रोट्टेरडाम (नेदरल्यान्ड्स) । डच अवधारणात्मक कलाकार विम टी. सिप्पर्सको स्मृतिमा उहाँको चर्चित कलाकृति ‘पिन्डाकासभ्लोर’ (बदामको बटर फ्लोर) पुनः नेदरल्यान्ड्सको रोट्टेरडामस्थित म्युजियम बोइजमन्स भ्यान ब्युनिन्जेनमा प्रदर्शनमा राखिएको छ ।
शुक्रबारदेखि सुरु भउको दुई महिने प्रदर्शनीका लागि ८०० पाउन्डभन्दा बढी बदामको बटर प्रयोग गरी सङ्ग्रहालयको भुइँमा कलाकृति तयार गरिएको हो । ८३ वर्षको उमेरमा निधन भएका सिप्पर्सले सन् १९६९ मा पहिलो पटक यो अवधारणात्मक कलाकृति सिर्जना गर्नुभएको थियो । परम्परागत कला अवधारणालाई चुनौती दिने उहाँले काँचका टुक्रा, नुन र अन्य सामग्रीले भुइँ ढाक्ने शृङ्खला अन्तर्गत यो कृति बनाउनु भएको थियो ।
उहाँ डच संस्करणको बाल कार्यक्रम ‘सेसमी स्ट्रिट’मा एर्नी र कर्मिट द फ्रग पात्रलाई स्वर दिनुभएको कलाकारका रूपमा पनि परिचित हुनुहुन्थ्यो । सन् १९९७ मा युट्रेक्टको सेन्ट्रल म्युजियममा दोस्रो पटक प्रदर्शनीमा राखिएको बेला सिप्पर्सले ‘हामी सबै यहाँ उभिएर बदामको बटर हेरिरहेका छौँ, के यो आफैँमा रोचक होइन र ?’ भन्दै यस कृतिको अवधारणाबारे टिप्पणी गर्नुभएको थियो ।
यस पटक २५ वर्गमिटर क्षेत्रफलमा फैलिएको षट्कोणाकार कलाकृति तयार गर्न सङ्ग्रहालयका दुई कर्मचारीलाई धेरै दिन लागेको थियो । उनीहरूले ड्राईवाल ट्रोवेल प्रयोग गरेर करिब दुई सेन्टिमिटर बाक्लो तहमा बदामको बटर फैलाएका थिए । कलाकारले कृतिको आकार, मोटाइ वा कुन प्रकारको बदामको बटर प्रयोग गर्नुपर्ने भन्ने कुनै निश्चित मापदण्ड तोक्नुभएको थिएन ।
यस प्रदर्शनीका लागि डच ब्रान्ड क्याल्भेले चिल्लो बदामको बटर उपलब्ध गराएको सङ्ग्रहालयले जनाएको छ । खाना विषयक लेखिका तथा फोटोग्राफर मिके वेइसम्यानले सन् १९९७ को प्रदर्शनी सम्झँदै आफूलाई सबैभन्दा बढी सङ्ग्रहालय भर फैलिएको बदामको बटरको सुगन्ध याद रहेको बताउनुभयो ।
यसअघि सन् २०११ मा प्रदर्शनीका क्रममा केही आगन्तुक अनजानमै कलाकृतिमाथि हिँडेका थिए । त्यस्तै सन् १९९७ मा केही व्यक्तिले रोटीका स्लाइस र चकलेट स्प्रिङ्कल्स राखेर कलाकृतिमा हस्तक्षेप गरेका थिए । त्यस बेला पनि सिप्पर्सले त्यसलाई नकारात्मक रूपमा नलिई स्प्रिङ्कल्स अनुपात मिलाएर राखिएको भन्दै सहज प्रतिक्रिया दिनुभएको थियो । रासस/एपी







हतुवागढीले जुटायो २४ लाख ५३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण
भम्लु खोलामा सुख्खा पहिराले कर्णाली
भोटेकोशी बाढी : लुम्बिनीका २४८