रुपन्देही । केही वर्षअघिको महामारीको तुलनामा रुपन्देहीमा डेंगु संक्रमितको संख्या घट्दो क्रममा देखिए पनि वर्षायामसँगै यसको जोखिम भने कायमै रहेको छ। एडिस जातको लामखुट्टेको प्रजनन बढ्ने समय भएकाले स्वास्थ्य कार्यालय रुपन्देहीले स्थानीय तहसँगको सहकार्यमा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाउने भएको छ।
भैरहवामा आयोजित डेंगु तथा जापानिज इन्सेफ्लाइटिस रोकथामसम्बन्धी समन्वय तथा पूर्वतयारी कार्यक्रममा स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म जिल्लामा ३१९ जना डेंगु संक्रमित फेला परेको जानकारी दिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ६३५, आर्थिक वर्ष २०८०/८१ मा १ हजार २५७ तथा २०७९/८० मा २ हजार २५४ जना संक्रमित भएका थिए।
स्वास्थ्य कार्यालयका अनुसार यस आर्थिक वर्षमा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा १७६ जना संक्रमित भेटिएका छन्। सिद्धार्थनगर नगरपालिकामा ३८, तिलोत्तमा नगरपालिकामा ८, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३, कोटहीमाई गाउँपालिकामा ३, मर्चवारी गाउँपालिकामा २, मायादेवी गाउँपालिकामा १ र सम्मरीमाई गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ। अन्य स्थानीय तहमा हालसम्म डेंगु संक्रमण देखिएको छैन।
कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीकी मलेरिया इन्स्पेक्टर अनुराधा झाले डेंगु सार्ने एडिस जातको लामखुट्टेले सफा र जमेको पानीमा अण्डा पार्ने भएकाले घर वरिपरि रहेका टायर, गमला, ड्रम, बाल्टिन, जर्किन, कुलर, फूलदानी तथा निर्माणाधीन भवनमा पानी जम्न नदिन आग्रह गर्नुभयो। उहाँले लामखुट्टेको अण्डा पानीबिना पनि महिनौँसम्म जीवित रहन सक्ने र बिहान तथा साँझ बढी सक्रिय हुने यो लामखुट्टेले संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा भाइरस सार्ने बताउनुभयो।
उहाँका अनुसार डेंगुका बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडिपट्टि दुख्ने, शरीर तथा जोर्नी दुख्ने, छालामा रातो दाग देखिने, वाकवाकी लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिन्छन्। पेट अत्यधिक दुख्ने, गिजा वा नाकबाट रगत बग्ने, अत्यधिक कमजोरी हुने वा बेहोस हुनेजस्ता गम्भीर लक्षण देखिए तत्काल अस्पताल जान उहाँले आग्रह गर्नुभयो।
डेंगुको कुनै विशेष औषधि नभएकाले समयमै परीक्षण, चिकित्सकको सल्लाहअनुसार उपचार, प्रशस्त झोलिलो पदार्थ सेवन तथा पर्याप्त आराम नै प्रभावकारी व्यवस्थापन भएको उहाँले बताउनुभयो। साथै चिकित्सकको सल्लाहबिना आइबुप्रोफेन वा एस्पिरिनजस्ता औषधि सेवन नगर्न पनि सुझाव दिनुभयो।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले डेंगु नियन्त्रणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै प्रत्येक घर, आँगन र कार्यस्थल वरिपरि पानी जम्न नदिई लामखुट्टेको बासस्थान नष्ट गर्न आग्रह गर्नुभयो। उहाँले विद्यालयदेखि टोल–टोलसम्म जनचेतना फैलाएर अभियानलाई सफल बनाइने बताउनुभयो।
स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले वर्षायाममा डेंगुको जोखिम बढ्ने भएकाले स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, सञ्चारमाध्यम र समुदायबीचको समन्वय थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रत्येक हप्ता घर तथा कार्यालय वरिपरि पानी जम्ने स्थानको खोजी गरी नष्ट गर्न सके डेंगु नियन्त्रणमा ठूलो योगदान पुग्ने बताउनुभयो।
स्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग वरिष्ठ अधिकृत टीकाराम अधिकारीले डेंगु नियन्त्रणमा उपचारभन्दा रोकथाम नै प्रभावकारी उपाय भएको उल्लेख गर्दै सरसफाइ र नियमित ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, विभिन्न स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय, उद्योग वाणिज्य संघ, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारमाध्यम तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत विजय नाथ चौधरीका अनुसार नगरपालिकाभित्र असार ३० र ३१ गते विशेष ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिनेछ। कार्यक्रम स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा फेयरमेड परियोजना र इन्द्रेणी ग्रामीण विकास परिषद्को सहयोगमा सम्पन्न भएको हो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर