काठमाडौं । राहदानी विभागको परिसरमा बिहीबार दिउँसो भएको एउटा घटनाले फेरि नेपाली समाजलाई झस्काएको छ । विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधनपछि फेरि पुरानो घाउ बल्झिएको हो । गणेश मात्रै होइन, त्यसपछि पनि दुई जनाले आत्मदाह प्रयास गरेका छन् । फेरि प्रश्न उठेको छ- आखिर एउटा युवा आफ्नै शरीरमा आगो लगाउने तहसम्म किन पुग्छ ? चार वर्षअघि संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्दा पनि यही प्रश्न उठेको थियो । व्यापार डुबेको, ऋणले थिचेको र राज्यबाट न्याय नपाएको पीडा सुनाउँदै उहाँले जीवन अन्त्य गर्नुभएको थियो । केही दिन देश रोयो, छानविन समिति बन्यो, नेताहरूले दुःख व्यक्त गरे तर समयसँगै त्यो पीडा पनि सेलायो । आज गणेशको घटनाले फेरि त्यही घाउ बल्झाइदिएको हो ।
गणेश काठमाडौंमा पठाओ चलाएर परिवार पालिरहेका थिए । परिवारका अनुसार उनी सामान्य अवस्थामै बिहीबार बिहान काममा निस्किएका थिए । विभाग अगाडि मोटरसाइकल पार्क गर्न खोज्दा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा ‘ह्विल लक’ लगाए । प्रत्यक्षदर्शीका अनुसार उनले लक नलगाइदिन आग्रह गरेका थिए । त्यसपछि नगर प्रहरी र ट्राफिक प्रहरीसँग विवाद भयो । केहीबेरपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए । सरकारले घटनाको छानविनका लागि समिति गठन गरेको छ । तीन नगर प्रहरीमाथि सोधपुछ भइरहेको छ । तर, एउटा प्रश्न अझै छ- के ह्विल लक मात्रै आत्मदाहको कारण थियो ? २५-२६ वर्षका नवजवान युवा आखिर घरपरिवार सारा बिर्सेर राज्यको केन्द्रीय निकाय अगाडि आफ्नै शरीरमा आगो झोस्न किन बाध्य हुन्छ ? राज्यकै निकाय अगाडि दनदनी दन्किएको आगोमा तड्पिँदै प्राण त्याग्न बाध्य हुन्छ ।
बितेको एक सातामा काठमाडौंदेखि तराईसम्म आत्मदाह प्रयासका जुन दृश्यहरू देखिएका छन्, त्यसले सिंगो समाजको संवेदनालाई क्षतविक्षत बनाएको छ । चालु आर्थिक वर्षको असार २७ गतेसम्म मात्रै देशभर ११ जनाले आत्मदाह र आत्मदाहको प्रयास गरिसकेका छन्, जसमा आठ जनाले ज्यान गुमाएका छन् भने तीनजना अस्पतालमा जीवन र मरणको दोसाँधमा छन् ।
फरक पृष्ठभूमि, संकट लगभग समान
पछिल्ला घटनाका पात्रहरू र उनीहरूको पृष्ठभूमि फरक देखिए पनि उनीहरूले भोगेको मानसिक संकट लगभग समान छ । मुगुका गणेश हुन् वा सर्लाहीका विवेक मण्डल या त काठमाडौंकै आश्विन राउत किन नहुन्, उहाँहरू सबैका लगभग साझा पीडा छन् । तराई–मधेसमा व्याप्त बेरोजगारी र वित्तीय चक्रको मारमा परेका गोडैता नगरपालिका–१० का ३५ वर्षीय विवेकले शुक्रबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभयो । ८५ प्रतिशत शरीर जलेका उहाँलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुर बर्न अस्पतालको आइसियुमा राखिएको छ ।
शनिबार बुद्धनगरस्थित आफ्नै घरमा आत्मदाह प्रयास गर्ने ५० वर्षीय अश्विनकुमार राउतको भने मृत्यु भएको छ । उहाँको शनिबार वीर अस्पतालको आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार राउतले सुपर वायर एण्ड स्टिल इण्डस्ट्रियल प्रालि र दिव्यश्री ट्रेड कन्सर्न प्रालि सञ्चालन गर्दै आउनुभएको थियो । उक्त कम्पनीले नदी किनारामा प्रयोग हुने तार जाली (ग्याभिन) को उत्पादन र चीनबाट होम अपिलियन्स (फ्रिज, पंखाजस्ता सामान) आयातको व्यवसाय धराशायी भएपछि केही महिनादेखि उहाँ तनावमा देखिनुहुन्थ्यो ।
उहाँ सिराहाको लाहानका स्थायीवासी हुनुहुन्छ । उहाँको बुद्धनगरस्थित बुद्ध विहार छेउमा ठूलो कम्पाउण्डभित्र एकतले घर छ । शनिबारको घटना त्यहीँ भएको हो । प्रहरीले छोरासँग विवाद भएपछि आत्मदाह प्रयास गरेको उल्लेख गरे पनि पारिवारिक स्रोतले भने छोरा झगडालु स्वभावको नभएको जनाएको छ । व्यवसाय सञ्चालनमा समस्या भएपछि उहाँले ललितपुर, भैँसेपाटीमा रहेको जग्गा बेच्न खोज्नुभएको थियो । विभिन्न कारणले जग्गा बिक्री नहुँदा उहाँ थप तनावमा हुनुहुन्थ्यो । व्यावसायिक क्षेत्रका अतिरिक्त उहाँ सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्थ्यो । राउत क्षेत्री सेवा समाजका अध्यक्षसमेत हुनुहुन्थ्यो । समाजका सचिव रोशन राउतका अनुसार शनिबार श्रीमती र छोरा घरमा नभएको मौका छोपी उहाँले आत्मदाहको प्रयास गरेको बताइएको छ । उहाँ केही समयअघि मात्र भारतमा स्वास्थ्य उपचार गराएर नेपाल फर्किनुभएको थियो ।
संसद्देखि सडकसम्म बहस
गणेशको मृत्युले संसद्, सडक र सामाजिक सञ्जाल सबै तातेका छन् । विपक्षी दलले घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् भने सत्तापक्षकै सांसदहरूले पनि यसलाई सामान्य घटना मान्न नहुने धारणा राखेका छन् । रास्वपाका सांसद गणेश कार्कीले सरकार जोगाउन मान्छेको ज्यानभन्दा ठूलो तर्क नगर्न आग्रह गर्नुभएको छ । सांसद रञ्जु दर्शना न्यौपानेले उपचार खर्च व्यहोर्नेमै राज्य सीमित हुन नहुने र एउटा नागरिक किन यस्तो निराशाको बिन्दुसम्म पुग्यो ? भन्ने खोजिनुपर्ने बताउनुभएको छ । सांसद राजीव खत्रीले यो एउटा व्यक्तिको मात्र होइन, राज्य र समाजको संवेदनाको परीक्षा भएको टिप्पणी गर्नुभएको छ । तर, प्रधानमन्त्रीले भने अहिलेसम्म घटनाबारे मुख खोल्नुभएको छैन । यसअघि आचार्य मर्दा चर्को विरोध गर्नुभएका उहाँ नबोलेको भन्दै सामाजिक सञ्जालमा खोजीसमेत सुरु भएको छ । उहाँ मात्रै होइन, रास्वपा सभापति रवि लामिछाने पनि घटनाबारे नबोलेको भन्दै सामाजिक सञ्जालमा खोजी सुरु भएको छ । उहाँले पनि आचार्यले आत्मदाह गर्दा चर्को विरोध गर्नुभएको थियो ।
११ महिनामा ११ आत्मदाहका घटना
चालु आर्थिक वर्षको असार २७ गतेसम्म मात्रै देशभर ११ जनाले आत्मदाह र आत्मदाह प्रयास गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ती घटनामा संलग्नमध्ये आठ जनाको मृत्यु भइसकेको छ भने तीन जना अहिले उपचाररत छन् । रौतहट, बाँके, रुपन्देही, दाङ, काभ्रे र सर्लाहीमा आत्मदाहका घटना भएका छन् । सबैभन्दा धेरै चारवटा घटना काठमाडौंमा भएका छन् । ११ घटनामध्ये सात घटनामा महिलाले आत्मदाहको प्रयास गरेका छन् भने चार घटनामा पुरुष संलग्न रहेका छन् । जिल्लागत विवरणमा रौतहटमा एक महिला र एक पुरुष, काठमाडौंका चार घटनामध्ये दुईमा महिला र दुई पुरुष, बाँके र रूपन्देहीमा एक/एक महिला, काभ्रेमा दुई महिला र दाङ र सर्लाहीमा एक/एकजना पुरुषले आत्मदाह प्रयास गरेका छन् । काभ्रे, सर्लाही र काठमाडौंमा भएको घटनाबाहेक अन्य सबै घटनामा संलग्न व्यक्तिको मृत्यु भएको प्रहरी विवरणमा उल्लेख छ ।
संकटलाई केवल क्षणिक आवेशको रूपमा मात्रै हेर्नु अन्याय हुनेछ : सुमना
यो संकटलाई केवल एउटा ह्विल लक वा क्षणिक आवेशको रूपमा मात्रै हेर्नु अन्याय हुनेछ । पूर्वमन्त्री सुमना श्रेष्ठले यसलाई मनोविज्ञानको भाषामा व्याख्या गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ । ‘जब कुनै नागरिकलाई व्यवस्थासँग लड्नुभन्दा आफ्नो शरीरमा आगो लगाउनु सहज लाग्छ, त्यो रिसको झोँकमा चालिएको हठात् कदम मात्र हुँदैन । यो त मनोविज्ञानमा भनिने सिकिएको लाचारीको अन्तिम र भयानक रूप हो । एउटा यस्तो मानसिक अवस्था जहाँ व्यक्तिले बाँच्न इमानदार प्रयास गर्छ, तर हरेक पटक उसले हार महसुस गर्छ ।’
गणेशको घटनाले स्वरोजगार र उद्यमशीलताको बाटो रोजेका राइडरहरूले सहरमा भोग्नुपर्ने सुरक्षाकर्मीको व्यवहार, अत्यधिक दण्ड र जरिवानाको आतंक सतहमा ल्याएको छ । दिनभरि मरिमेटी काम गर्दा दुई हजार कमाउने र त्यसको आधा तेलमै खर्च हुने श्रमजीवी वर्गले पटकैपिच्छे जरिवाना र अपमान भोग्नुपर्दा उनीहरू आजित छन् । प्रेम आचार्य जल्दा कविता लेख्ने विक्रम तिमिल्सिना अहिले सञ्चारमन्त्री हुनुहुन्छ । त्यो बेला शोकाकुल स्टाटस लेख्ने बालेन शाह प्रधानमन्त्री भएकै बेला फेरि उस्तै विस्मयकारी घटना दोहोरिएका छन् ।
चरम अन्धकारपछि उज्यालो अवश्य आउँछ
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस्ता घटनाको नाटकीय र विस्तृत विवरण सार्वजनिक हुँदा पहिलेदेखि नै डिप्रेसन वा तनावमा रहेका व्यक्तिहरूले यसलाई आफ्नो समस्याको अन्तिम समाधानका रूपमा हेर्छन् । मनोविद्हरूका अनुसार, मानिसको मस्तिष्कमा आत्महत्याको विचार आउने र त्यसलाई कार्यान्वयन गर्ने तात्कालिक आवेगको समय प्रायः १० देखि ३० मिनेटको मात्र हुन्छ । यदि यो समयमा पेट्रोलजस्ता प्रज्वलनशील पदार्थको खुला पहुँचलाई नियमन गर्न सकियो र व्यक्तिको ध्यान मोड्न सकियो भने धेरैको ज्यान जोगाउन सकिन्छ । नेपालमा ८० देखि ८५ प्रतिशत आत्महत्या गर्नेहरूमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या वा गम्भीर अवसाद देखिने गरेको छ, जसलाई हाम्रो समाजले अझै पनि लाज वा कलंकको रूपमा लुकाउने गर्छ । प्रत्येक नागरिकले बुझ्न आवश्यक छ कि मानव जीवन अत्यन्तै अमूल्य छ ।
चरम निराशा, आर्थिक संकट वा डिप्रेसन जुनसुकै अवस्था पनि चिकित्सक वा मनोपरामर्शदाताको सहयोगले पूर्णरूपमा निको पार्न र बदल्न सकिन्छ । आफ्ना कुराहरू निर्धक्क साझा गरौँ । आजको चरम अन्धकारपछि भोलिको उज्यालो अवश्य आउँछ भन्ने आशालाई जीवित राखौँ । आत्मदाह विद्रोह होइन, यो एउटा प्रणालीले नागरिकलाई निरुपाय बनाएको दुःखद अवस्था हो । अब अर्को कुनै पनि नेपालीले राज्यको आँखा अगाडि आफैँलाई जलाउनु नपरोस्, यसका लागि राज्य र समाज दुवैले छातीमा हात राखेर आत्मसमीक्षा गर्ने बेला भइसकेको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर