भक्तपुर । भक्तपुर जिल्लालाई पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका चारवटै स्थानीय तहमा लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आवश्यक सबै खोप प्राप्त गरेको पुष्टि भएपछि आइतबार विशेष कार्यक्रमबीच उक्त घोषणा गरिएको हो।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्दै घोषणा गर्नुभयो। भक्तपुर यसअघि २०७५ सालमा पहिलोपटक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको थियो। त्यसयता दिगोपनाका मापदण्ड, नियमित अनुगमन र संरचनाको मूल्याङ्कनका आधारमा पुनः घोषणा गर्ने प्रक्रिया निरन्तर चल्दै आएको छ। गत वर्ष पनि जिल्ला घोषणा गरिएको थियो भने यस वर्ष पनि चारै नगरपालिकाले आवश्यक मापदण्ड पूरा गरेपछि पुनः औपचारिक घोषणा गरिएको हो।
कार्यक्रममा मन्त्री थापाले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमअन्तर्गत नागरिकको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने योजना अघि बढाइएको जानकारी दिनुभयो। उहाँले नसर्ने रोगको प्रारम्भिक पहिचानका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई घर–घरमा परिचालन गरिने बताउँदै रोकथाममुखी स्वास्थ्य सेवामा प्रदेश सरकारको जोड रहेको उल्लेख गर्नुभयो।
उहाँले भक्तपुर अस्पतालमा छिट्टै कार्डियोलोजी (मुटुरोग) सेवा सञ्चालन गरिने तथा ख्वोप अस्पतालका लागि अत्याधुनिक एमआरआई (MRI) मेसिन खरिद गर्न १५ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको जानकारी दिनुभयो। उक्त सेवा सञ्चालनमा आएपछि प्रदेशवासीले सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले पूर्ण खोप सुनिश्चितता हासिल गर्नु मात्र नभई यसको दिगोपना कायम राख्नु अझ चुनौतीपूर्ण हुने बताउनुभयो। उहाँले खोप पाउने उमेरका कुनै पनि बालबालिका नछुट्ने सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै नियमित खोप कार्यक्रम प्रभावकारी भएकै कारण बाल मृत्युदरमा उल्लेखनीय कमी आएको बताउनुभयो।
जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काका अनुसार जिल्लाका ० देखि १६ महिनासम्मका ५ हजार ५० बालबालिका तथा १६ देखि २३ महिनासम्मका ५ हजार ६८४ बालबालिकाले सबै आवश्यक खोपको मात्रा प्राप्त गरिसकेका छन्। उहाँले खोप कार्यक्रमको सफल कार्यान्वयनमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था तथा स्थानीय तहहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति कार्यवाहक प्रमुख सुजाता बाडेले पूर्ण खोप सुनिश्चितता घोषणा भए पनि यसको दिगोपना कायम राख्नु अबको प्रमुख जिम्मेवारी भएको बताउनुभयो। उहाँले नियमित अनुगमन, जनचेतना अभिवृद्धि तथा सेवा विस्तारलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका अवसरमा खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पुर्याउने चारै नगरपालिका, स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो।
भक्तपुरलाई पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिनुले जिल्लाले बाल स्वास्थ्य प्रवर्द्धनमा उल्लेखनीय उपलब्धि हासिल गरेको सन्देश दिएको छ। अब सबै नवजात तथा लक्षित उमेर समूहका बालबालिकासम्म नियमित रूपमा खोप सेवा पुर्याउँदै यस उपलब्धिलाई दीर्घकालीन रूपमा कायम राख्नु प्रमुख चुनौती रहने स्वास्थ्यकर्मीहरूले बताएका छन्।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर