काठमाडौं । नेपालभर सञ्चालनमा रहेका पाँच सय ५० भन्दा बढी सामुदायिक क्याम्पसहरूको साझा संस्था नेपाल पब्लिक क्याम्पस संघले विभिन्न कार्यक्रम गरी ३६औँ स्थापना दिवस मनाएको छ । सो अवसरमा वक्ताहरूले नेपालको उच्च शिक्षामा करिब एक तिहाइ विद्यार्थीलाई अध्ययनको अवसर प्रदान गरिरहेका सामुदायिक क्याम्पसहरूलाई राष्ट्रिय उच्च शिक्षा प्रणालीको अभिन्न अंगका रूपमा स्थापित गर्दै तिनको संस्थागत सुदृढीकरणमा राज्यले थप प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
संघका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय(टियू)का नवनियुक्त उपकुलपति प्राडा भोला थापा, टियूका पूर्व उपकुलपति प्राडा तीर्थराज खनिया र प्राडा दीपक अर्याल, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति तथा नेपाल पब्लिक क्याम्पस संघका पूर्वअध्यक्ष प्राडा प्रेमनारायण अर्याल, विश्वविद्यालय अनुदान आयोगका कार्यवाहक सदस्य-सचिव डा. केदार आयार्चा, टियूका परीक्षा नियन्त्रक प्राडा लक्ष्मण पौडेल, संघका पूर्वअध्यक्षहरू तथा देशभरका सामुदायिक क्याम्पसका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्राडा भोला थापाले सामुदायिक क्याम्पसहरूले सीमित स्रोत–साधनका पनि बाबजुद उच्च शिक्षाको पहुँच विस्तार, गुणस्तरीय शिक्षण, दक्ष जनशक्ति उत्पादन तथा सामाजिक रूपान्तरणमा पुर्याएको योगदान उल्लेखनीय रहेको बताउनुभएको थियो । उहाँले विश्वविद्यालयले सामुदायिक क्याम्पसहरूको गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, डिजिटल रूपान्तरण तथा नवीन शैक्षिक कार्यक्रम सञ्चालनमा आवश्यक सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सहभागी अतिथिहरूले सामुदायिक क्याम्पसहरूले नेपालको उच्च शिक्षाको विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै सो क्षेत्रको दिगोपनका लागि नीतिगत, प्राविधिक तथा वित्तीय सहयोग अभिवृद्धिमा जोड दिएका थिए । सामुदायिक क्याम्पसहरू उच्च शिक्षाको पहुँच विस्तार गर्नेमात्र नभई सामाजिक न्याय र समावेशी शिक्षाको प्रभावकारी माध्यमसमेत भएको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा टियूको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरी सामुदायिक क्याम्पसहरूको प्रतिष्ठा उकास्न सफल चार क्याम्पसलाई सम्मान गरिएको थियो । सम्मानित क्याम्पसहरूमा काठमाडौंको मदन भण्डारी मेमोरियल कलेज मानविकी संकाय, भक्तपुरको खोपः कलेज विज्ञान संकाय, मोरङको सुकुना बहुमुखी क्याम्पस शिक्षा संकाय तथा मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पस व्यवस्थापन संकाय सम्मानित भएका हुन् । उल्लेखित क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई पनि प्रशंसापत्रसहित नगद पुरस्कार १५ हजारसहित सम्मान गरिएको थियो । उच्च शिक्षाको विकास, विश्वविद्यालय सुधार तथा शैक्षिक नेतृत्वमा पुर्याएको योगदानको कदर गर्दै टियूका पूर्वउपकुलपति प्राडा तीर्थराज खनियाँ र प्राडा दीपक अर्याललाई नेपाल पब्लिक क्याम्पस संघले विशेष प्रशंसापत्रसहित सम्मान गरेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताले नेपालका सामुदायिक क्याम्पसहरूले आर्थिक रूपमा कमजोर, ग्रामीण तथा वञ्चित समुदायका विद्यार्थीलाई उच्च शिक्षाको अवसर उपलब्ध गराउँदै आएको उल्लेख गर्दै देशभरका पाँच सय ५० भन्दा बढी सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीको संख्या नेपालको कुल उच्च शिक्षा भर्नाको करिब एक तिहाइ रहेकाले सामुदायिक क्याम्पसहरूलाई राष्ट्रिय शिक्षा नीतिमा अझ प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर