काठमाडौं । नेपालभर सञ्चालनमा रहेका ५५० भन्दा बढी सामुदायिक क्याम्पसहरूको साझा संस्था नेपाल पब्लिक क्याम्पस संघले आफ्नो ३६औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले सामुदायिक क्याम्पसहरूले नेपालको उच्च शिक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै तिनको संस्थागत सुदृढीकरणमा राज्यले थप प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
संघका अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रोफेसर डा. भोला थापा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रोफेसर डा. तीर्थराज खनियाँ, प्रोफेसर डा. दीपक अर्याल, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति तथा संघका पूर्व अध्यक्ष प्रोफेसर डा. प्रेमनारायण अर्याल, विश्वविद्यालय अनुदान आयोगका कार्यवाहक सदस्य-सचिव डा. केदार आचार्य, त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रोफेसर डा. लक्ष्मण पौडेललगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि उपकुलपति डा. थापाले सीमित स्रोत-साधनका बीच पनि सामुदायिक क्याम्पसहरूले उच्च शिक्षाको पहुँच विस्तार, गुणस्तरीय शिक्षण, दक्ष जनशक्ति उत्पादन तथा सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान दिएको बताउनुभयो । उहाँले गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, डिजिटल रूपान्तरण तथा नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा विश्वविद्यालयले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वक्ताहरूले सामुदायिक क्याम्पसहरू उच्च शिक्षाको पहुँच विस्तारसँगै सामाजिक न्याय र समावेशी शिक्षाको प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै नीतिगत, प्राविधिक तथा वित्तीय सहयोग बढाउनुपर्ने धारणा राखे ।
सो अवसरमा त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने चार सामुदायिक क्याम्पसलाई सम्मान गरिएको थियो । मानविकी संकायतर्फ काठमाडौंको मदन भण्डारी मेमोरियल कलेज, विज्ञान शिक्षातर्फ भक्तपुरको ख्वप कलेज, शिक्षा संकायतर्फ मोरङको सुकुना बहुमुखी क्याम्पस तथा व्यवस्थापन संकायतर्फ मकवानपुर बहुमुखी क्याम्पस सम्मानित भएका हुन् । ती क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई प्रशंसापत्रसहित १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
उच्च शिक्षाको विकास तथा विश्वविद्यालय सुधारमा योगदान पुर्याएको भन्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रोफेसर डा. तीर्थराज खनियाँ र प्रोफेसर डा. दीपक अर्याललाई पनि विशेष सम्मान गरिएको थियो ।
संघका अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताले देशभरका ५५० भन्दा बढी सामुदायिक क्याम्पसमा नेपालको कुल उच्च शिक्षा भर्नामध्ये करिब एक तिहाइ विद्यार्थी अध्ययनरत रहेको उल्लेख गर्दै सामुदायिक क्याम्पसहरूलाई राष्ट्रिय शिक्षा नीतिमा अझ प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले सामुदायिक क्याम्पसहरूको दिगो विकासका लागि नयाँ शैक्षिक कार्यक्रम विस्तार, अनुसन्धानमा लगानी, डिजिटल पूर्वाधार विकास, शिक्षक-कर्मचारीको क्षमता अभिवृद्धि तथा पर्याप्त सरकारी अनुदान सुनिश्चित गर्न सरकार, त्रिभुवन विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोगसँग आग्रह गर्नुभयो ।
कार्यक्रमका सहभागीहरूले सामुदायिक क्याम्पसहरू नेपालको उच्च शिक्षाको पहुँच विस्तार, गुणस्तर अभिवृद्धि र समावेशी विकासका प्रमुख आधार बनेको निष्कर्ष निकाल्दै यस क्षेत्रको सुदृढीकरणका लागि सरकार, विश्वविद्यालय र सम्बन्धित निकायबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर