काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफू वा अमेरिकी नेतृत्वविरुद्ध कुनै पनि आक्रमण वा हत्या प्रयास गरे त्यसको जवाफस्वरूप अमेरिकाले व्यापक सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको छ। उहाँले इरानलाई लक्षित गरी हजार क्षेप्यास्त्र तयारी अवस्थामा राखिएको दाबी गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानले विगतमा अमेरिकी राष्ट्रपतिमाथि आक्रमण वा हत्या गर्ने धम्की दिएको उल्लेख गर्दै त्यस्तो कुनै प्रयास भए तत्काल थप हजारौं क्षेप्यास्त्र प्रहार गरिने चेतावनी दिनुभएको हो।
यता, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले दुई पक्षबीचको समझदारीको उल्लंघन गरेको आरोप लगाउनुभएको छ। सामाजिक सञ्जाल ‘एक्स’मा उहाँले इरानले आफ्ना प्रतिबद्धता पालना गर्दै आएको दाबी गर्दै सम्झौताको पालना दुवै पक्षका लागि अनिवार्य भएको बताउनुभएको छ।
यसैबीच, अल जजिराका अनुसार इरानी संसदका सभामुख मोहम्मद बाघेरी घालीबाफले तेहरान कुनै पनि अवस्थामा अमेरिकासामु नझुक्ने बताउनुभएको छ। उहाँले अमेरिका सम्झौताबाट पछि हटे वा उल्लंघन गरे इरान आफ्नो रक्षा गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभएको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले पनि इरानी सशस्त्र बलले देशका तट, टापु, सीमाना तथा अन्य संवेदनशील क्षेत्रमा निगरानी बढाएको र अमेरिकी गतिविधिमाथि निरन्तर नजर राखिरहेको बताउनुभएको छ।
उता, अल जजिराकै अनुसार अमेरिकी उच्च अधिकारीहरूले अमेरिका–इरानबीच जारी वार्ता सकारात्मक र फलदायी रहेको बताएका छन्। यद्यपि, अमेरिकाले कुनै पनि नयाँ सम्झौताका लागि इरानले आणविक कार्यक्रमसम्बन्धी आफ्ना दायित्व स्वीकार गर्नुपर्ने र आफ्नो आणविक सामग्री हस्तान्तरण गर्नुपर्ने अडान कायम राखेको जनाएको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर