काठमाडौँ । मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसले २५ वर्षीय गणेश नेपालीको मृत्युको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाबारे स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न नेपाल सरकारसँग माग गरेको छ।
क्यानडाको टोरन्टोस्थित मुख्यालय रहेको संस्थाले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यममा सार्वजनिक भएका विवरणका आधारमा घटनाले राज्यसत्ताको प्रयोग, कानुनअन्तर्गत समान व्यवहार तथा नागरिकको सम्मान र अधिकार संरक्षणसम्बन्धी गम्भीर प्रश्न उठाएको उल्लेख गरेको छ।
संस्थाका अनुसार सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार राहदानी बनाउन काठमाडौंस्थित सरकारी कार्यालय पुगेका गणेश नेपालीले मोटरसाइकल निषेधित स्थानमा पार्क गरेको आरोपमा जरिवाना तिर्नुपर्ने अवस्था आएपछि विवाद भएको र त्यसपछि उनी मानसिक तनावमा परेर आफ्नै शरीरमा आगो लगाएका थिए। यद्यपि घटनाको वास्तविक कारण स्वतन्त्र अनुसन्धानबाट मात्रै स्पष्ट हुन सक्ने संस्थाको भनाइ छ।
विज्ञप्तिमा "गणेश नेपालीको मृत्यु न्याय, समानता र राज्यको जवाफदेहिताको एउटा महत्वपूर्ण परीक्षा हो" भन्दै घटनाको सबै पक्षको निष्पक्ष अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ।
सहयात्राले अमेरिकामा जर्ज फ्लोयडको मृत्यु र गणेश नेपालीको घटनाको अवस्था फरक भए पनि दुवैले संस्थागत असफलताले मानव जीवनमा पार्ने प्रभावबारे गम्भीर प्रश्न उठाएको जनाएको छ।
संस्थाले अनुसन्धानका क्रममा गणेश नेपालीले कानुनबमोजिम समान व्यवहार पाए वा पाएनन्, साथै उनको जातीय पहिचानले घटनाको व्यवस्थापन वा व्यवहारमा कुनै प्रभाव पारेको थियो वा थिएन भन्ने विषयसमेत निष्पक्ष रूपमा परीक्षण गरिनुपर्ने माग गरेको छ।
विज्ञप्तिमा, "यदि गणेश नेपालीको थर 'नेपाली' नभई सामाजिक रूपमा विशेषाधिकार प्राप्त समुदायको, उदाहरणका लागि 'शर्मा', भएको भए यस्तै परिस्थितिमा समान व्यवहार गरिन्थ्यो कि गरिँदैनथ्यो भन्ने प्रश्न अनुमानका आधारमा होइन, निष्पक्ष अनुसन्धानका आधारमा उत्तर खोजिनुपर्छ," उल्लेख गर्दै न्यायप्रतिको जनविश्वास कायम राख्न यस्ता विषयको स्वतन्त्र परीक्षण आवश्यक रहेको जनाएको छ।
सहयात्राले सरकारी निकायको व्यवहारले कुनै नागरिकको मृत्युमा योगदान पुगेको हुन सक्ने विश्वसनीय आधार देखिएमा सम्बन्धित निकायलाई जवाफदेही बनाउनुपर्नेमा पनि जोड दिएको छ।
संगठनले राजनीतिक वा संस्थागत प्रभावबाट मुक्त स्वतन्त्र अनुसन्धान समिति गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न, अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक नीतिगत तथा संस्थागत सुधार लागू गर्न तथा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
साथै, गणेश नेपालीका शोकसन्तप्त परिवारलाई उचित क्षतिपूर्ति, मनोसामाजिक परामर्श र दीर्घकालीन सहयोग उपलब्ध गराउन पनि सरकारसँग अपिल गरेको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर