काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायसँगको समन्वयलाई तीव्र बनाएको जनाएको छ। प्राधिकरणले आइतबार बसेको बैठकमा मनसुनजन्य विपद्को तयारी, विभिन्न निकायले गरेका कामको प्रगति समीक्षा तथा अद्यावधिक विवरण संकलन गरेको हो।
प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाका अनुसार मनसुन अवधिमा जनधनको क्षति न्यूनीकरण गर्न सरकार पूर्ण तयारीमा रहेको छ। असार ४ गते गृहमन्त्री सुधन गुरुङको संयोजकत्वमा बसेको बैठकले दिएका निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको उनले बताए।
उनका अनुसार सबै क्लस्टर लिडर, को–लिडर, सडक, सिँचाइलगायत सम्बन्धित विभागका प्रमुख तथा विपद् सम्पर्क व्यक्तिबाट मन्त्रीस्तरीय निर्देशनको कार्यान्वयन प्रगति विवरण संकलन गरिएको छ। उक्त प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश गरिने उनले जानकारी दिए।
कोइरालाले देशभर मनसुन सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक एड्भाइजरी जारी गर्दै आएको बताए। उनका अनुसार आइतबार राति र सोमबार पूर्वी क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणले नागरिकलाई जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा प्राधिकरणले जारी गर्ने एड्भाइजरी नियमित रूपमा पालना गर्न आग्रह गरेको छ। समयमै सूचना र सतर्कता अपनाएमा सम्भावित जनधनको क्षति उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।
प्राधिकरणका अनुसार मौसमको पूर्वानुमान र जोखिमको अवस्थाअनुसार मनसुन अवधिभर आवश्यक एड्भाइजरी, सूचना तथा सतर्कता निरन्तर जारी गरिनेछ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर