काठमाडौं । एसिसी महिला यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियामा आइतबार सम्पन्न समूह चरणको दोस्रो खेलमा प्रभावशाली जित निकाल्दै नेपाल एक खेलअगावै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा विकेट नगुमाई १९९ रनको विशाल योगफल तयार गर्यो । नेपाली ओपनर जोडी साना प्रविन र सावित्री धामीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै सिंगापुरका बलरमाथि दबाब बनाउनुभएको थियो ।
साना प्रविनले ७० बलमा १३ चौका प्रहार गर्दै अविजित ९८ रन बनाउनुभयो । उहाँ नेपाली महिला यू-१९ टोलीका लागि दोस्रो शतक बनाउने खेलाडी बन्ने अवसरबाट मात्र २ रनले वञ्चित हुनुभयो । यसअघि पूजा महतोले २०२४ मा १३० रनको इनिङ खेल्नुभएको थियो ।
अर्की ओपनर सावित्री धामीले पनि उत्कृष्ट साथ दिँदै ५३ बलमा ७८ रनको अविजित इनिङ खेल्नुभयो । दुवै खेलाडीले पहिलो विकेटका लागि अविजित १९९ रनको साझेदारी गर्दै नेपाली टोलीलाई मजबुत स्थितिमा पुर्याउनुभयो । सिंगापुरले नेपालविरुद्ध ६ जना बलर प्रयोग गरे पनि कुनै विकेट लिन सकेन ।
२०० रनको लक्ष्य पछ्याएको सिंगापुर नेपाली बलिङ आक्रमणसामु निरीह देखियो । २० ओभरमा ८ विकेट गुमाएर ४८ रनमात्र बनाउन सकेपछि सिंगापुर १५१ रनले पराजित भयो । सिंगापुरका लागि अंकिथा वर्ष राजले १९ रन बनाए पनि अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका बलरमध्ये अनु कडायत सर्वाधिक सफल रहनुभयो । उहाँले ३ विकेट लिनुभयो । मनिषा उपाध्याय र रिया शर्माले समान दुई-दुई विकेट हात पार्दा कप्तान सोनी पाख्रिनले १ विकेट लिनुभयो ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई १०५ रनले पराजित गरेको थियो । सिंगापुरविरुद्धको जितसँगै नेपालले समूहमा लगातार दोस्रो विजय दर्ता गरेको हो । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलले समूहको शीर्ष स्थान निर्धारण गर्ने सम्भावना रहेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर