काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय नभई समाज, राज्य र समग्र नागरिकको सामूहिक आत्मचिन्तनको विषय भएको बताउनुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले गणेश नेपालीको निधनलाई एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको अत्यन्तै दुःखद घटना भएको उल्लेख गर्नुभएको छ।
“यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो,” उहाँले लेख्नुभएको छ।
सभापति थापाले मृतक गणेश नेपालीका आश्रित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूलाई कसरी साथ र सहयोग गर्न सकिन्छ भन्नेबारे सबैले आ–आफ्नो स्थानबाट सोच्न र सक्दो सहयोग गर्न आग्रह गर्नुभएको छ।
उहाँले विगत वा वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने धारणा राख्नुभएको छ।
सभापति थापाले एउटा युवा किन यस्तो निराशाको अवस्थामा पुग्छ, आफ्ना पीडा सुनाउन किन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था सिर्जना हुन्छ, राज्यका सेवा र संयन्त्रले किन नागरिकमा भरोसा जगाउन सकिरहेका छैनन् र समाज, परिवार, राज्य तथा नागरिकका रूपमा कहाँ चुक्यौँ भन्ने गम्भीर प्रश्न उठाउनुभएको छ।
“हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ ?” उहाँले प्रश्न गर्नुभएको छ।
यी प्रश्नहरूको इमानदार उत्तर खोज्दै भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने सभापति थापाले उल्लेख गर्नुभएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर