काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित सरकारका विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको छ। कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँबाट स्थानान्तरण गरिएका सुकुमबासीहरूको अवस्था बुझ्न मन्त्रीहरूको टोली खरिपाटी पुग्नुभएको हो।
गृहमन्त्री गुरुङसँगै सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव पनि अवलोकनमा सहभागी हुनुभएको थियो।
अवलोकनका क्रममा भूमि व्यवस्थामन्त्री रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेपछि सुकुमबासी व्यवस्थापनका विषयमा भविष्यमा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले सुकुमबासी समस्याको दीगो समाधानका लागि केही समय लाग्ने भए पनि सरकार त्यसतर्फ गम्भीरतापूर्वक अघि बढिरहेको स्पष्ट पार्नुभयो।
उहाँले सुकुमबासीको मुद्दालाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न सबै पक्षलाई आग्रहसमेत गर्नुभयो।
गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रीहरूले होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरूसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको तत्कालीन आवश्यकता, समस्या तथा दीर्घकालीन व्यवस्थापनका लागि सरकारले गरिरहेको तयारीबारे जानकारी गराउनुभएको थियो।
अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमबासीहरूलाई अस्थायी रूपमा भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको हो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर