काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण सम्पन्न भएको जनाएको छ भने इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी लक्ष्यविरुद्ध जवाफी आक्रमण सुरु गरेको दाबी गरेको छ।
सेन्टकमले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जारी गरेको विज्ञप्तिमा तेस्रो चरणको अभियानअन्तर्गत करिब १४० वटा लक्ष्यमा आक्रमण गरिएको जनाएको छ। आक्रमणका क्रममा क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपणस्थल, गोलाबारुद भण्डारण केन्द्र, सञ्चार उपकरण तथा अन्य सैन्य पूर्वाधारलाई निशाना बनाइएको उल्लेख गरिएको छ।
अमेरिकी पक्षले यसअघि व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि इरानलाई समझदारीपत्र पालना गर्ने अवसर दिइएको भए पनि त्यसमा असफल भएको दाबी गर्दै सैन्य कारबाही अघि बढाइएको जनाएको थियो।
यता, इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार दक्षिणी इरानका विभिन्न सहरमा विस्फोट भएका छन्। साथै, इरानले संयुक्त अरब इमिरेट्स र कतारस्थित अमेरिकी लक्ष्यविरुद्ध शृङ्खलाबद्ध जवाफी आक्रमण सुरु गरेको तथा बहराइनमा क्षेप्यास्त्र चेतावनी साइरन बजाइएको जनाएको छ।
कतारको गृह मन्त्रालयले केही घण्टाभित्र दोस्रो पटक राष्ट्रिय सुरक्षा सतर्कताको स्तर बढाउँदै नागरिकलाई घरभित्रै बस्न, सिसाका झ्यालबाट टाढा रहन, अनावश्यक आवतजावत नगर्न तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले जोर्डनस्थित प्रिन्स हसन एयर बेसको कमाण्ड तथा नियन्त्रण केन्द्र र ड्रोन ह्याङ्गरमा आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ।
यसअघि इरानले अनधिकृत मार्ग प्रयोग गरेको आरोप लगाउँदै एक जहाजमाथि कारबाही गरेपछि होर्मुज जलसन्धि बन्द गरिएको घोषणा गरेको थियो। आईआरजीसीको नौसेनाले समुद्री सुरक्षामा जोखिम उत्पन्न हुने गरी आफ्नो पहिचान प्रणाली बन्द गरेको जहाजलाई लक्षित गरी कारबाही गरिएको जनाएको छ।
इरानले अमेरिकी सैन्य हस्तक्षेप अन्त्य नभएसम्म र अर्को सूचना जारी नभएसम्म होर्मुज जलसन्धि बन्द रहने चेतावनी दिएको छ। उता, युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले ओमानको तट नजिकै एक कन्टेनर जहाजमा क्षति पुगेपछि आगलागी भएको जानकारी दिएको छ।
अमेरिका र इरानबीच बढ्दो सैन्य तनावले मध्यपूर्वको सुरक्षा अवस्था, अन्तर्राष्ट्रिय समुद्री व्यापार तथा विश्व ऊर्जा आपूर्तिमा थप चुनौती उत्पन्न हुने चिन्ता बढाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर