काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा) २०२६ अन्तर्गत विभिन्न २० प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । इन्फा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा मनोनयन घोषणा गर्नुका साथै उत्कृष्ट पाँचभित्र पर्न सफल कलाकार तथा चलचित्रकर्मीलाई मनोनयन प्रमाणपत्रसमेत वितरण गरिएको हो ।
आयोजकका अनुसार यसवर्ष २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली चलचित्रमध्येबाट अनुभवी तथा स्वतन्त्र निर्णायक मण्डलले निष्पक्ष मूल्यांकनका आधारमा उत्कृष्ट पाँच मनोनयन छनोट गरेको हो । निर्णायक मण्डलमा वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी तथा वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा रहनुभएको छ ।
मनोनयन सार्वजनिक गर्नुअघि मनोनयनमा परेका चलचित्र तथा चलचित्रकर्मीको परिचय समेटिएको श्रव्यदृश्य (एभी) प्रदर्शन गरिएको थियो । त्यसपछि प्रत्येक विधामा उत्कृष्ट पाँचभित्र परेका कलाकार, निर्माता, निर्देशक, लेखक तथा प्राविधिकलाई मञ्चमा आमन्त्रण गरी मनोनयन प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा निर्देशक तथा अवार्ड चिफ कोअर्डिनेटर मनिष कार्कीले बेलायतमा सम्पन्न पहिलो र दोस्रो संस्करणबाट प्राप्त अनुभवका आधारमा यस वर्षको ईन्फा अवार्ड नेपालमै अझ भव्य, सभ्य र अन्तर्राष्ट्रियस्तरमा आयोजना गरिने बताउनुभयो । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै विश्वसामु यसको पहिचान स्थापित गर्ने अभियानलाई अझ प्रभावकारी बनाइने उहाँको भनाइ थियो । यसैबीच नेपाली चलचित्र क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरूप वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार १११ रुपैयाँ राशिको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने घोषणा गरिएको छ ।
ईन्फा अवार्डका पहिलो र दोस्रो संस्करण क्रमशः सन् २०२४ र २०२५ मा बेलायतको लण्डनमा सम्पन्न भएका थिए । तेस्रो संस्करण पहिलोपटक नेपालमा आयोजना हुनलागेको हो । अवार्ड समारोह आगामी साउन ३० गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजना हुने आयोजकले जनाएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर