काठमाडौं । नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको भारतमा मुख्यालय रहेको आर्टिफिसियल इन्टेलिजन्स (एआई) जडित साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेडले एक ऐतिहासिक कोशेढुंगा हासिल गरेको छ । उक्त कम्पनीको प्राथमिक सेयर निष्कासन (आइपिओ) बम्बई स्टक एक्सचेन्ज (बिएसई) मा आकर्षक रूपबाट २०५.०८ गुणा ओभर सब्सक्राइब भएको छ । जसलाई भारतीय सेयर बजारमा नेपाली उद्यमी जोडिएको पहिलो सूचीकरण मानिन्छ । उक्त आइपिओ असार १६ मा खुला भएर असार १८ मा बन्द गरिँदा लगानीकर्ताको अत्यधिक विश्वास प्राप्त गरेको बताइएको छ । सन् २०१३ मा इञ्जिनियरिङ पढ्ने क्रममा तीन कलेज साथीहरू दीपजंग थापा, पवन कुमार र परतोष कुमारद्वारा स्थापित क्रतिकल टेक लिमिटेड अत्याधुनिक साइबर सुरक्षासम्बन्धी समाधानको एक विश्वसनीय नाम बनेको छ ।
नेपालको खोटाङ मूल घर भएका सह–संस्थापक थापा उक्त कम्पनीमा चिफ अपरेटिङ अफिसर (सिओओ)का रूपमा नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । मोतीलाल नेहरू राष्ट्रिय प्रविधि संस्थान (एमएनएनआइटी) बाट बीटेक स्नातक उहाँले यसअघि पेटिएममा ‘प्रडक्ट म्यानेजर’का रूपमा काम गर्नुभएको थियो । थापाले भन्नुभयो, ‘खोटाङको पहाडदेखि बम्बई स्टक एक्सचेन्जको ट्रेडिङ फ्लोर पुग्दासम्मको यो यात्रा मेरा लागि सपनाजस्तै हो । लगानीकर्ताको यति ठूलो उत्साहले हाम्रो सोच अनुमोदन गरेको देख्दा हामी निकै नै धन्य भएका छौं । यस आइपिओ नै हाम्रो अन्तिम लक्ष्य होइन, यो त महत्त्वाकांक्षी यात्राको सुरुवातमात्र हो । नयाँ पुँजीसाथ हामी अब कम्पनीको विश्वव्यापी विस्तार तीव्र पार्न, हाम्रा नवीन प्लेटफर्म अझ बलियो बनाउन र सीमापार साइबर सुरक्षामा अझ ठूलो प्रभाव सिर्जना गर्न तयार भएका छौँ ।’
क्रतिकल टेक लिमिटेडको स्थापना सन् २०१३ मा हाल सह-संस्थापक एक जनाको इमेल क्याम्पसको साझा कम्प्युटरमार्फत् ह्याक भएसँगै भएको थियो । उक्त व्यक्तिगत घटनाले उनीहरूलाई साइबर सुरक्षाको व्यापक आवश्यकता उजागर गरेको थियो । आजका दिन कम्पनीले विशेषज्ञ परामर्श र नियामक कम्प्लायन्स सेवासहित एआई-सञ्चालित, सास-आधारित सुरक्षा प्लेटफर्म प्रदान गर्दछ । जसका समाधानहरूले बिएफएसआइ, फिनटेक, टेलिकम, आइटी-आइटिइएस, स्वास्थ्य सेवा, औषधि, ई-कमर्स, निर्माणलगायतका क्षेत्रमा भारत, मध्यपूर्वसहितका अन्तर्राष्ट्रिय बजारका ग्राहकलाई सेवा दिन्छ । झण्डै नौ वर्षअघि चार जना ‘एन्जल इन्भेस्टर्स’ बाट स्रोत जुटाएको क्रतिकल टेकको हाल मूल्य लगभग तीन सय २३ करोड नेपाली रुपैयाँ छ । आइपिओबाट प्राप्त लगानीले अमेरिका र मध्यपूर्वसहितका भूभागमा आक्रामक विस्तार योजनालाई प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ । नेपालमा साइबर सुरक्षासम्बन्धी आफ्नो भूमिका विस्तारका क्रममा क्रतिकलले काठमाडौंस्थित प्रविधि कम्पनी ग्याप टेक्नोलोजिजसँग साझेदारी गरेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर