नेपालगञ्ज । एम्स वन ग्लोबल माइलअन्तर्गत शनिबार सम्पन्न कोहलपुर माइल(१.६किमी) दौडमा समिर बस्नेत र चेतना बस्नेत च्याम्पियन बन्नुभएको छ । कोहलपुरमा भएको पहिलो अन्तर्राष्ट्रिय संस्थासँग आबद्धता प्राप्त प्रतियोगिता कोहलपुर माइलमा स्कुलस्तरीय छात्रतर्फ समिर पहिलो हुँदा सुगम चौधरी दोस्रो, करण सिकर्मी तेस्रो र सन्देश बुढाथोकी चौथो हुनुभयो । स्कुलस्तरीय छात्रातर्फ चेतना अग्रस्थानमा आउँदा सलिना थारु दोस्रो, नियुक्ति गुरुङ तेस्रो, एन्जल सुनार चौथो हुनुभयो ।
कोहलपुर खुल्ला मैदानदेखि सुरु भई नेपालगञ्ज मेडिकल कलेजको गेटसम्म पुगेर पुनः सोही रुट हुँदै खुल्ला मैदानमै सम्पन्न भएको किड्स रन गर्ल्स (आठदेखि १२ वर्ष उमेर समूह) तर्फ मान्वी चौधरी, विपना बुढा, नविना थापा र ग्रिष्मा शाही तथा किड्स छात्र(आठदेखि १२ वर्ष)सम्म समूहमा मिलन कैला, अब्दुल्लाह खान, अमृत विक र दिनेश कैला शीर्ष चार स्थानमा आउनुभयो । विजयी खेलाडीलाई नगद चार हजार, तीन हजार, दुई हजार र एक हजार तथा ट्रफीले पुरस्कृत गरियो ।
कोहलपुर माइलमा सहभागी करिब अढाई सय जना सबैलाई पदक र प्रमाणपत्र प्रदान गरियो । कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले सम्पूर्ण विजेतालाई पुरस्कृत गर्नुभएको थियो । अमेरिकाको न्युयोर्कस्थित ह्युडसन माइलको विस्तारित रूप नै वन ग्लोबल माइल हो । ‘एक दिन एक माइल एक विश्व’ नारासहित दौड संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले ११ जुलाईमा ११ देशका विभिन्न शहरमा एकैपटक ‘वन ग्लोबल माइल’ आयोजना गरिएको हो । विश्व रनिङको विश्वव्यापी संगठन एसोसियन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)ले वन ग्लोबल माइल विश्वभर प्रवर्द्धन गरिरहेको छ । यसलाई म्याराथनको सुरुवाती कदमका रूपमा लिइन्छ । अन्य देशमा एक शहरमा आयोजना भए पनि नेपालमा मात्र दुई शहर कोहलपुर र काठमाडौंमा काठमाडौं माइल आयोजना भएको हो ।
कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पनि एक माइल दौड पूरा गर्नुभएको छ । स्कुले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै प्रमुख आचार्यले कोहलपुर माइलको निर्धारित दूरी पूरा गर्नुभएको हो । नगरप्रमुख आचार्यसँगै धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी, बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापालगायतले एक माइल दौड पूरा गरे । पुरस्कार वितरण गर्दै नगरप्रमुख आचार्यले कोहलपुर माइल आयोजनाका लागि वन ग्लोबल माइलप्रति आभार प्रकट गर्दै यसलाई बृहत् बनाउन नगरपालिकाले वार्षिक क्यालेन्डरमा समावेश गर्दै उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने बताउनुभयो । सुरक्षा र ट्राफिक व्यवस्थापनमा सघाएकोमा जिल्ला प्रशासन कार्यालय बाँके, नेपाल प्रहरी, ट्राफिक प्रहरीलाई रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले धन्यवाद व्यक्त गर्नुभयो ।
काठमाडौं माइल पनि सम्पन्न
एम्स ग्लोबल माइलअन्तर्गत काठमाडौं माइल पनि शनिबार सम्पन्न भएको छ । नक्साल नारायणचौरदेखि सुरु भई दरबारमार्ग पुगेर पुनः नारायणचौरमै सम्पन्न भएको काठमाडौं माइलमा सहभागी सम्पूर्णलाई मेडल र प्रमाणपत्र वितरण गरियो । काठमाडौं माइलका डाइरेक्टर कपिल थापाका अनुसार एक माइल दौडले सहभागीलाई लामो दौडतर्फ आकर्षित गर्नेछ । साथै, ग्लोबल अभियानअन्तर्गत भएकाले हरेक सहभागीलाई एम्स प्रेसिडेन्ट पाको बोराओ र वन ग्लोबल माइलका संस्थापक जोन बोकाले हस्ताक्षर गरेको प्रमाणपत्र पाउँदा त्यसको महत्त्व हरेक सहभागीले अनुभूति गरेको डाइरेक्टर थापाले बताउनुभयो । अर्को वर्ष काठमाडौं माइल बृहत् ढंगले गर्न उत्साह थपेको उहाँले बताउनुभयो । कार्यक्रम संयोजक ममता थापाले काठमाडौंजस्तो ठाउँमा वन ग्लोबल माइलको महत्त्व बुझ्नेको संख्या उल्लेख्य भएको हुँदा आगामी संस्करणमा यसको दायरा फराकिलो बन्दै जाने अपेक्षा गरेको बताउनुभयो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर