मानिसको स्वभाव विचित्र छ । सबैलाई थाहा छ रक्सी खाएमा कलेजो क्यान्सरको जोखिम हुन्छ । नेपालमा त विज्ञापन गर्नसमेत रोक लगाइएको छ तर मानिसले सबैभन्दा बढी पिउने पेयपदार्थ नै घरेलुदेखि, राष्ट्रिय- अन्तर्राष्ट्रिय ब्राण्डको रक्सी नै हो । मानिसलाई चुरोट, खैनी, गुट्काले भयानक शारीरिक घात हुन्छ भन्ने जानकारी छ तर उसको तलतल यथावत् छ र व्यापार चलिरहेको छ । कोकिन, हिरोइन, गाँजाका त कुरै नगरौं । बरू गाँजा औषधि मानिन्छ । गाँजा चाहिँ पूर्ण निषिद्ध छ । लुकेर खानेहरू त शासनमा हुन् कि सडकमा सर्को लगाइरहेकै हुन्छन् । जातीय विभेद र छुवाछूत अमानवीय हो, बालबालिकाको शोषण, अधिकारको हनन् अपराध हो, महिला हिंसाको दुष्कृति पूर्ण अपराध हो अनेक सत्ज्ञान र सत्विचारहरू प्रशस्त छरिएका छन् तर समाजले त्यसप्रति ओठले स्वीकार गरे पनि मनपेटले भने स्वीकार गरेको देखिँदैन ।
सन्दर्भ आठ दशकदेखि निरन्तर संघर्षको पर्याय भएको वृद्धवृक्षधारी नेपाली कांग्रेसको हो । अहिले कांग्रेस निर्माण गर्नेहरू र कांग्रेस पढ्नेहरूका बीच चर्को द्वन्द्व चलिरहेको छ । कांग्रेस नदेखेका, नभोगेका, घामपानी नसहेकाहरू एकापट्टि र अर्कोपट्टि निरन्तर कांग्रेसका नाममा बाजेबराजुदेखि नै घामपानी सहेर आउनेहरूको रामरमिता छ । को सही को गलत तमासेहरूको आपसी प्रतिस्पर्धा छ । खेलाडी मैदानमा छन् तर झगडा गर्ने, मर्न-मार्न तम्सिनेहरू भने दर्शक दीर्घाको आश्रयमा छन् ।
वर्तमान राजनीतिक व्यवस्था भनेको हेपिएर, चेपिएर, पीडा खपेर, कुनै नेताको पिल्साइमा परेर वा उसको महत्त्वाकांक्षाको दबाबमा बसिरहनुपर्छ भन्ने सिद्धान्तविपरीत छ । असहमतहरू अलग हुनसक्छन्, सहमतहरू एक ठाउँ हुन्छन् । जय-पराजयको अर्थ होइन मर्यादाको प्रश्न हो । जहाँ मर्यादालाई भिक्षा जस्तो गरी माग्नुपर्छ, अनुनय गरिरहनुपर्छ, त्यस ठाउँमा बस्नु उचित हुँदैन ।
यो पंक्तिकार खेल खेल्न जाँन्दैन । रेफ्री पनि बन्न सक्दैन । दर्शक हुने ल्याकत पनि छैन । त्यसैले दर्शक दीर्घाभन्दा निकै पर कुनामा बसेको हुनाले दुबैतिरका खेलाडीहरूको खेल नियाल्न पाइरहेको छ । कुनै व्यक्तिकाप्रति होइन विषयवस्तुप्रति केन्द्रित भएको हुनाले आफूलाई दुबै पक्षको पीडा वा आनन्दमा सहभागी हुनुपरेको छैन । यो बहुदलीय पद्धति हो मन लागे मिलेर बस्ने मन नलागे, कुरा नमिले पृथक हुने पद्धतिकै लागि लामो संघर्षको कथा बनेको हो । यसमा जय पराजयको अर्थ हुँदैन ।
(१) किशुनजी : जय पराजयको प्रश्नमा :
२०४८ को संसदीय निर्वाचनमा पदासीन प्रधानमन्त्रीको पराजय भयो । हामी धेरैले धेरै पटक देख्यौं पराजयको सम्भावना देखायौं पनि तर समर्थनको मतान्धतामा रहेका र अन्तर्घातको तानाबाना बुनिरहनेहरूमा यो दृश्य सचेतताको कुनै अर्थ भएन । त्यो समय संघर्षका नायक, हिंसाप्रति असहमत, अहिंसा र शान्तिको रुद्राक्षको माला जप्ने, सादगी कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा भारतसँगको सम्बन्ध सामान्यीकरण, देशमा शान्तिसुव्यवस्था, संविधान जारी र निर्वाचन भए तर भट्टराई हार्नुभयो अथवा हराइनुभयो । म त्यो समय रेडियो नेपालको कार्यक्रम घटना र विचार सञ्चालन गर्थें । परिणामको अर्को दिन म र रेडियोकर्मी अग्रज कृष्ण केसी बालुवाटार पुग्यौं ।
कृष्णसँग ठूलो रेडियो रेकर्डर पनि थियो । हामी पुग्दा किशुनजी तल बैठक कोठामा नै भूइँमा घुँडा मारेर धोती फेरेर बस्नुभएको रहेछ, भेट भयो । उहाँले प्रसन्नतापूर्वक हामीलाई बस्न आग्रह गर्नुभयो । हामीलाई लागिरहेको थियो : किशुनजीको मन खिन्न होला । हामी भने दुई दिनदेखि निदाउन सकेका थिएनौं । त्यही कुरा भन्यौं तर मुसुक्क हाँस्दै मानौं केही पनि नभएजस्तो गरी किशुनजीले भन्नुभयो ः मलाई पनि एक क्षण, खाली एक क्षण चिसो अनुभव भयो तर त्यो एक पल पनि रहेन । मलाई लाग्यो भगवान्को इच्छा हो । मैले अझै पनि जनताका लागि सेवा गर्न पुगेको रहेनछ ।
किशुनजीले उत्साहित हुँदै र सम्बोधित हुँदै भन्नुभयो : हेर्नुहोस् बाबुहरू, मलाई कत्ति पनि पराजयको चिन्ता छैन किनभने मैले हारेकै छैन । मेरो विगत तीस वर्षदेखिको संघर्षको लक्ष्य थियो : देशमा जित र हार हुने, प्रतिस्पर्धा हुने राजनीतिक व्यवस्था हुनुपर्छ । अहिले चुनाव हुने, प्रतिस्पर्धा गर्ने, संगठन गर्ने, बोल्ने व्यवस्था आएको छ । यो मेरो संघर्षको विजय हो । मजस्ता हजारौं साथीहरूको त्याग र बलिदानको विजय हो । चुनावमा हारजित हुने व्यवस्था ल्याउनु नै मेरो विजय हो । म हारेको छैन मेरो लक्ष्य विजयी भएको छ ।
किशुनजीका यी वाक्यहरू मेरा कानमा अहिले पनि गुञ्जिरहे जस्तो लाग्छ । सबै मानिस किशुनजी जस्ता हुँदैनन् तर पनि वर्तमान राजनीतिक व्यवस्था भनेको हेपिएर, चेपिएर, पीडा खपेर, कुनै नेताको पिल्साइमा परेर वा उसको महत्त्वाकांक्षाको दबाबमा बसिरहनुपर्छ भन्ने सिद्धान्तविपरीत छ । असहमतहरू ऋलग हुनसक्छन्, सहमतहरू एक ठाउँ हुन्छन् । जय पराजयको अर्थ होइन मर्यादाको प्रश्न हो । जहाँ मर्यादालाई भिक्षाजस्तो गरी माग्नुपर्छ, अनुनय गरिरहनुपर्छ, त्यस ठाउँमा बस्नु उचित हुँदैन । यसकारण नेपाली कांग्रेसमा मर्यादाको प्रश्न हो भने यसको उत्तर बाक्लो दालमा नै पुगेर टुंगिनसक्छ । होइन सबैको मर्यादा सुरक्षित गर्न जिम्मेदारहरू कृतसंकल्पित छन् र अग्रसर हुन्छन् भने कांग्रेसबीचको उत्पन्न मतभेदको समाधान हुन्छ र हुनुपर्छ भन्ने मलाई पनि लाग्छ ।
(२) विपरीतहरूबीच एकता केही उदाहरण :
बीपी कोइरालाले २०३३ अघिको सशस्त्र आन्दोलन परित्याग गरी नेपाल फर्कँदा मेलमिलाप र एकताको सिद्धान्त, नीति, रणनीति जे भने पनि प्रतिपादन गर्नुभएको थियो । आफैंलाई मार्न तयार राजासँग आफ्नो घाँटी जोडिएको विचार प्रकट गर्नुभएको थियो । २०६३ अघिको दश वर्षका घटनामा नेपाली कांग्रेस र माओवादीका बीचमा वार कि पारको, जीवन मरणको, हत्या प्रतिहत्याको खेल चलेको थियो तर दुबैथरी बसेर समाधान खोजे भने यो त एउटा पार्टीभित्रका ५४ र ४६ को मात्र समस्या हो । यो अंक पनि संयोग भनौं कि के भनौं २०३७ सालमा सम्पन्न जनमत संग्रहमा बहुदल पक्षको ४६ र निर्दलीय पञ्चायत पक्षको ५४ प्रतिशत जस्तो भएछ ।
असहमत पक्षका कृष्ण सिटौला भन्दै हुनुहुन्थ्यो : बीपी, गणेशमान सिंह र महेन्द्रनारायणको लिगेसी जहाँ छ त्यही हुन्छ कांग्रेस । यो निश्चय पनि भावनात्मक कुरा हो । अनि केही पहिले सभापति गगन थापा स्वीकार गर्दै हुनुहुन्थ्यो : विशेष महाधिवेशनमा सहभागी नभएका तर १४औं महाधिवेशनमा निर्वाचित नेताहरूको ठूलो पंक्ति बाहिर छ । म उहाँहरूलाई सम्मानका साथ कसलाई वरिष्ठ वा अरू सम्मानजनक स्थान दिएर समावेश गर्न तयार छु । मेरो प्रस्ताव हो यो । प्रेमबहादुर खड्काको नेतृत्वमा बनेको निर्वाचन समितिमा अरू को को राख्दा फेयर भयो भन्ने लाग्छ बसौं । म तयार छु ।
यो ठोस स्वीकारोक्ति हो तर अध्यावधिक नगर्नेहरू कोही पनि कांग्रेस हुँदैनन् भन्ने सभापतिकै भनाइले यस भनाइलाई खण्डित गर्छ । बीपी कोइरालाको लिगेसीभित्रको एक डा.शेखर कोइरालाले असार २५ गतेसम्मको समयसीमा तोक्नुभएको छ । उहाँका पाँच सूत्रहरू छन् पूरा हुनुपर्ने । राति १२ बजेसम्मको डेटलाइन हुनाले त्यसबारे यो आलेखमा केही टिप्पणी गरिएन । मैले हिजो प्रकाशित लेखमा भनेको छु र पुनः भन्छु जेजस्ता सर्त् वा सूत्र भए पनि पार्टी एकता सभापति गगन थापाले चाहेमात्रै हुन्छ । उहाँले नचाहेसम्म हुँदैन । यदि उहाँ आफैं निर्णायक हुनुहुन्छ भने म ठोकुवा गर्दै भन्नसक्छु : कांग्रेसमा देखिएको समस्याको सहज अवतरण हुने छ ।
(३) सहज अवतरणका लागि केही प्रस्ताव :
म यहाँ मलाई लागेका सम्भाव्य प्रस्तावमात्रै प्रस्तुत गर्दैछु । सहमत हुने वा नहुने त्यो पार्टीका नेताहरूमा निर्भर गर्दछ । यी केही प्रतिनिधिमूलक प्रस्तावमात्र हुन् ।
(क) मलाई लागेको अवतरणको पहिलो आधार हो : विदेशमा गुमनाम बसेका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश आगमन । उहाँकै कारण अहिले धेरै समस्या देखिएका छन् र सिंगो कांग्रेसपंक्ति र विशेष गरेर उहाँका विगतका सबै सहयोगी सहकर्मीहरू अन्योलमा देखिन्छन् । देश फर्केर यदि कानुनको सामना गर्नुपर्ने भए र समाधान खोज्नुपर्ने भए तयार हुनु बुद्धिमानी हुनेछ । राज्यका अनेक जिम्मेदारहरू संसारका कतिपय विकसित वा अविकसित देश जहाँका भए पनि अनेक प्रकरणमा मुछिएर कानुनी कारबाहीको, अनुसन्धानको सामना गरेका छन् भने देउवा, उहाँकी पत्नी र परिवार भाग्नु वा लुक्नुको कुनै अर्थ छैन । उहाँलाई कारबाही नै हुन्छ भन्ने पनि छैन ।
(ख) त्यसपछि दोस्रो आधार हुनसक्छ : देउवासहित अरू नेताहरूसँग वर्तमान कार्य समितिका सभापतिसहितका नेताहरूको सम्वाद । वादेवादे जायते तत्वबोध भन्छन् । सम्वादहीनताको अर्थ र परिणाम हो ः समस्याको विकास ।
बीपी कोइराला भन्ने गर्नुहुन्थ्यो, यदि यो देशको नियतिमा विघटन नै लेखेको छ भने मेरो प्रयास निरर्थक पनि हुनसक्छ । जे हुनुपर्ने हो त्यही हुनेछ । आज बीपीको त्यो नियति नेपाली कांग्रेसको जीवनमा पनि दोहोरिनसक्छ । हामीले त भन्ने हो नियतिले जे भन्छ त्यही हुने हो ।
(ग) १४औं महाधिवेशनको कार्य समितिले विशेष महाधिवेशनलाई समर्थन गर्ने र अदालतको निर्णयको सम्मान गर्ने । जसबाट विशेष महाधिवेशन पक्ष र १४औं महाधिवेशन पक्ष भन्ने लक्ष्मण रेखाको अन्त्य हुन्छ र सबैका साझा सहमति र सहमतिको नयाँ मार्ग खुला हुन्छ ।
(घ) १४औं महाधिवेशनबाट कार्य समितिमा रहेका १८८ जनामध्ये विशेष महाधिवेशनपछि गठित समितिमा ७७ जना रहेका छन् । बाँकी १११ जनालाई सम्पूर्ण रूपमा कार्य समितिमा समावेश गर्ने । यो अल्पकालीन भएको हुनाले कुनै समस्या हुनेछैन । राजनीतिक समझदारीका सन्दर्भमा कानुन र विधान गौंण हुनेगरेको विगत छ । ०६३ साल माघ १ गते प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निर्वाचनबेगर सहमतिका आधारमा तत्कालीन माओवादीका ८३ जनालाई संसद्मा एकैपटक मनोनयन गर्नुभएको थियो । त्योमात्रै होइन संविधानको कुनै आधारबेगर ०६३ वैशाख ११ गते संसद्को पुनर्स्थापना भएको थियो । विधानको धर्सोलाई असहमतिको विराट आधार विवादका समयमा बनाइरहनु पर्दैन । यस्तोमा विवेकसम्मत र आवश्यकताका आधारमा निर्धारण हुन्छ ।
जस्तो पछिल्लो उदाहरण २०८२ भदौ २४ पछि सुशीला कार्कीको प्रधानमन्त्रित्वदेखि ०७९ मा गठित संसद्को विघटन हुँदै फागुन २१ को निर्वाचन कुन विधान टेकेर भएका थिए र नेपाली कांग्रेसका सभापतिसहित विधिका पक्षमा विशेष महाधिवेश नगर्नेहरूले कसरी त्यो विधानविपरीतको राजनीतिक प्रक्रियामा सहभागी भए ? आवश्यकताको सिद्धान्त यही नै होला । कांग्रेसका हकमा पनि यो लागू हुनुपर्ने हो । १११ जनालाई समावेश गर्दा यदि सभापति पक्षको बहुमत पुग्दैन भने बहुमत पुर्याउने गरी आफ्नो पक्षमा संख्या थप गर्दा गलत हुँदैन होला ।
(ङ) १५औं महाधिवेशन तयारी समिति, निर्वाचन समिति, अनुशासन समिति, सदस्यता निकर्क्यौल समिति, जस्ता सािमतिहरू हुन् अन्य विभाग र प्रतिष्ठानहरू हुन् बहुमत संख्या सभापतिको राखेर अरू मिलान गर्ने । जसबाट पार्टीमा विभाजनका रेखाहरू मेटिँदै जाने र घुलमिल हुँदै जानेछन् ।
(च) अध्यावधिक गरिएका र विगतमा १५औं महाधिवेशनका लागि तय गरिएका सदस्यहरूलाई सहमतिमा समान अवसर दिने, अथवा असहमत पक्षले महाधिवेशनमा सहभागी हुने अवस्था भएपछि अध्यावधिक गरेर अहिलेको विशेष महाधिवेशन पक्षको आग्रह र निर्णयलाई समेत सम्मान गर्ने । यसो भएमा तँ कुटेझैँ गर म रोएजस्तो गर्छु अर्थात् साप पनि मर्ने लाठी पनि नभाँचिने हुनसक्छ ।
(छ) नेपाली कांग्रेसले कतिपय परिवर्तनका आधारहरूलाई पुनरावलोक गर्नुपर्ने हुनसक्छ । त्यो समय पनि आएको हुँदा २०६३ यता उसले वरण गरेका कतिपय रणनीति र पहिचानधारलाई पनि मूल्यांकन गर्ने समय आएको हो कि ?
(४) नभएमा नियतिसँगै रामराम :
यसरी यदि कांग्रेसमा दुवै पक्षको समझदारीबाट १५औं महाधिवेशन भएमा त्यसमा हुने निर्वाचनमा को जित्छ को हार्छ प्रतिनिधिहरूकै विवेकको विषय हुनेछ र कांग्रेसमा सहज वातावरण बन्नसक्नेछ । बीपी कोइराला भन्ने गर्नुहुन्थ्यो : यदि यो देशको नियतिमा विघटन नै लेखेको छ भने मेरो प्रयास निरर्थक पनि हुनसक्छ । जे हुनुपर्ने हो त्यही हुनेछ । आज बीपीको त्यो नियति नेपाली कांग्रेसको जीवनमा पनि दोहोरिन सक्छ । हामीले त भन्ने हो नियतिले जे भन्छ त्यही हुने हो । नियतिविपरीत छैन र सभापति आफू निर्णायक छन् भने कांग्रेसमा मिलनबिन्दु भेटिनेछ, होइन भने रामराम मात्रै भन्ने हो ।







१) राम्रो छ बिपिका बिचार महान छन्
२) नेपाली राजनितिमा गिरीजाप्रसाद कोइरालाको आगमन, बिचार / सिद्धान्त नमिल्नेहरुको समान्य अवस्थाको गठबन्धन अहिलेको नतिजा हो
३) समयानुकूल परिवर्तन हुन नसक्नु
४) केहि झुण्ड वाहेक बाह्य समग्र जनताको गुनासो प्रति सचेत नहुनु
५) समयानुकूल परिवर्तन परिमार्जन हुन नसक्नु,
६) कानुन निति नियम बिपरित राज्य संचालन गर्नु
७) बिवेधकारी व्यवहार, मुल्याङ्कनको कमि,नाता कृपावाद,फरियावाद, अनियमित भ्रष्टाचार,असल त्यागि कंग्रेस भन्दापनि जुनियर कनिष्ठ आयातित व्यक्तिलाई नियम बिपरित भित्राउनु यस्तै यावत कारण थुप्रै छन ।
८) गलत मूल्याङ्कन