काठमाडौं । नेपाली साहित्यका नाट्यसम्राट बालकृष्ण समले करिब एक शताब्दीअघि रचना गरेको गजललाई विश्व कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठले संगीतबद्ध गरी आफ्नै स्वरमा सार्वजनिक गर्नुभएको छ । काठमाडौंको मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्र्रहालयमा आयोजित विशेष कार्यक्रममा समको कृति ‘मेरो कविताको आराधना उपासना-१’मा संकलित गजल ‘जान लाग्यो नाम जप्ने सास यो’ को श्रव्यदृश्य सार्वजनिक गरिएको हो ।
कार्यक्रममा वक्ताहरूले नेपाली साहित्यका कालजयी स्रष्टाहरूका सिर्जनालाई आधुनिक संगीतमार्फत नयाँ पुस्तासम्म पुर्याउने अभियानलाई ऐतिहासिक तथा दीर्घकालीन महत्त्वको कार्यका रूपमा व्याख्या गरेका छन् । उनीहरूले नेपाली गजलको इतिहास, यसको शास्त्रीय परम्परा तथा समको गजल सिर्जनाको पक्षबारे पनि विस्तृत चर्चा गरेका थिए ।
साहित्य र संगीतको सहकार्यमार्फत नेपाली भाषाका कालजयी स्रष्टाहरूका सिर्जनालाई पुनः जनमानसमा स्थापित गर्ने उद्देश्यले सञ्चालन भइरहेको अभियानअन्तर्गत समको शताब्दीअघिको गजलको श्रव्यदृश्य सार्वजनिक हुनु नेपाली गजल इतिहासकै एक महत्त्वपूर्ण सांस्कृतिक उपलब्धिका रूपमा हेरिएको छ ।
गजल अभियन्ता तथा समालोचक घनेन्द्र ओझाले नाट्यसम्राट बालकृष्ण समलाई मुख्यतः नाटककारका रूपमा चिनिए पनि उहाँको गजल सिर्जनाको पक्ष कम चर्चामा रहेको उल्लेख गर्दै यसलाई उजागर गर्नु नेपाली साहित्यका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार आदिगजलकार मोतीराम भट्टपछि नेपाली साहित्यमा विकसित हुँदै आएको गजल लेखन परम्परामा समले पनि शास्त्रीय मान्यताभित्र रहेर उल्लेखनीय योगदान दिनुभएको थियो ।
‘समले आफ्नो रचनालाई ‘गजल’ शीर्षक नदिए पनि त्यसको संरचना, लय, भाव र शिल्प सम्पूर्ण रूपमा गजलकै मान्यताअनुसार रहेको देखिन्छ,’ उहाँले भन्नुभयो । ओझाले सार्वजनिक गरिएको उक्त गजल कृष्णभक्तिमा आधारित रहेको उल्लेख गर्दै यसले समको साहित्यिक व्यक्तित्वको अर्को महत्त्वपूर्ण आयामलाई उजागर गरेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समजस्ता नेपाली साहित्यका त्रिमूर्तिका गजलहरू खोजी, अध्ययन र संगीतबद्ध गरी सार्वजनिक गर्नु सन्तोष श्रेष्ठको सिर्जनात्मक योगदानमात्र नभई नेपाली साहित्य र संगीतको इतिहासमा स्मरणीय कार्य भएको बताउनुभयो ।
चलचित्र लेखक तथा निर्देशक मोहन निरौलाले सन्तोष श्रेष्ठले निरन्तर साहित्य र संगीतबीच नयाँ सम्भावनाको खोजी गर्दै आएको उल्लेख गर्दै यस्ता सिर्जनात्मक प्रयोगले नेपाली मौलिक संगीतलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले व्यावसायिक सफलताभन्दा सांस्कृतिक संरक्षण र साहित्यिक सम्पदाको प्रवर्द्धनलाई प्राथमिकता दिने यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राख्नुभयो ।
गजलकार राधा कँणेलले सन्तोष श्रेष्ठ र घनेन्द्र ओझाले दुई वर्षअघि घोषणा गर्नुभएको ‘नेपाली गजल गायन स्वर्ण दशक (विसं २०८०-२०९०)’ अभियानअन्तर्गत देशका विभिन्न स्थानमा करिब एक दर्जन प्रत्यक्ष गजल गायन कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत केही गजल एल्बमसमेत सार्वजनिक भइसकेका छन् भने नेपाली साहित्यका महान् स्रष्टाहरूका गजललाई संगीतमा पुनर्जीवन दिने कार्य निरन्तर अघि बढिरहेको छ ।
कणेलले नेपाली साहित्यका त्रिमूर्ति-महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समका गजललाई आधुनिक संगीतमार्फत आमश्रोतामाझ पुर्याउने प्रयास नेपाली गजलको विकासका लागि प्रेरणादायी रहेको बताउनुभयो ।
महाकवि देवकोटाका सुपुत्र प्राडा.पद्मप्रसाद देवकोटाले अग्रज साहित्यकारहरूको सिर्जनालाई केवल पुस्तकमा सीमित नराखी नयाँ पुस्ताले सहज रूपमा ग्रहण गर्नसक्ने माध्यममार्फत प्रस्तुत गर्नु समयको आवश्यकता भएको बताउनुभयो । उहाँले सन्तोष श्रेष्ठले साहित्यिक सम्पदालाई संगीतमा रूपान्तरण गरी संरक्षण र प्रवर्द्धनमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
संगीतकार तथा गायक सन्तोष श्रेष्ठले आफूले यस्ता कृतिहरू कुनै व्यावसायिक उद्देश्यले नभई नेपाली साहित्यका अग्रज स्रष्टाप्रति सम्मान व्यक्त गर्ने भावनाका साथ प्रस्तुत गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले नेपाली साहित्यका अमूल्य सिर्जनाहरूलाई संगीतमार्फत जनमानसमा पुर्याउनु आफ्नो सांस्कृतिक दायित्व भएको बताउँदै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्राडा.कृष्णहरि बरालले नेपाली गजल गायनको क्षेत्रमा सन्तोष श्रेष्ठले पछिल्ला वर्षहरूमा देखाएको सक्रियता, अनुसन्धानमूलक दृष्टिकोण र समर्पण उल्लेखनीय रहेको बताउनुभयो । उहाँले साहित्यिक गजललाई संगीतमार्फत लोकप्रिय बनाउने अभियानले नेपाली गजलको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्नुभयो ।
अनाममण्डलीद्वारा आयोजित कार्यक्रममा प्रभाती किरणले सभापतित्व गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रूपक अलंकारले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार, समालोचक, कलाकार, संगीतकर्मी, गजलप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
साहित्य र संगीतको सहकार्यमार्फत नेपाली भाषाका कालजयी स्रष्टाहरूका सिर्जनालाई पुनः जनमानसमा स्थापित गर्ने उद्देश्यले सञ्चालन भइरहेको अभियानअन्तर्गत समको शताब्दीअघिको गजलको श्रव्यदृश्य सार्वजनिक हुनु नेपाली गजल इतिहासकै एक महत्त्वपूर्ण सांस्कृतिक उपलब्धिका रूपमा हेरिएको छ ।
साहित्यिक धरोहरलाई आधुनिक प्रस्तुतीकरणमार्फत नयाँ पुस्तासम्म पुर्याउने यस्ता प्रयासले नेपाली भाषा, साहित्य र संगीतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर