थियो । उनीहरूजस्ता धेरै भूटानी परिवारका लागि त्यो जीवन केवल जीविकोपार्जनको होइन, पहिचान र आत्मसम्मानको जीवन थियो । समुदायसँगै बस्ने, चाडपर्व मनाउने, नेपाली संस्कार जोगाउने, छिमेकीसँग सुखदुःख बाँड्ने-यिनै कुराले त्यो जीवनलाई अर्थ दिएको थियो । तर, १९९० को दशकको सुरुवाततिर भूटानमा विकसित राजनीतिक घटनाक्रमले त्यो स्थिरता भत्कियो । नेपालीभाषी भूटानीहरूमाथि दबाब बढ्दै गयो र हजारौं परिवारहरू आफ्नो जन्मभूमिबाट विस्थापित हुन बाध्य भए । तिलकको परिवार पनि त्यही लहरमा पर्यो । उनीहरूले आफ्नै घर, खेत, छिमेकी, बाल्यकालका सम्झना र भविष्यको आशा छोडेर नेपालतर्फ प्रस्थान गर्नुपर्यो । त्यो केवल बसाइँसराइ थिएन । त्यो पहिचान गुमाउने पीडासँग जोडिएको विस्थापन थियो ।
तिलक पोकवालको जीवनकथा कुनै अन्त्यमा पुगेको छैन । बरू यो अझै विस्तार हुँदैछ । एउटा शरणार्थी बालकले भोगेको पीडा, युवावस्थामा लिएको शिक्षा, परिवारप्रतिको जिम्मेवारी, अमेरिकामा सुरु गरिएको नयाँ जीवन, समुदायका लागि गरेको सेवा र व्यवसायमार्फत देखाएको आत्मनिर्भरता, यी सबै चरणहरूले उनलाई एउटा असाधारण व्यक्तित्व बनाएका छन् ।
नेपाल आएपछि तिलकको परिवार झापास्थित खुदुनाबारी शरणार्थी शिविरमा बस्न थाल्यो । शरणार्थी शिविर कुनै सुविधासम्पन्न बस्ती थिएन । त्यो बाँस र खरले बनेका साना छाप्रोहरूको संसार थियो, जहाँ जीवन राहतमा निर्भर हुन्थ्यो । खानेकुरा सीमित, आवास अस्थायी, भविष्य अनिश्चित, र आफ्नो देश फर्किने आशा भने सधैं मनमा जीवित । तिलकले आफ्नो किशोरावस्था र युवावस्थाको महत्त्वपूर्ण समय त्यही शिविरमा बिताए । धेरै मानिसका लागि शिविर केवल दुःख र प्रतीक्षाको प्रतीक हुनसक्छ, तर तिलकजस्ता युवाहरूका लागि त्यो जीवनले धैर्य, अनुशासन र सामुदायिक सहकार्यको पाठ पनि सिकायो । एउटै अभावबीच पनि मानिसहरू कसरी एकअर्कालाई सघाउँछन्, कसरी थोरै साधनमा पनि समुदायलाई चलायमान राखिन्छ, कसरी अपमान र कठिनाइबीच पनि आत्मसम्मान जोगाइन्छ– यी सबै कुरा उनले त्यहीँ देखे, भोगे र आत्मसात् गरे ।
युट्यूबको आर्काइवमा ‘माने मर्यो जातिको लागि हौ’ बोलको गीत बजिरहेको बेला तिलकको स्वरमा ‘खाना कस्को लाग्यो अर्जुन भाइ’ भन्ने आवाज जोडिन्छ । त्यसपछि, तिलकले केही समयका लागि थकानको बिर्सजन लिँदै सुनाउनुभयो । ‘शिविरभित्र स्कुल थियो । शिक्षकहरू थिए । पढ्न चाहने बालबालिका थिए । भविष्यप्रतिको आकांक्षा थियो । खेलकुद, सांस्कृतिक कार्यक्रम, धार्मिक गतिविधि र सामुदायिक बैठकहरूले शिविरको जीवनलाई केही अर्थ र गति दिन्थे । भौतिक कठिनाइ भए पनि मानसिक रूपमा जुध्ने शक्ति त्यहीँ विकसित भयो । तिलकको व्यक्तित्व पनि त्यही वातावरणमा गढियो ।
१४ वर्षको उमेरमा भूटान छोडेका तिलकले झण्डै २५ वर्ष शरणार्थी जीवन, समाजसेवा, खेलकुद र शिक्षणसँग जोडिएर बिताए । त्यो तथ्य केवल उनको व्यक्तिगत अनुभव होइन, एउटा पुस्ताको साझा स्मृति हो । उनीजस्ता हजारौं शरणार्थी युवाहरूले आफ्नो किशोरावस्था कुनै देशको स्थायित्वमा होइन, अस्थायी आश्रयहरूमा बिताए । शरणार्थी शिविरको जीवनका बीच पनि तिलकले शिक्षालाई निरन्तरता दिए । धेरैजसो शरणार्थी परिवारका लागि शिक्षामात्र नयाँ बाटो खोल्ने माध्यम थियो । भविष्य कहाँ होला भन्ने प्रश्न अनिश्चित भए पनि पढाइले आत्मविश्वास र विकल्प दुवै दिन्थ्यो । तिलकले काठमाडौंमा पुगेर उच्च शिक्षा हासिल गरे । यो यात्रा सहज थिएन । शिविरबाट शहरसम्मको संक्रमण आफैंमा ठूलो संघर्ष थियो । पढाइसँगै काम गर्नु, परिवारलाई सहयोग गर्नु, र आफ्ना भाइबहिनीहरूको जिम्मेवारी सम्हाल्नु उनको जीवनको महत्त्वपूर्ण हिस्सा बन्यो ।
उनको परिवारमा नौजना भाइबहिनी छन् । यस्तो ठूलो परिवारमा जेठो दाजु र आमाबुबाको प्रेरणासँगै जिम्मेवार सदस्यका रूपमा आर्थिक र भावनात्मक बोझ पनि बढेर जान्छ । तिलकले पनि परिवारको जिम्मेवारीलाई गम्भीरतासाथ लिन सिके । काठमाडौंमा अध्ययन गर्ने क्रममा उनले धेरै काममा हात लगाए, तर अमेरिकी वित्तीय संस्थाहरूसँग फोन–सपोर्ट एजेन्टका रूपमा काम गरेको समय अझै उनलाई विशेष सम्झना हुन्छ । यो कामले उनलाई अन्तर्राष्ट्रिय ग्राहक सेवा, संवाद, समय व्यवस्थापन र पेशागत अनुशासन सिकायो ।
यही क्रममा २००९ तिर उनको जीवनमा एउटा निर्णायक संयोग आयो । कामकै सिलसिलामा उनको भेट मिनेसोटाका एक बैंक ग्राहकसँग भयो । सामान्य संवादकै क्रममा ती ग्राहकले अमेरिकी मध्यपश्चिम, विशेषगरी मिनेसोटाको आतिथ्य, खुलापन र अवसरबारे बताए ।
तिलकका लागि त्यो सानो कुराकानी ठूलो प्रेरणामा बदलियो । उनले त्यसपछि केही वर्षसम्म मनमै एउटा सपना बोके- कुनै दिन मिनेसोटा पुग्ने । त्यो सपना सुरुमा असम्भवजस्तो लाग्थ्यो । तर, शरणार्थी जीवनले उनलाई एउटा कुरा सिकाइसकेको थियो, असम्भवजस्तो देखिने कुरा पनि समय, धैर्य र तयारीसँगै सम्भव बन्नसक्छ । सन् २०१० मा अमेरिकाले भूटानी शरणार्थीहरूलाई पुनर्वास कार्यक्रमअन्तर्गत स्वीकार गर्न थालेपछि तिलकको सपना वास्तविकतामा बदलियो । लामो जाँच प्रक्रिया, कागजी औपचारिकता र पुनर्वास तयारीपछि तिलक र उनको परिवारले सन् २०१० को जनवरी १० मा अमेरिकाको मिनेसोटामा नयाँ जीवन सुरु गरे । उनीहरूलाई बसोबास, प्रारम्भिक व्यवस्थापन र नयाँ परिवेशमा अनुकूलन गर्न मिनेसोटा काउन्सिल अफ चर्चेजले सहयोग गर्यो ।
नयाँ देशमा सुरुका दिनहरू सजिला थिएनन् । भाषा, संस्कृति, कार्यप्रणाली, कानुनी प्रक्रिया, शिक्षा र रोजगार-सबै कुरा नयाँ थिए । तर, तिलकका लागि यस्ता चुनौतीहरू अपरिचित थिएनन् । उनले पहिले नै जीवनका कठिन मोडहरू पार गरिसकेका थिए । त्यसैले मिनेसोटामा पुगेपछि पनि उनले धैर्य, काम र आत्मविश्वासलाई छोडेनन् । तिलकले भनेजस्तै, ‘काम त गाह्रो थियो, तर मानिसहरू साँच्चै त्यत्तिकै स्वागतशील थिए, जति मैले अपेक्षा गरेको थिए ।’ यो वाक्य उनको अनुभूतिको सार हो, आतिथ्य, अवसर र समुदायको समर्थनले नयाँ जीवनलाई सम्भव बनायो । मिनेसोटामा पुगेपछि तिलकले पहिलो चरणमा मेडिकल इन्टरप्रेटरका रूपमा काम गरे । यो भूमिका केवल भाषान्तरणको मात्र थिएन, यो स्वास्थ्य सेवामा पहुँच, बिरामीको सुरक्षा र समुदायको विश्वाससँग सम्बन्धित सेवा थियो । भूटानी र नेपाली भाषी बिरामीहरूका लागि अस्पताल र क्लिनिकहरूमा भाषा अड्चन ठूलो चुनौती हुन्थ्यो । तिलकले त्यो दूरी घटाए । उनले समुदायका मानिसलाई डाक्टरसँग कुरा गर्न, उपचार बुझ्न, औषधि प्रयोग गर्न र स्वास्थ्य प्रणालीसँग जोडिन मद्दत गरे ।
त्यसपछि उनले भूटानी समुदायसँग काम गर्ने गैरनाफामूलक संस्थामा पनि भूमिका निर्वाह गरे । त्यहाँ उनले हजारौं शरणार्थी तथा आप्रवासीहरूलाई रोजगारी खोज्न, कानुनी सहायता पाउन, स्वास्थ्य सेवामा पहुँच बनाउन र वृद्धसेवासम्म पुग्न सहयोग गरे । आप्रवासी जीवनको प्रारम्भिक चरणमा यस्ता सेवाहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन् । भाषा, कागजात, रोजगार, बीमा र सार्वजनिक सेवा प्रणालीसँग जुध्न नसक्नेहरूका लागि समुदायसँग जोडिएको नेतृत्व अपरिहार्य हुन्छ । तिलकले दुई वर्षसम्म रिजर्भ पुलिस अफिसरका रूपमा पनि सेवा गरे । यो भूमिका उनको सार्वजनिक जीवनप्रतिको प्रतिबद्धताको अर्को उदाहरण हो । शरणार्थी शिविरबाट आएको एक व्यक्ति स्थानीय सुरक्षा र समुदाय सेवामा पनि योगदान गर्नसक्छ भन्ने सन्देश उनले व्यवहारमै देखाए ।
तिलक पोकवालको जीवनलाई केवल व्यवसायीका रूपमा बुझ्नु अपूरो हुनेछ । उनी समुदायभित्र विश्वासिलो नेतृत्वका रूपमा स्थापित भएका छन् । भूटानीज कम्युनिटी अफ मिनेसोटा जस्ता संरचनासँग जोडिएर उनले नयाँ आगन्तुकहरूलाई स्वागत, सहयोग र मार्गदर्शन गर्ने काममा महत्त्वपूर्ण भूमिका खेले । अमेरिका पुगेपछि धेरै शरणार्थीहरूलाई रोजगारी, आवास, शिक्षा, स्वास्थ्य सेवा र कानुनी प्रक्रियामा गाइड गर्ने कोही चाहिन्थ्यो । त्यस्तो बेला तिलक जस्ता मानिसहरू समुदायका लागि पुल बने ।
उनले नयाँ पुस्तालाई समुदायसँग जोडेर राख्ने, सांस्कृतिक पहिचान जोगाउने र आपसी सहकार्यलाई संस्थागत बनाउने काममा पनि योगदान गरे । अमेरिकी समाजमा पूर्णरूपमा घुलमिल हुँदै गर्दा पनि आफ्नै भाषा, खाना, संस्कृति र ऐतिहासिक स्मृतिलाई जीवित राख्नुपर्ने चुनौती आप्रवासी समुदायलाई सधैं रहन्छ । तिलकले त्यही सन्तुलन खोजे, अमेरिकी अवसरसँग जोडिँदै आफ्नै समुदायको जरा पनि बलियो बनाउने । उनको दृष्टिकोण निकै स्पष्ट छः व्यक्तिगत सफलता तबमात्र अर्थपूर्ण हुन्छ, जब त्यसले अरूलाई पनि अघि बढ्न मद्दत गर्छ । यही सोचले उनलाई समुदायको अगुवा बनायो ।
सन् २०१७ पछि तिलकले व्यवसायिक यात्रामा ठूलो मोड लिए । अमेरिकी नागरिकता पाएपछि उनले उद्यमशीलताको बाटो अझ सक्रिय रूपमा समाते । उनले पहिले रियल स्टेट व्यवसाय सुरु गरे । त्यसपछि गृह स्वास्थ्य सेवा क्षेत्रमा प्रवेश गरे । पछि ग्रोसरी र रेष्टुरेन्ट व्यवसायमा विस्तार गरे । यो विकास आकस्मिक थिएन । उनले पहिले नै समुदायसँग काम गर्दै गर्दा मानिसहरूको आवश्यकता, बजारको सम्भावना र सेवा प्रदान गर्ने तरिका नजिकबाट बुझिसकेका थिए । आप्रवासीहरूका लागि व्यवसाय सुरु गर्नु केवल नाफा कमाउने कुरा होइन, त्यो आत्मनिर्भरता, पहिचान र सामुदायिक सेवासमेत हो । तिलकले यही बुझाइका आधारमा व्यवसाय विस्तार गरे ।
उनले सुरु गरेको भिजन होम हेल्थ केयर अहिले सेन्ट पल क्षेत्रमा दर्जनौं बिरामीहरूलाई सेवा पुर्याउने संस्थाका रूपमा विकास भएको छ । त्यहाँ ५० भन्दा बढी कर्मचारी कार्यरत रहेको उल्लेख पाइन्छ । यसले केवल आर्थिक प्रगतिमात्र होइन, रोजगारी सिर्जना र सेवा विस्तारलाई पनि देखाउँछ । त्यसपछि उनले सानो किराना पसल सुरु गरे । समयक्रममा त्यसैलाई विस्तार गर्दै नेपाली रेष्टुरेन्टसमेत थपे, जसबाट ‘गोरोसरिज र नेपाली केचन’ अस्तित्वमा आयो । यो व्यवसाय आज मिनेसोटाको भूटानी समुदाय र नेपालीभाषी समुदायका लागि अत्यन्त परिचित नाम बनेको छ । यहाँ नेपाली, भूटानी र भारतीय खाद्य सामग्रीमात्रै होइन, घरेलु स्वाद, स्मृति र अपनत्व पाइन्छ ।
खाना केवल पेट भर्ने माध्यम होइन, त्यो संस्कृतिको वाहक हो । तिलक पोकवालको व्यवसायमा यो कुरा स्पष्ट देखिन्छ । उनको किराना तथा रेष्टुरेन्टमा मोमो, नेपाली थाली, थुक्पा, चाउमिन, सेकुवा, अचार, चिया र हिमाली-भूटानी भान्साका अन्य परिकार उपलब्ध छन् । यस्ता परिकारहरूले आप्रवासी समुदायलाई आफ्नो पुरानो स्वादसँग जोड्छन् । विदेशमा बसेका मानिसहरूका लागि यस्ता स्वाद केवल भोजन होइन, स्मृति र भावनासँग जोडिएका अनुभूति हुन् । यही कारणले तिलकको रेष्टुरेन्ट र किराना पसलले व्यापारिक मूल्यभन्दा बढी सामाजिक मूल्य बोकेको छ । यो मिलनस्थल हो । खबर साट्ने ठाउँ हो । चिया पिउने ठाउँ हो । नयाँ आएका मानिसलाई जानकारी दिने ठाउँ हो । पुराना चिनजान भेटिने ठाउँ हो । धेरै नेपालीभाषी र भूटानी र अन्य आप्रवासीहरूका लागि यस्तो स्थानले ‘घर’को अर्थ पुनः परिभाषित गरेको छ ।
ग्राहकहरूले यहाँ खानामात्र खान्दैनन्, परिचितता पनि अनुभव गर्छन् । उनीहरूले आफ्नो भाषा सुन्छन्, आफ्नो स्वाद पाउँछन् र आफ्नै समुदायको उपस्थिति महसुस गर्छन् । यही नै तिलकको व्यवसायको सबैभन्दा बलियो पक्ष हो । त्यसैले नेपालीभाषी भूटानी हुनु केवल पहिचानको विषय होइन, गर्व, स्वाभिमान र आत्मनिर्भरताको पनि विषय हो । तिलक भन्छन् । कोभिड–१९ महामारीले संसारभर व्यवसायहरूलाई असर गर्यो । तिलकको व्यवसाय पनि त्यसको अपवाद रहेन । ग्राहक घटे, आपूर्ति व्यवस्था प्रभावित भयो, अनिश्चितता बढ्यो । तर, तिलकजस्ता उद्यमीहरूको विशेषता नै यही हो–उनीहरू संकटलाई स्थायी हार मान्दैनन् । महामारीपछि उनी फेरि विस्तारको तयारीमा लागे ।
उनको योजना अब पनि समाप्त भएको छैन । सेन्ट पलको डाउनटाउनमा ‘टेष्ट अफ भूटान’ नामक चौथो व्यवसाय सुरु गर्ने तयारी पनि चलिरहेको छ । यो प्रस्तावित व्यवसाय उनको पहिचानसँग अझ गहिरो रूपमा जोडिन्छ, किनभने यसले भूटानी स्वाद र सांस्कृतिक प्रस्तुति दुवैलाई अगाडि ल्याउनेछ । यस्ता योजनाहरू केवल व्यापारिक होइनन् । ती सांस्कृतिक पुनर्स्थापनाका पनि माध्यम हुन् । जब आप्रवासी समुदायले आफ्ना परिकार, भाषा, पोशाक, संगीत र स्मृतिलाई व्यावसायिक रूपमा पनि प्रस्तुत गर्न थाल्छ, तब त्यो समुदाय सामाजिक रूपमा अझ सबल बन्छ । तिलकको उद्यमशीलताले यही दिशा देखाउँछ ।
तिलक पोकवालको कथामा एउटा भावनात्मक पक्ष पनि छ-कृतज्ञता । उनी आफूलाई यहाँसम्म पुर्याउने देश, समुदाय र अवसरप्रति आभारी छन् । उनी भन्छन्, आफूले जुन देशबाट अवसर पाएको हो, त्यसलाई केही न केही फर्काउन चाहन्छन् । यही भावना उनको सेवा, व्यवसाय र नेतृत्वको मूल आधार हो । उनी राज्यविहीन भएर शरणार्थी शिविरमा हुर्किए । त्यसपछि आप्रवासी बने, काम गरे, नेतृत्व गरे, र अन्ततः अमेरिकी नागरिक बने । आज उनी गर्विलो नागरिकका रूपमा आफूले पाएको अवसरको कदर गर्दै अगाडि बढिरहेका छन् । तर, उनी आफ्नै सफलतामा मात्र सीमित छैनन् । आफूले पाएको लाभ समुदायसम्म कसरी पुर्याउने भन्ने प्रश्न उनी निरन्तर सोधिरहन्छन् ।
यही कारणले उनको जीवनकथा प्रेरणादायी बन्न गएको हो । शरणार्थी शिविरको टहराबाट सुरु भएको यात्रा केवल व्यक्तिगत सफलतामा टुंगिँदैन, त्यो समुदायको उत्थान, आर्थिक सहभागिता र सामाजिक जिम्मेवारीसम्म फैलिन्छ । तिलक पोकवालको जीवनकथा कुनै अन्त्यमा पुगेको छैन । बरू यो अझै विस्तार हुँदैछ । एउटा शरणार्थी बालकले भोगेको पीडा, युवावस्थामा लिएको शिक्षा, परिवारप्रतिको जिम्मेवारी, अमेरिकामा सुरु गरिएको नयाँ जीवन, समुदायका लागि गरेको सेवा र व्यवसायमार्फत देखाएको आत्मनिर्भरता–यी सबै चरणहरूले उनलाई एउटा असाधारण व्यक्तित्व बनाएका छन् ।
उनको कथा भूटानी नेपाली समुदायको साझा कथा पनि हो । यो कथा विस्थापनको हो, तर केवल दुःखको होइन । यो कथा प्रतीक्षाको हो, तर केवल निराशाको होइन । यो कथा पुनर्निर्माणको हो, जहाँ आशा, श्रम र सामूहिक सहकार्यले नयाँ पहिचान जन्माउँछ । समराङको गाउँदेखि खुडुनाबारीको शिविर, काठमाडौंको संघर्ष, मिनेसोटाको पुनर्वास र अहिलेको उद्यमशील यात्रासम्म आइपुग्दा तिलक पोकवाल क्षेत्रीले एउटा कुरा प्रमाणित गरेका छन्, मानिसको मूल्य उसको परिस्थितिले होइन, उसको प्रतिरोध, परिश्रम र उद्देश्यले निर्धारण गर्छ ।
विस्थापनले सपना समाप्त गर्दैन ।
शरणार्थी शिविरले भविष्य रोक्दैन ।
र अवसर पाएपछि, टहराबाट सुरु भएको जीवन पनि सफलताको उज्यालो उदाहरण बन्नसक्छ ।
त्यसैले नेपालीभाषी भूटानी हुनु भनेको गर्व हो ।
यो स्वाभिमान र आत्मनिर्भरताको पहिचान हो ।
युट्यूबको आर्काइवमा ‘सुनसान कोठा र अध्यारी रात’ बोलको गीत बजिरहेको छ ।
अन्त्यमा यदि मधुकर लोहनीको गीतमा सुनसान कोठा र अध्यारी रात पीडाको प्रतीक हो भने, तिलक पकुवालको कथामा त्यही अध्यारो रात आशाको बिहानीमा बदलिएको देखिन्छ । उनका संघर्षले देखाउँछ कि जीवनमा सुनसान रातहरू स्थायी हुँदैनन् । मिहिनेत, धैर्य र समुदायप्रतिको समर्पणले ती रातहरूलाई सफलताको उज्यालो बिहानमा रूपान्तरण गर्न सकिन्छ । त्यसैले तिलक पकुवालको कथा केवल एक व्यक्तिको सफलताको कथा होइन, विस्थापनबाट उठेर नयाँ पहिचान बनाएका हजारौं भुटानी नेपालीहरूको सामूहिक यात्राको प्रतिबिम्ब पनि हो । ‘माने मर्यो जातिको लागि हौ’को भावनाबाट सुरु भएको कथा आज आशा, आत्मविश्वास र उपलब्धिको नयाँ गीत बनेर गुञ्जिरहेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर