रूप, रङ र आकृतिका हिसाबले कुनै वस्तु सुन्दर र अर्को कुनै वस्तु कुरूप हुनसक्छ तर त्यसमा अन्तर्निहित गुणका हिसाबले कुनै पनि वस्तु बिल्कुल असल र अर्को कुनै वस्तु बिल्कुल खराब हुँदैन । असल र खराब मानव निर्मित राजनीतिक, सामाजिक र सांस्कृतिक मूल्य मान्यताले निर्धारण गर्छ । यस्ता मूल्य मान्यता इतिहास, सामाजशास्त्र र साहित्यमा पनि प्रतिबिम्बित हुन्छन् । कतिपय राजनीतिक चिन्तन र सांस्कृतिक व्यवहार एकअर्कामा गाँसिएका हुन्छन्, त्यसैले गाँसिएको एक पक्षले अर्को पक्षलाई प्रभाव पारिरहेकै हुन्छ ।
राजनीति र संस्कृतिबीच घनिष्ठ सम्बन्ध हुन्छ भन्ने कुरा धेरै व्याख्या गरिरहनु परेन । यो सम्बन्ध झल्काउने साहित्यिक कृतिहरूमध्ये प्रसिद्ध बेलायती राजनीतिक लेखक जर्ज अर्वेलको एनिमल फार्म (१९४५) पनि एक हो । अर्वेलका अनुसार राजनीतिबाट उम्किने कुनै ठाउँ छैन किनभने सबै कुरा राजनीतिक चरित्रका हुन्छन् । अर्वेल भन्छन् : राजनीतिज्ञहरूले राजनीतिक फाइदाका लागि अनुचित रूपमा भाषा हेरफेर गरेर निजी विचारधारालाई विश्वव्यापी सत्य हो भन्ने भान पार्छन् ।
गणतन्त्रको आगमनपछि पनि अन्तरदलीय अनुचित प्रतिस्पर्धा र आन्तरिक दलीय कलहले राजनीति नै बदनाम भयो, दलका प्रमुख नेताहरूको विश्वसनीयता झन् परैको कुरा । लोकतान्त्रिक आदर्शहरू समयक्रममा भ्रष्ट हुँदै गएकाले संवैधानिक राजतन्त्रको विकल्पमा समेत गणतन्त्रको स्थापना गर्न थप विद्रोह भयो । लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि भयो तर त्यसले पनि बाटो बिरायो ।
अर्वेलको यो उपन्यास एक राजनीतिक व्यंग्य हो जसले जनावरहरूको म्यानर फार्मको हेरचाह गर्ने आफ्नो मानव मालिक जोन्सविरुद्धको विद्रोहको वर्णन गर्दछ । यो कथाअनुसार फार्मको मालिक जोन्स यति अल्छे र गैरजिम्मेवार छ कि ऊ आफ्ना गाईवस्तुलाई खुवाउन नै बिर्सन्छ । मालिक आफ्नो गाईवस्तुको आवश्यकताप्रति असंवेदनशील भएको, तिनका आवश्यकता पूरा गर्न असफल भएकाले जनावरहरूले एक बैठक गर्छन् र उसलाई फार्मबाट बाहिर निकाल्ने निर्णय गर्छन् । नेपोलियन र स्नोबल नामका सुँगुरहरूको नेतृत्वमा सञ्चालित त्यस विद्रोहले जनावर र मानिसबीचको फार्मयार्डको भयानक असमानताहरू हटाउने वाचा गर्दछ ।
दुई खुट्टामा हिँड्नेहरूले गर्ने अन्यायविरुद्ध चार खुट्टामा हिँड्ने सबैलाई फाइदा पुर्याउनका लागि म्यानर फार्मको पुनः नामकरण गरेर एनिमल फार्म राखिन्छ । तर, केही समयपछि विद्रोहको आदर्श भ्रष्ट हुन्छ र सामान्य जनावरहरूको आधारभूत आवश्यकता अन्ततः बिर्सिन्छ । ‘सबै जनावरहरू समान छन्’ भन्ने सुरुवाती वाचा केही समयमै ‘सबै जनावर समान छन् तर केही जनावरहरू अरूभन्दा बढी समान छन्’मा परिणत हुन्छ, जसले सुँगुरहरूलाई घोडा र गधाहरू भन्दा उच्चस्थानमा राख्छ । एनिमल फार्म पूर्णआदर्शमा चल्छ भन्ने लाग्छ । यो स्वर्गतुल्य छ भन्ने पनि लाग्छ ।
एनिमल फार्मको कथामा प्रतिबिम्बित राजनीतिलाई नेपाली राजनीतिक क्रान्तिसँग पनि तुलना गर्न सकिन्छ । सन् १९५० को राणा शासनविरुद्धको लडाइँपश्चात् राजतन्त्र हावी भयो । दश वर्षमै निरंकुश पञ्चायत प्रणालीको सूत्रपात गरी निरंकुश राजतन्त्र आयो । तीस वर्षसम्म शासक र शासितहरूको अन्यायपूर्ण असमानताको विरोध गर्दै सन् १९९० मा लोकतान्त्रिक आन्दोलन भयो तर लोकतन्त्रको स्थापनापश्चात् पनि लोकतान्त्रिक आदर्श स्थापित हुनसकेन । निर्वाचित लोकतान्त्रिक सरकार गठन भएको केही समय नबित्दै सोही दशकको मध्यमा सत्तारूढ दलमा आन्तरिक अशान्ति सुरु भयो र त्यसपछि गठन भएका सरकारहरू पनि स्थिर भएनन् ।
गणतन्त्रको आगमनपछि पनि अन्तरदलीय अनुचित प्रतिस्पर्धा र आन्तरिक दलीय कलहले राजनीति नै बदनाम भयो, दलका प्रमुख नेताहरूको विश्वसनीयता त झन् परैको कुरा । लोकतान्त्रिक आदर्शहरू समयक्रममा भ्रष्ट हुँदै गएकाले संवैधानिक राजतन्त्रको विकल्पमा समेत गणतन्त्रको स्थापना गर्न थप विद्रोह भयो । लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि भयो तर त्यसले पनि बाटो बिरायो । लोकतान्त्रिक गणतान्त्रिक आदर्शहरू भ्रष्ट हुँदै गए र जनताबीच फेरि असन्तुष्टि बढ्दै गयो । फलस्वरूप भर्खरैको निर्वाचनमा लोकतन्त्र र गणतन्त्रका लागि बलिदानी र संघर्ष गरेका दलहरू पराजित भए । यी सबै बेथिति हटाएर थिति बसाल्दै सुशासन कायम गर्ने वाचा गर्दै नयाँ सरकारको गठन भएको छ । यो सरकारले के कति गर्नसक्छ हेर्न बाँकी छ ।
एनिमल फार्मको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको शासन प्रणालीमा सबैभन्दा शक्तिशाली व्यक्ति बन्ने नेताको भयानक महत्त्वाकांक्षा हो । शासक जनावरको भ्रष्ट मनोवृत्ति मानव नेताको शक्तिशाली हुने महत्त्वाकांक्षा जस्तो नहुनसक्छ, तथापि यो लोकतन्त्रको जीविकोपार्जनका लागि कम हानिकारक छैन । सारमा अर्वेलको एनिमल फार्मको राजनीतिक सन्देश आज पनि सात दशकअघि जत्तिकै मान्य छ । दोहोर्याउनु पर्दैन कि यो नेपाली सन्दर्भमा पनि त्यति नै मान्य छ जति यो यसको प्रकाशनको समयमा युरोपेली सन्दर्भमा थियो । अर्वेलको एनिमल फार्मको सार केवल खोक्रो राजनीतिक नारामात्र होइन तर मानव जीवनका लागि अर्थपूर्ण सन्देश हो ।
जबसम्म कार्यकर्ताहरू आफ्ना कार्यकारी नेताहरूप्रति मात्र बफादार रहन्छन् र जबसम्म आमजनता स्वतन्त्र मतदाताको रूपमा प्रत्येक चुनावमा निश्चित राजनीतिक दललाई मात्र मतदान गर्न इच्छुक हुन्छन् वा शक्तिशाली राजनीतिक दललाई मात्र मतदान गर्न उद्यत् हुन्छन् तबसम्म राजनीतिक संस्कृति विकृत हुन्छ र आमजनताले आशातीत उपलब्धि हासिल गर्न सक्दैनन् ।
इतिहासमा भएका प्रत्येक आन्दोलन र राजनीतिक परिवर्तनको यस्तै हालत देखिएको छ । साम्यवादी भावनाबाट ओतप्रोत भएर लेनिनले रुसमा बोल्सेभिक क्रान्तिको नेतृत्व गरेका थिए होलान् तर समयक्रममा एनिमल फार्ममा नेपोलियनको नमुना जोसेफ स्टालिनको नेतृत्वमा रुसी स्टालिनवाद भ्रष्ट भएको थियो । १९५० को दशकको मध्यतिरको युरोपेली सन्दर्भमा लोकतान्त्रिक समाजवाद आउँदै थियो जसलाई अर्वेलले समर्थन गरेजस्तो देखिन्थ्यो । तात्कालीन सोभियत संघमा सञ्चालित अधिनायकवादी सरकारको विरोध गर्नु उचित थियो तर लोकतान्त्रिक समाजवादको कट्टर समर्थकका लागि हिटलरको नेतृत्वमा रहेको नाजीवाद र अलि पहिले मुसोलिनीको नेतृत्वमा रहेको फासीवादको बारेमा मौन बस्नु अनुचित थियो ।
कुनै राजनीतिक बहस विचारधाराबिनाको हुँदैन । अर्वेल पनि वैचारिक रूपमा कुनै राजनीति विचारधाराबाट निर्देशित भएर उपन्यास लेखेका हुन सक्छन् तथापि उनले उठाएका सवाल धेरै हदसम्म सार्वकालिक छन् किनभने तिनले राजनीति र संस्कृतिमा उत्पन्न हुनसक्ने विकृति र विसंगतिलाई साहित्यिक कृतिमार्फत उजागर गरेका छन् । यसरी नेपाललगायत विश्व राजनीतिमा पटकपटक भएका आन्दोलनमा सुनौलो भविष्यको वाचा गरिने तर ती वाचा पूरा गर्नुको सट्टा निजी स्वार्थ सिद्ध गर्नका लागि फोहोरी खेल सुरु हुने प्रवृत्ति नै राजनीतिको मूल समस्या हो । यो समस्याको निराकरण गर्न कारणहरूको विश्लेषण गर्नु सान्दर्भिक हुन्छ ।
एउटा प्रमुख कारण मानवीय स्वभाव हो भन्न सकिन्छ जुन प्राकृतिक स्वभावको हुन्छ र टार्न चाहेर टार्न सकिँदैन । मानिस अन्य जनावारजस्तै सद्गुण र दुर्गुणले युक्त हुन्छ यद्यपि मात्रामा फरक । त्यसैगरी कुनै मानिसमा सद्गुण बेसी र दुर्गुण कम अनि अर्को कुनै मानिसमा दुर्गुण बेसी र सद्गुण कम हुन्छ । साह्रै थोरै मानिसलेमात्र दुवै गुणलाई सन्तुलनमा राखेका हुन्छन् । अर्वेलको एनिमल फार्मका नेतृत्वदायी जनावरमा जसरी सुख सुविधाको स्वार्थ दुर्गुणको रूपमा देखियो त्यसैगरी पोलिटिकल फार्ममा केही राजनीतिज्ञहरूमा पनि सुखसुविधाको स्वार्थ दुर्गुणको रूपमा देखियो । यस्तो मानवीय स्वभाव राजनीतिमा देखापर्दा केही व्यक्तिलाई सुखसुविधा भए पनि बाँकी जनतालाई दुःख हुन्छ ।
दोस्रो कारण संस्कृतिसँग सम्बन्धित छ जुन जनावरमा नभएर मानवमा मात्र हुन्छ । मानिसमात्र त्यस्तो जीव हो जसले सुसंस्कृति र कुसंस्कृति आफैं निर्माण गर्नसक्छ । त्यही संस्कृतिले उसलाई पाल्ने वा नाश गर्ने हुनसक्छ । सुसंस्कृत समाजको निर्माण कार्यमा राज्य सञ्चालन गर्ने नेताहरू बढी जिम्मेवार हुन्छन् तर समाजका अगुवा, आमजनता पनि जिम्मेवार हुनुपर्छ । यस अर्थमा हामी कार्यकारी नेताहरूलाई मात्र दोष दिन सक्दैनौं । धेरै हदसम्म आमजनता र विशेषगरी पार्टी कार्यकर्ताको दास मनोवृत्ति वर्तमान अवस्थाका लागि जिम्मेवार छ ।
जबसम्म कार्यकर्ता आफ्ना कार्यकारी नेताहरूप्रति मात्र बफादार रहन्छन् र जबसम्म आमजनता स्वतन्त्र मतदाताको रूपमा प्रत्येक चुनावमा निश्चित राजनीतिक दललाई मात्र मतदान गर्न इच्छुक हुन्छन् वा शक्तिशाली राजनीतिक दललाई मात्र मतदान गर्न उद्यत् हुन्छन् तबसम्म राजनीतिक संस्कृति विकृत हुन्छ र आमजनताले आशातीत उपलब्धि हासिल गर्न सक्दैनन् । त्यसैगरी जीवनको गुणस्तर सुधार गर्ने र राष्ट्रमा समृद्धि ल्याउने जनताको सपना अधुरै रहन्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर