काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि भएको निधनको घटनाले राज्य, समाज र सम्पूर्ण नागरिकलाई गम्भीर आत्मचिन्तन गर्न बाध्य बनाएको बताउनुभएको छ ।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले परिवारलाई यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गर्नुभएको छ ।
थापाले उक्त घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गर्दै यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय भएको उल्लेख गर्नुभएको छ । उहाँले गणेश नेपालीका आश्रित परिवारलाई सबैले आ-आफ्नो ठाउँबाट सक्दो साथ र सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।
उहाँले विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने धारणा राख्नुभएको छ । साथै, एउटा युवा किन यति ठूलो निराशाको अवस्थामा पुग्छ, आफ्ना पीडा सुनाउन किन आफ्नै शरीरमा आगो लगाउनुपर्ने परिस्थिति सिर्जना हुन्छ, राज्यका सेवा र संयन्त्रले किन नागरिकमा आड, साथ र भरोसाको अनुभूति गराउन सकिरहेका छैनन्, समाज, परिवार, राज्य र नागरिकका रूपमा कहाँ कमजोरी भयो भन्ने प्रश्नको इमानदार उत्तर खोज्नुपर्नेमा जोड दिनुभएको छ ।
थापाले भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने बताउनुभएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर