नेपाली चलचित्र क्षेत्रमा यतिबेला सबैभन्दा बढी चर्चा बटुलिरहेको चलचित्र हो-‘गौँथली’ । अटिजमजस्तो संवेदनशील विषयवस्तु, फरक प्रचार शैली र कलाकारहरूको पात्रमै बाँच्ने प्रस्तुतिले चलचित्र प्रदर्शनअघि नै दर्शकमाझ असाधारण उत्सुकता सिर्जना गरेको छ । मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्काले चलचित्रका पात्रकै रूपमा सार्वजनिक कार्यक्रमदेखि टेलिभिजन अन्तर्वार्तासम्म उपस्थित भएर प्रचारलाई नयाँ उचाइ दिनुभएको छ । उहाँहरूको यथार्थपरक प्रस्तुतिका कारण धेरैले उहाँहरूलाई वास्तविक पात्र नै ठाने, जसले ‘गौँथली’लाई सामाजिक सञ्जालमा व्यापक चर्चा दिलाएको छ । यस सिर्जनात्मक अभियानका पछाडि हुनुहुन्छ निर्देशक डा.कपिल रिजाल । पेशाले दन्त चिकित्सक रहनुभएका उहाँले बेलायतमा सफल चिकित्सकीय करिअरसँगै चलचित्र निर्देशन रोज्नुभएको हो । ‘ह्यारी कि प्यारी’बाट निर्देशन यात्रा सुरु गर्नुभएका कपिलले यसपटक ‘गौँथली’मार्फत अटिजमजस्तो संवेदनशील विषयलाई भावनात्मक र मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्ने जमर्को गर्नुभएको छ । प्रख्यात स्त्री तथा प्रसूति रोग विशेषज्ञ, गीतकार तथा चलचित्रकर्मी डा.भोला रिजालका छोरा कपिलमा बाल्यकालदेखि नै साहित्य, संगीत र चलचित्रप्रतिको रुचि थियो । बाबुको सिर्जनात्मक प्रभावलाई उहाँले अहिले नेपाली चलचित्रमा फरक सोच र प्रस्तुतीमार्फत स्थापित गर्ने प्रयास गरिरहनुभएको छ । ‘गौँथली’ साउन १ गतेदेखि दर्शकमाझ आउँदैछ । नेपाली चलचित्र र ‘गौँथली’का साथै विविध सन्दर्भमा डा.कपिल रिजालसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशःं-
तपाईंको पहिलो निर्देशकीय चलचित्र ‘ह्यारीकी प्यारी’ले अपेक्षित सफलता हासिल गर्न सकेन । अहिले ‘गौँथली’ प्रदर्शनको तयारीमा छ । यो यात्रालाई कसरी सम्झिनुहुन्छ ?
कहिलेकाहीँ एउटा चलचित्रले व्यापारिक सफलता नदिए पनि जीवनभर काम लाग्ने अनुभव दिन्छ । मेरो लागि ‘ह्यारीकी प्यारी’ त्यस्तै चलचित्र थियो । त्यो चलचित्रले मलाई कहाँ सुधार गर्नुपर्छ, दर्शकको मन कसरी बुझ्नुपर्छ र एउटा कथालाई भावनात्मक रूपमा कसरी प्रस्तुत गर्नुपर्छ भन्ने धेरै कुरा सिकायो । त्यसैले म त्यसलाई असफलता होइन, सिकाइको यात्रा मान्छु । अहिले ‘गौँथली’ लिएर आउँदा म धेरै परिपक्व भएको महसुस गर्छु ।
‘गौँथली’को कथा किन रोज्नुभयो ?
यो कथा मेरो बुबा डा.भोला रिजालले करिब २५ वर्षअघि लेख्नुभएको थियो । त्यतिबेला यही नाममा गीति चिलचित्र बनेको थियो, जुन निकै सफल भयो । समय परिवर्तन भए पनि त्यसले उठाएका प्रश्नहरू अझै समाजमा छन् । महिलाको शिक्षा, बालविवाह, लैंगिक विभेद र फरक क्षमता भएका व्यक्तिप्रतिको दृष्टिकोण आज पनि सान्दर्भिक विषय हुन् । त्यसैले यही कथालाई नयाँ पुस्ताको दृष्टिकोणबाट पुनः प्रस्तुत गर्ने निर्णय गर्यौं ।
‘गौँथली’ एउटी किशोरीको सपना, संघर्ष र आत्मविश्वासको कथा हो । उसले पढ्न चाहन्छे, आफ्नो भविष्य बनाउन चाहन्छे । तर, समाज, परम्परा र परिस्थितिले उसलाई रोक्न खोज्छ । त्यस संघर्षका बीच पनि उसले हार मान्दिन । चलचित्रले ‘छोरीलाई पढाउनुपर्छ’, ‘महिलालाई अवसर दिनुपर्छ’ र ‘फरक क्षमता भएका व्यक्तिलाई सम्मानपूर्वक हेर्नुपर्छ’ भन्ने सन्देश दिन खोजेको छ ।
नयाँ ‘गौँथली’ र पुरानो ‘गौँथली’बीच के फरक छ ?
नाम एउटै भए पनि प्रस्तुति, निर्माण शैली, पात्रको मनोविज्ञान र सिनेम्याटिक भाषामा धेरै परिवर्तन छ । हामीले आधुनिक दर्शकलाई ध्यानमा राखेर पटकथा तयार गरेका छौं । कथा पुरानो भए पनि त्यसको प्रस्तुतीकरण आजको पुस्ताले आत्मसात् गर्नसक्ने बनाएका छौं ।
पटकथा तयार गर्न कति समय लाग्यो ?
लगभग दुई वर्ष । हामीले धेरै पटक पुनर्लेखन गर्यौं । प्रत्येक दृश्य, संवाद र पात्रको मनोविज्ञानमा गहिरो काम गर्यौं । मेरो लागि सबैभन्दा ठूलो जिम्मेवारी बुबाको कथालाई न्याय गर्नु थियो ।
कस्तो चलचित्र हो ‘गौँथली’ ?
प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्र ‘गौँथली’ दर्शकमाझ चर्चाको केन्द्रमा पुगेको छ । आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक भएको पाँच दिनमै उल्लेखनीय प्रतिक्रिया प्राप्त भएपछि फिल्मप्रति दर्शकको अपेक्षा थप बढेको हो । सार्वजनिक ट्रेलरले युट्युबमा लाखौ भ्युज हासिल गर्दै मुभी ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । छोटो अवधिमै प्राप्त दर्शकीय प्रतिक्रियाले चलचित्रले प्रदर्शनअघि नै सकारात्मक माहौल निर्माण गर्न सफल भएको छ । सामाजिक सञ्जालमा समेत ट्रेलरको कथा, अभिनय र प्रस्तुतिको व्यापक चर्चा भइरहेको छ ।
विशेषगरी ग्रामीण परिवेशमा जन्मिएकी एउटी किशोरीको शिक्षा प्राप्त गर्ने सपना, त्यसका लागि उनले भोग्नुपरेका सामाजिक अवरोध र संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरिएको ट्रेलरले धेरै दर्शकलाई प्रभावित बनाएको छ । चलचित्रले मनोरञ्जनसँगै समाजमा विद्यमान बालविवाह, लैगिंक विभेद र छोरी शिक्षाजस्ता विषयलाई संवेदनशील रूपमा उठाएको छ ।
‘गौँथली’ शीर्षक नेपाली चलचित्रका लागि नयाँ भने होइन । करिब दुई दशकअघि वरिष्ठ चिकित्सक तथा साहित्यकार मेरो बुबा डा.भोला रिजालले यही नाममा चलचित्र निर्माण गर्नुभएको थियो । नेपाली चलचित्र इतिहासमा उक्त कृतिलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म)का रूपमा लिइन्छ । त्यतिबेला प्रदर्शनमा आएको चलचित्रले ५१ दिनसम्म सफल प्रदर्शन गर्दै आफ्नो छुट्टै पहिचान बनाएको थियो ।
यसपटक भने सोही नामलाई नयाँ कथावस्तु र नयाँ पुस्ताको दृष्टिकोणसहित मैले निर्देशन गरेको हुँ । यसले पुरानो नामको ऐतिहासिक विरासतलाई निरन्तरता दिँदै समसामयिक सामाजिक विषयलाई पर्दामा उतार्ने प्रयास गरिएको छ ।
ट्रेलरले चलचित्रको मूल पात्र ‘गौँथली’ (सिम्रन खड्का)को जीवनयात्रालाई केन्द्रमा राखेको छ । गाउँमा हुर्किएकी, पढाइमा अब्बल र ठूलो सपना बोकेकी गौँथलीलाई उनका शिक्षकले उच्च शिक्षा दिलाउने सपना देख्छन् । तर, आर्थिक तथा पारिवारिक बाध्यता, परम्परागत सोच र सामाजिक दबाबका कारण उनको बालविवाह गराइन्छ ।
विवाहपछि गौँथलीको जीवनमा आउने उतारचढाव ट्रेलरको मुख्य आकर्षण बनेको छ । पढाइलाई निरन्तरता दिन चाहने गौँथलीलाई घरपरिवार र समाजको संकुचित सोचले रोक्न खोज्छ । उनको पुस्तक जलाइने, पढ्न नदिइने र महिलाको शिक्षालाई अनावश्यक ठानिने सामाजिक मानसिकतालाई ट्रेलरले निकै प्रभावशाली रूपमा प्रस्तुत गरेको छ । यही संघर्षका बीच गौँथलीले आफ्नो पहिचान र अधिकारका लागि गर्ने प्रयासले चलचित्रप्रति दर्शकको चासो अझ बढाएको छ ।
ट्रेलर सार्वजनिक भएसँगै अभिनेता अरुण क्षेत्रीको अभिनयले विशेष प्रशंसा पाएको छ । उहाँले निर्वाह गरेको पात्र सरल, निर्दोष र केही फरक स्वभावको देखाइएको छ, जसले गौँथलीको शिक्षाप्रतिको चाहनामा साथ दिन खोज्छ । उहाँको अभिनय शैलीले चलचित्रमा नयाँपन ल्याउने संकेत ट्रेलरबाटै मिलेको दर्शकहरूको प्रतिक्रिया छ ।
त्यस्तै, अभिनेत्री सिम्रन खड्काले शीर्ष भूमिकामा सशक्त अभिनय प्रस्तुत गर्नुभएको छ । संघर्ष, पीडा, आशा, निराशा र विद्रोहका भावलाई उहाँले स्वाभाविक रूपमा अभिव्यक्त गर्नुभएको छ । ट्रेलरमा देखिएको उहाँको अभिनयलाई धेरैले करिअरकै उत्कृष्ट प्रस्तुतिमध्ये एक हुनसक्ने टिप्पणी गरेका छन् ।
‘छोरीलाई पढाउनुपर्छ’ भन्ने मूल सन्देश बोकेको चलचित्रले ग्रामीण समाजमा अझै विद्यमान बालविवाह, महिलामाथिको विभेद, अशिक्षा र परम्परागत सोचका कारण महिलाले भोग्नुपर्ने कठिनाइलाई यथार्थपरक रूपमा चित्रण गरेको देखिन्छ । पहाडी ग्रामीण परिवेश, स्थानीय संस्कृति, जीवनशैली र सामाजिक सम्बन्धलाई चलचित्रले कलात्मक ढंगले प्रस्तुत गरेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । त्यसैले मनोरञ्जनसँगै सामाजिक चेतना फैलाउने चलचित्रका रूपमा पनि ‘गौँथली’लाई हेरिएको छ ।
दर्शकले सामाजिक सञ्जालमा दिएका प्रतिक्रिया अनुसार चलचित्रले परिवारसहित हेर्न मिल्ने सन्देशमूलक सिनेमाको अनुभूति गराउने अपेक्षा छ । ट्रेलरले पाएको उत्साहजनक प्रतिक्रिया हेर्दा प्रदर्शनपछि पनि चलचित्रले बक्स अफिसमा सकारात्मक व्यापार गर्ने विश्वास निर्माण पक्षले लिएको छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना तथा राजेन्द्र नेपालीको अभिनय छ । बालकलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गर्नुभएको छ । चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुनुहुन्छ । निर्मातामा मसँगै सुमन गिरी हुनुहुन्छ भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माताका रूपमा आबद्ध हुनुहुन्छ । पटकथा तथा संवाद लेखनमा मसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य छ । मुख्य सहायक निर्देशकका रूपमा गिरिराज घिमिरे रहनुभएको छ । चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।
यो चलचित्रको मुख्य सन्देश के हो ?
‘गौँथली’ एउटी किशोरीको सपना, संघर्ष र आत्मविश्वासको कथा हो । उसले पढ्न चाहन्छे, आफ्नो भविष्य बनाउन चाहन्छे । तर, समाज, परम्परा र परिस्थितिले उसलाई रोक्न खोज्छ । त्यस संघर्षका बीच पनि उसले हार मान्दिन । चलचित्रले ‘छोरीलाई पढाउनुपर्छ’, ‘महिलालाई अवसर दिनुपर्छ’ र ‘फरक क्षमता भएका व्यक्तिलाई सम्मानपूर्वक हेर्नुपर्छ’ भन्ने सन्देश दिन खोजेको छ ।
तपाईं पेशाले दन्त चिकित्सक पनि हुनुहुन्छ । चिकित्सा र चलचित्रलाई कसरी सन्तुलन मिलाइरहनुभएको छ ?
म करिब २८ वर्षदेखि बेलायतमा दन्त चिकित्सकका रूपमा काम गरिरहेको छु । अहिले परिवारको सहयोगले दुवै क्षेत्रलाई सन्तुलित रूपमा अघि बढाउन सकेको छु । भविष्यमा पनि चिकित्सा र चलचित्र दुवैलाई निरन्तरता दिने योजना छ ।
चलचित्रप्रतिको रुचि कहाँबाट आयो ?
हाम्रो परिवारमै साहित्य, संगीत र कलाको वातावरण थियो । हजुरबुबा कविता लेख्नुहुन्थ्यो । बुबा गीतकार, कथाकार र फिल्म निर्माता हुनुहुन्छ । सानैदेखि घरमै पर्दा टाँसेर नाटक खेल्ने चलन थियो । त्यही वातावरणले सिर्जनाप्रतिको मोह बढायो । मेडिकल कलेज पढ्दापढ्दै मैले ‘द लाष्ट नाइट’ नामक साइलेन्ट सर्ट फिल्म बनाएको थिए । त्यसपछि सर्ट फिल्म, म्युजिक भिडियो हुँदै अहिले फिचर फिल्मसम्म आइपुगेको हुँ ।
गौँथली’ हेरेर दर्शक हलबाट बाहिरिँदा कस्तो प्रतिक्रिया लिएर जाऊन् भन्ने चाहनुहुन्छ ?
दर्शकले चलचित्र सकिएपछि मनभित्र एउटा शान्ति, एउटा अनुभूति र केही सोच लिएर बाहिरिनुहोस् भन्ने चाहना हो । मनोरञ्जनमात्र होइन, चलचित्रले समाज र जीवनबारे सोच्न प्रेरित गरोस् । यदि त्यो भयोभने मेरो मिहिनेत सफल भएको ठान्नेछु ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर