काठमाडौं । फिफा वरीयताका शीर्ष टोलीहरूले आफ्नो साख जोगाउँदै अन्तिम चारको यात्रा तय गरेका छन् । यससँगै सन् २०२६ को फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । नर्वेजियन टोलीको कडा चुनौती पन्छाउँदै इंग्ल्याण्ड र १० खेलाडीमा सीमित स्विट्जरल्याण्डको बलियो प्रतिरोध तोड्दै साबिक विजेता अर्जेन्टिना सेमिफाइनलमा पुगेका हुन् । अर्जेन्टिनाले खेलको अतिरिक्त समयमा जित निकालेको हो । यसअघि नै फ्रान्स र स्पेनले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । अब विश्व फुटबलका चार महाशक्तिहरू उपाधि नजिक पुग्न भिड्नेछन् ।
मियामीमा आइतबार बिहान भएको खेलमा इंग्ल्याण्डले नर्वेको कडा चुनौतीलाई अतिरिक्त समयमा २-१ ले पाखा लगायो । खेलको सुरुवाती समयमा नर्वेले अप्रत्याशित रूपमा अग्रता लिएको थियो । एन्ड्रियास श्जेल्डेरूपको क्रसलाई रोक्ने प्रयास गर्दा इंग्लिस गोलकिपर जोर्डन पिकफोर्ड चुकेपछि बल पोस्टमा लाग्दै गोलमा परिणत भएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा जुड बेलिङ्घमले बक्सभित्र उत्कृष्ट नियन्त्रण गर्दै डिफेन्डरलाई छक्याएर सानदार गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याउनुभयो । दोस्रो हाफमा नर्वेका टोर्बजोन हेग्गेमले गोल गरे पनि भिएआरले अर्लिङ हालान्डले फाउल गरेको भन्दै त्यसलाई मान्यता दिएन । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि अतिरिक्त समयको तेस्रो मिनेटमै मोर्गन रोजर्सको प्रहार नर्वेका गोलकिपर ओर्जान निल्याण्डले नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई चौथो पटक विश्वकपको सेमिफाइनलमा पुर्याउनुभयो ।
कन्सास सिटी स्टेडियममा भएको अर्को खेलमा साबिक विजेता अर्जेन्टिनाले स्विट्जरल्याण्डको बलियो रक्षापंक्तिलाई तोड्न अतिरिक्त समय नै कुर्नुपर्यो । खेलको १०औँ मिनेटमै लियोनेल मेसीको कर्नरमा म्याक अलिस्टरले उत्कृष्ट हेडरमार्फत्् गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनुभएको थियो । तर, ६७औँ मिनेटमा स्विट्जरल्याण्डका ड्यान एनडोएले रिकार्डो रोड्रिगेजसँग ‘वान-टु-वान’ पास खेल्दै इमिलियानो मार्टिनेजलाई बिट गरेर खेल १-१ को बराबरीमा ल्याउनुभयो । त्यसको केही बेरमै खेलको निर्णायक मोड आयो, जहाँ भिएआर चेकपछि स्विस फरवार्ड ब्रिल एम्बोलोले ‘डाइभिङ’ गरेको भन्दै दोस्रो पहेँलो कार्ड खाएर मैदान बाहिरिनुभयो । १० खेलाडीमा समेटिएको स्विट्जरल्याण्डले निर्धारित समयसम्म अर्जेन्टिनालाई रोके पनि अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले डिबक्सको बायाँ किनारबाट प्रहार गरेको सानदार बल सिधै गोलको माथिल्लो कुनामा छिरेपछि अर्जेन्टिनाले २-१ को अग्रता लियो । खेलको अन्तिम समयमा लाउटारो मार्टिनेजले काउन्टर अट्याकमा तेस्रो गोल गर्दै अर्जेन्टिनाको ३-१ को जित पक्का गर्नुभयो ।
यसअघि नै शुक्रबार बोस्टनमा भएको खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । जहाँ केलियन एम्बाप्पेले जारी विश्वकपमा आफ्नो आठौँ गोल पूरा गर्नुभयो । अर्कोतर्फ, स्पेनले शनिबार लस एन्जलसमा भएको खेलमा मिकेल मेरिनोको ८८औँ मिनेटको नाटकीय गोलको मद्दतले बेल्जियमलाई २-१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।
फ्रान्स भर्सेस स्पेन
पहिलो सेमिफाइनलमा फुटबल इतिहासकै दुई ठूला र परम्परागत प्रतिद्वन्द्वीहरू आमनेसामने हुँदैछन् । पहिलो सेमिफाइनल फ्रान्सविरुद्ध स्पेनको हुनेछ । डालास स्टेडियममा दुई टोली नेपाली समयअनुसार बुधबार बिहान पौने १ बजे भिड्नेछन् । यो खेल युरो २०२४ को सेमिफाइनलको पुनरावृत्ति जस्तै हुनेछ, जहाँ स्पेनले फ्रान्सलाई २-१ ले हराएको थियो । ६ खेलमा ६ वटै जित निकालेको फ्रान्सका केलियन एम्बाप्पे (आठ गोल) र ६४९ मिनेटसम्म गोल नखाई विश्वकपमा कीर्तिमान बनाएका स्पेनका गोलकिपर उनाई सिमोन तथा युवा स्टार लामिन यामालबीचको भिडन्त हेर्नलायक हुनेछ ।
अर्जेन्टिनाविरुद्ध इंग्ल्याण्ड
दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्याण्ड भिड्नेछन् । दुई टोलीबीचको खेल नेपाली समयअनुसार बिहीबार बिहान पौने १ बजे एटलान्टामा हुनेछ । जहाँ फुटबल इतिहासकै सबैभन्दा चर्चित र प्रतिद्वन्द्विता फेरि ब्युँतिनेछ । सन् १९८६ मा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ द सेन्चुरी’ होस् या १९९८ मा डेभिड बेकहमले रातो कार्ड पाउँदाको क्षण यी दुई टोलीबीचको खेल सधैँ हाइ–ड्रामाले भरिएको हुन्छ । विश्वकपमा यी दुई टोली ६औँ पटक भिड्दैछन्, जहाँ यसअघिका खेलमा इंग्ल्याण्ड तीन पटक र अर्जेन्टिना दुई पटक विजयी भएका छन् ।
‘अन्डरडग’हरूको सपना अधुरै
हारका बाबजुद नर्वे र स्विट्जरल्याण्डले यस विश्वकपमा जुन किसिमको बहादुरी प्रदर्शन गरे, त्यसले उनीहरूलाई प्रतियोगिताको अन्डरडगका रूपमा स्थापित गरेको छ । तर, क्वाटरफाइनलको खेलसँगै उनीहरूको विश्वकप यात्राको सुखद अन्त्य भएको छ । नर्वेका प्रशिक्षक स्टाले सोल्बाकेनले आफ्ना स्टार स्ट्राइकर अर्लिङ हालान्डलाई अतिरिक्त समयको अन्तिम १५ मिनेट बाँकी छँदा मैदानबाट निकाल्नुपरेको थियो । फ्लोरिडाको अत्यधिक गर्मीका कारण थकित भएका हालान्ड विश्वकपमा पहिलो पटक गोल गर्नबाट चुक्नुभयो । प्रतियोगिताभर सात गोल गर्नुभएका हालान्डले खेलपछि भावुक हुँदै भन्नुभयो, ‘यो एक पागलपनले भरिएको तर अविश्वसनीय यात्रा थियो । हामीले नर्वेलाई विश्व फुटबलको नक्सामा बलियो गरी स्थापित गर्यौँ ।’
त्यस्तै, सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुगेको स्विट्जरल्याण्डको सपना पनि अधुरै रह्यो । १० खेलाडीमा सीमित भएर पनि साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयको ११२औँ मिनेटसम्म रोक्न सफल स्विस टोलीको डिफेन्स र जुझारूपनलाई विश्वभरका सञ्चारमाध्यमले उच्च प्रशंसा गरेका छन् । प्रशिक्षक मुरात याकिनको टोलीले प्रतियोगिताबाट बाहिरिनुपरे पनि फुटबलप्रेमीहरूको मन जित्न सफल भयो ।
विश्वकप खेल्ने दक्षिण अफ्रिकाका एडम्सको निधन
फिफा विश्वकप-२०२६ को दक्षिण अफ्रिकी राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जेडन एडम्सको निधन भएको छ । २५ वर्षीय एडम्सको शनिबार सेन्ट्रल केप टाउनको एक घरमा निधन भएको दक्षिण अफ्रिकी फुटबल खेलाडी संघ (एसएएफपियू)ले जनाएको छ । एडम्सको निधनको कारण भने खुलाइएको छैन । एडम्सले यस विश्वकपमा दक्षिण अफ्रिकाका लागि समूह चरणका खेल खेल्नुभएको थियो । यस्तै दक्षिण अफ्रिकी खेलकुदमन्त्री गेटोन म्याकेन्जीले एडम्सको निधन भएको खबरले गहिरो आघात र मन भारी बनाएको उल्लेख गर्नुभएको छ । म्याकेन्जीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘दक्षिण अफ्रिकी फुटबलले एउटा प्रतिभाशाली युवा खेलाडी गुमाएको छ ।’ यस्तै, अफ्रिकन फुटबल महासंघले पनि देशले एउटा होनहार युवा खेलाडी गुमाएको उल्लेख गरेको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर