सामान्यतया कुनै पनि व्यक्ति, समूह तथा संघसंस्थासँग प्रत्यक्ष भेटघाट गरी कुनै विषयमा केन्द्रित रहेर छलफलमा प्रधानमन्त्री अहिलेसम्म बस्नुभएको थिएन । विदेशी कूटनीतिज्ञहरूसँग भने पातलो भेटघाट गर्ने प्रधानमन्त्री बालेन शाहले यसपटक भने व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गरेर उहाँहरूका समस्या र गुनासा सुन्नुभएको छ । बन्दव्यापार तथा व्यवसाय देशको आर्थिक मेरुदण्ड हुन् । व्यवसायीहरूबाट सञ्चालन भएका व्यवसायबाट आर्जन हुने आर्थिक लाभ नै देशको समृद्धिको आधार हुनेगरेको छ तर वर्तमान सरकार गठन भएयता व्यवसायीहरूलाई हतोत्साही बनाउने काम हुँदै आएको गुनासो उनीहरूको रहेको थियो । सरकारले विभिन्न आरोप लगाएर व्यवसायीहरूलाई पक्राउ गर्ने, थुन्ने, मुद्दा लगाउने जस्ता काम गर्दै आएकोमा व्यवसायीहरू संगठित भई प्रधानमन्त्रीसँग भेटघाट र छलफलमा पहिलोपटक यसरी संलग्न भएका हुन् ।
उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरूसँगको छलफलमा यसपटक भने प्रधानमन्त्री डेढ घण्टा जतिको समय दिएर बस्नुभयो । यस सन्दर्भमा व्यवसायीहरूले आफ्ना विभिन्न गुनासाहरू प्रधानमन्त्री समक्ष राखे र प्रधानमन्त्रीले उनीहरूलाई आश्वस्त बनाउने काम गर्नुभयो । निजी क्षेत्रमैत्री वातावरणको माग गर्दै नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकता दिन व्यवसायहरूले प्रधानमन्त्रीलाई सुझाव दिए । उद्योग व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता, सरकार र निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकता रहेको सुझाव व्यवसायीहरूको थियो ।
उनीहरूले कर्जा प्रवाह बढ्न नसकेको, निजी क्षेत्रको आत्मविश्वास खस्किएको, लगानी बढ्न नसकेको, बैंकमा पैसा जम्मा भएको तर लगानी हुन नसकेको, उद्योगहरू पूर्णक्षमतामा चल्न नसकेका, शेयर बजार लगातार ओरालो लागेकोलगायत विषय प्रधानमन्त्रीलाई विश्लेषण गरेर बुझाएका थिए ।
यसका साथै प्रधानमन्त्रीसँगको भेटघाटका क्रममा व्यवसायीले कतिपय व्यवसायीलाई पक्राउ गरेको, तिनलाई विभिन्न अभियोगमा मुद्दा लगाएको र थुनेको कुरामा विरोध जनाएका थिए । यस क्रममा प्रधानमन्त्रीले उद्योग वाणिज्य क्षेत्रका व्यवसायीका कुरा सुनेपछि उनीहरूलाई आश्वस्त बनाउँदै व्यवसायीलाई दुःख दिने नियत सरकारको नरहेको र केही व्यवसायलाई आरोपका आधारमा पक्राउ गरिएको धारणा राख्नुभएको थियो । उहाँले व्यवसायीलाई आफ्ना व्यवसाय सञ्चालनका लागि निश्चिन्त रही ढुक्क भएर व्यवसायी सञ्चालन गर्न आग्रह गर्दै निजी क्षेत्रका व्यवसायीहरूलाई अर्थतन्त्रको ड्राइभिङ सिटमा राख्ने सरकारको नीति र चाहना भएको कुरा बताउनुभएको थियो । यसबाट निजी क्षेत्र आश्वस्त हुनसक्यो ।
नत्र यस क्षेत्रका व्यक्तिहरूमा एक प्रकारको निराशा र विचलन सुरु भइसकेको थियो । किनभने वर्तमान सरकार गठन भएपछि अब सुधार हुँदै आउला राम्रो होला भन्ने अपेक्षामा रहेका व्यवसायीहरूमा एकाएक नयाँ सरकार गठन भएपछि व्यवसायीलाई झनै दुःख दिने, विभिन्न आरोप लगाउने र पक्राउ गर्ने, थुन्ने, मुद्दा लगाउने गर्नाले उनीहरूमा विचलन आउनु स्वाभाविक थियो । प्रधानमन्त्री र व्यवसायीहरूका बीचमा भएको यो भेटघाट र छलफलले गर्दा निजी क्षेत्रमा देखिएको आशंकालाई चिर्न र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुगेको विश्वास गर्न सकिन्छ । यस उच्चस्तरीय छलफलले गर्दा व्यवसायीहरू उत्साहित बन्न पुगेका छन् र आफूमा भएको आशंका र निराशा हटेको बताउँछन् ।
प्रधानमन्त्रीले सरकारको चाहना निजी क्षेत्रमाका व्यवसायीहरूमा भएको विकृति र विसंगतिलाई हटाई सुधार गर्ने रहेको बताउनुभएको छ । जसले गर्दा निजी क्षेत्रलाई हतोत्साहित बनाउँदै अगाडि बढ्न खोजेको यस सरकारका क्रियाकलाप सुरुवाती चरणमा देखापरेका थिए । त्यसमाथि निजी क्षेत्रका व्यवसायीमा भएको आशंका अहिले हटेको छ । प्रधानमन्त्रीको प्रतिबद्धताले उनीहरूमा एक प्रकारको सकारात्मक ऊर्जा मिलेको पाइएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निर्धारित राजस्व लक्ष्य हासिल गर्न दिनुभएको निर्देशनले निजी क्षेत्रका व्यवसायीहरूलाई आफ्ना व्यवसाय निश्चिन्त रूपमा सञ्चालन गर्न सहयोग पुग्ने देखिएको छ । डा.वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन जुन निर्देशन दिनुभएको छ त्यसले भन्सार, कर र आम्दानी बढ्ने कुरामा विश्वास गर्न सकिन्छ ।
प्रधानमन्त्री बालेन शाहले व्यवसायीहरूसँग भेटघाटमा आफ्नो सरकारको निजी क्षेत्रका व्यवसायीहरूप्रति अमर्यादित व्यवहार गर्ने कुनै नीति नरहेको बताउनाले सरकार र निजी क्षेत्रबीचमा खडा भएको आशंकाको पर्खाल हटेको छ र व्यवसायीहरूलाई आफ्ना व्यवसाय सुचारु गर्न प्रोत्साहन प्राप्त भएको छ । व्यवसायीहरूलाई प्रधानमन्त्रीले नै सिंहदरबारमा डाकेर यसरी छलफल गर्नुभएको हो । आगामी आर्थिक वर्षको बजेटसँग मौद्रिक नीति सार्वजनिक भएसँगै प्रधानमन्त्रीले यस्तो प्रयास गर्नुभएको हो । उहाँले व्यवसायीहरू सामु सरकारका तर्फबाट स्पष्टीकरणको शैलीमा यसरी आफ्नो नीति निजी क्षेत्रका व्यवसायीलाई दुःख दिने खालको नभएको हुँदा आफ्ना व्यवसाय ढुक्क भएर सञ्चालन गर्न आग्रह गर्नुभयो ।
व्यवसायीहरूका लागि प्रधानमन्त्रीको यस्तो प्रयास तथा भनाइ ऊर्जा प्राप्त भए समान भएको छ । व्यवसायीहरूले यसअघिका सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीहरूलाई धरपकड गर्ने, मुद्दा मामिला लगाउने र थुन्ने नगरेको तर रास्वपाको वर्तमान सरकार आएयता व्यवसायीहरूलाई यसरी निरन्तर पक्राउ गर्ने र थुन्ने गरेको गुनासो उनीहरूले गरेपछि प्रधानमन्त्रीले यस सरकारले पनि नीतिगत रूपमा यसो गर्ने उद्देश्य नराखेको तर गुनासो र उजुरीका आधारमा केही व्यवसायीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताउनुभएको थियो । निजी क्षेत्रका उद्योगी व्यवसायीहरूसँग प्रधानमन्त्री आफैंले उनीहरूलाई बोलाएर यसरी गरिएको छलफलपछि अब भने सरकार र निजी क्षेत्रका व्यवसायीबीच खडा भएको अविश्वासको पर्खाल हटेको विश्वास गर्न सकिन्छ ।
व्यापार व्यवसाय नै राष्ट्रको आर्थिक उत्थानको पहिलो पाइलो हो भन्ने ठानेर यस क्षेत्रका व्यवसायीहरूप्रति सम्मानित व्यवहार गर्न सकेकाखण्डमा निश्चय पनि आगामी दिनहरूमा यस प्रकारको अविश्वासको बादल लाग्नेछैन र निश्चिन्त भएर उनीहरूले आफ्ना व्यापार व्यवसाय सञ्चालन गर्न पाउनेछन् । यो मानव सभ्यताको प्राचीनकालदेखिकै मान्यता हो । त्यसैले पौराणिक कालमा होस् वा प्राचीन, माध्यमिक तथा आधुनिक जुनसुकै समयमा किन नहोस् मानिसहरू व्यापार व्यवसाय गर्न धेरै कठिन चुनौतीहरूको सामना गर्दै महिनौं लगाएर टाढा टाढासम्म पुगेका घटना छन् । त्यस कारण व्यवसाय र व्यवसायीहरू निरुत्साहित हुनुहुँदैन र तिनले आफ्ना व्यवसायहरू निर्वाध रूपमा सञ्चालन गर्न पाउनुपर्छ । वर्तमान सरकारलाई पनि अब यस कुराको बोध भएको हुनसक्छ जुन सकारात्मकतातर्फको पहिलो पाइलो हो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर