काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले १६ वर्षपछि जर्सीविरुद्ध ५० ओभरको एकदिवसीय क्रिकेट खेल्दैछ । आगामी आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्स भ्रमणको तयारीस्वरूप नेपालले जर्सीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । त्यसअन्तर्गत पहिलो खेल आज (सोमबार) नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।
नेपाल र जर्सीबीचको यो भेट केवल अभ्यास खेलमात्र नभई दुई टोलीबीच ५० ओभरको क्रिकेटमा लामो अन्तरालपछि हुने प्रतिस्पर्धा पनि हो । दुवै टोलीले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय क्रिकेटमा उल्लेखनीय प्रगति गरेका छन् । त्यसैले यो खेलले आगामी लिग–२ प्रतियोगिताका लागि दुवै टोलीको तयारीको स्तर मापन गर्ने अवसर प्रदान गर्नेछ ।
नेपालले जर्सीविरुद्ध पछिल्लो पटक सन् २०१० मा घरेलु भूमिमा आयोजित आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ अन्तर्गत ५० ओभरको खेल खेलेको थियो । भक्तपुरस्थित वीरेन्द्र सैनिक विद्यालयको मैदानमा भएको उक्त खेलमा नेपालले ६ विकेटको सहज जित निकालेको थियो । त्यो खेलमा जर्सीले पहिले ब्याटिङ गर्दै १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रभावशाली जित दर्ता गरेको थियो । त्यसयता दुई टोलीबीच ५० ओभरको क्रिकेटमा कुनै भेट भएको थिएन ।
यद्यपि, नेपाल र जर्सीबीच ट्वान्टी-२० अन्तर्राष्ट्रिय छनोटमा भने एक पटक प्रतिस्पर्धा भइसकेको छ । सन् २०१५ मा आयरल्याण्डमा आयोजित आइसिसी ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटमा जर्सीले नेपाललाई ७ विकेटले पराजित गरेको थियो । उक्त प्रतियोगितामा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो, जुन नेपाली क्रिकेटका लागि निराशाजनक नतिजामध्ये एक मानिन्छ । यसपटकको भेट भने फरक सन्दर्भमा हुँदैछ । नेपाल हाल विश्वकप लिग-२ अन्तर्गतका महत्त्वपूर्ण खेलहरूको तयारीमा रहेको छ । नेदरल्याण्ड्स भ्रमणअघि हुने यी दुई अभ्यास खेलले टोली संयोजन, ब्याटिङ क्रम, बलिङ आक्रमण तथा खेलाडीहरूको लय परीक्षण गर्ने अवसर दिनेछ ।
पछिल्ला केही महिनामा नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएको छ भने जर्सी पनि एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धात्मक टोलीका रूपमा स्थापित हुँदै गएको छ । त्यसैले आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । १६ वर्षअघि ५० ओभरको भेटमा नेपाल विजयी भएको इतिहास दोहोर्याउने लक्ष्यमा हुनेछ भने जर्सी पुरानो हारको बदला लिँदै आफ्नो क्षमता प्रमाणित गर्न मैदान उत्रिनेछ ।





समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर