काठमाडौं । जननिर्वाचित प्रतिनिधिसभामा धेरै नयाँ अनुहार । संसद्मा एउटै दलको झण्डै दुईतिहाइ बलियो जनमत । युवा र प्रविधिमैत्री पुस्ता एक सरकारको नेतृत्वमा । गत भदौको ‘जेन-जी’ आन्दोलनपछि मुलुकले राजनीतिक स्थिरता मात्र पाएन, नयाँ राजनीतिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा एकल सरकार गठन भयो । नयाँ र बलियो सरकार बनेसँगै निकै लामो समयदेखि शिथिल मुलुकको अर्थतन्त्रले गति लिने अपेक्षा थियो । ‘जेन-जी’ आन्दोलनपछि सुस्ताएका आर्थिक गतिविधिहरू चलायमान हुने र निर्वाचन अगाडि वाचापत्रमा गरिएका उद्योग तथा बजारमैत्री घोषणाहरू कार्यान्वयन हुनेछन् आमअपेक्षा थिए । तर, सरकार गठनको झण्डै साढे तीन महिना बितिसक्दा न अर्थतन्त्र उकालो लाग्न सक्यो, न त आर्थिक गतिविधिमा नै कुनै चमक देखिएको छ । उल्टो, व्यवसायीमा त्रास, अन्योल र पुँजी बजार राताम्मे छ ।
नयाँ सरकार गठनपछि सेयर बजारमा हरियाली छाउने आशा बोकेका लगानीकर्ताहरू पूरै निराश बनेका छन् । सरकारको नीतिगत अन्योल र निजी क्षेत्रमाथि बढ्दो प्रशासनिक धरपकडका कारण सेयर बजारले ६ महिनायताकै सबैभन्दा तल्लो बिन्दु छोएको छ । बालेन सरकारले शपथग्रहण गर्नुभन्दा ठीक अघिल्लो दिन अर्थात् गत चैत १२ गते २९५०.१६ बिन्दुको उच्च स्थानमा अडिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अहिले ओरालो लाग्दै २६०० को बिन्दुमा झरेको छ । नयाँ सरकार आएयता मात्रै समग्र बजार ३५० अंकले घटेको छ ।
नयाँ सत्ताको उदय र बजारको उल्टो यात्रा
गत फागुन २१ गते भएको निर्वाचन अगाडि रास्वपाले आफ्नो वाचापत्रमा सेयर बजारमैत्री नीतिहरू ल्याउने र लगानीकर्ताको सुरक्षा गर्ने ठूला घोषणाहरू गरेको थियो । सोही घोषणा र रास्वपाको एकल सरकार गठनले बजारमा ठूलो उत्साह ल्याउने र नेप्सेले नयाँ रेकर्ड कायम गर्ने विश्लेषण गरिएको थियो । चैत ११ गते नेप्से परिसूचक २९७० को उच्चतम बिन्दुमा पुग्दा लगानीकर्ताहरू निकै हौसिएका थिए । तर, त्यसको भोलिपल्ट अर्थात् बालेन सरकारको आगमनसँगै बजारले उल्टो बाटो समात्यो । सरकार गठनको भोलिपल्टदेखि सुरु भएको गिरावट आजसम्म कायमै छ । नयाँ सरकारले लगानीकर्तालाई ढाडस दिने र बजारको संरचनात्मक सुधार गर्ने अपेक्षा गरिए पनि व्यवहारमा ठीक विपरीत नतिजा देखिएको छ ।
बजेटका व्यवस्थालाई बजारको बेवास्ता
बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरूको आँखा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ल्याउने आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमा टिकेको थियो । लगानीकर्ताहरूले लामो समयदेखि उठाउँदै आएको प्रमुख माग पुँजीगत लाभकर नै अन्तिम कर हुनुपर्ने भन्ने थियो । व्यवहारमा लागू भए पनि कानुनी रूपमा यसले स्पष्ट मान्यता नपाउँदा ठूला लगानीकर्ता सधैँ संशकित थिए । अर्थमन्त्री वाग्लेले लगानीकर्ताको यो मागलाई सम्बोधन गर्दै बजेटमार्फत पुँजीगत लाभकरलाई नै अन्तिम कर हुने कानुनी व्यवस्था गरिदिनुभयो ।
यति मात्र होइन, उहाँले बजेटमा गैरआवासीय नेपाली (एनआरएन)लाई पुँजी बजारमा भित्र्याउनेदेखि लिएर नेप्सेको पुनःसंरचना गर्नेसम्मका १० वटा महत्त्वाकांक्षी सुधारका नीतिहरू अघि सार्नुभयो । बजेट आउनुअघि जेठ १३ गते नेप्से परिसूचक २७८२ को बिन्दुमा बन्द भएको थियो र जेठ १५ को बजेट भाषणपछि बजारमा सकारात्मक सर्किट लाग्ने धेरैको अनुमान थियो । तर, बजारले बजेटका नीतिहरूलाई उत्साहजनक रूपमा स्वागत गरेन । बजेटपछिको पहिलो कारोबार दिनमै नेप्से २६.७२ अंकले घटेर २७५५ बिन्दुमा झर्यो । बजेट आएयता मात्रै बजारले ८६ अंक गुमाइसकेको छ ।
मौद्रिक नीतिले पनि मलजल गर्न सकेन
बजेटले छर्न नसकेको उत्साह राष्ट्र बैंकको मौद्रिक नीतिले फर्काउने आशामा लगानीकर्ताहरू असारसम्म पर्खिए । गत असार २३ गते नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्भवतः इतिहासकै सबैभन्दा छोटो मौद्रिक नीति सार्वजनिक गर्नुभयो । तर, यो नीतिले पनि सेयर बजारका लागि कुनै ठूलो खुकुलोपन वा राहतको प्याकेज ल्याएन । मौद्रिक नीतिले सेयर धितो कर्जामा कम्पनीहरूको वित्तीय अवस्था र नेटवर्थ हेरेर मात्र कर्जा सीमा तोकिने वा बढी कर्जा पाइने कडा नीति अघि सार्यो । लगानीकर्ताहरूले विगतमा वित्तीय अवस्था राम्रो नभएका कम्पनीहरूको सेयरसमेत किनेर राखेको अवस्थामा अब ती नराम्रा कम्पनीको सेयर धितो राखेर कर्जा नपाइने भएपछि बजारमा थप दबाब सिर्जना भएको हो । मौद्रिक नीति आउनु अघिल्लो दिन २६५१ बिन्दुमा रहेको नेप्से त्यसपछिका तीन दिनको कारोबारमा लगातार घट्दै ५१ अंकले ओरालो लागेर २६०० मा खुम्चिएको छ ।
असार मसान्त नजिकिँदै जाँदा बैंक तथा वित्तीय संस्थाको क्लोजिङको दबाबले पनि बजारलाई थिचेको छ । ब्रोकरहरूले सेटलमेन्ट र क्लोजिङका लागि लगानीकर्तालाई सेयर बेच्न दबाब दिइरहेका छन् भने नयाँ लिमिट दिन बन्द गरेका छन् । पुँजी बजार सधैँ हल्ला र लगानीकर्ताको मनोविज्ञानको भरमा चल्ने गर्दछ । दुई तिहाइको बलियो सरकार हुँदाहुँदै पनि अर्थतन्त्रका सूचकहरू चलायमान हुन नसक्नु र निजी क्षेत्र त्रसित हुनुले अन्ततः सेयर बजारलाई निरन्तर राताम्मे बनाइरहेको छ । नयाँ सरकारले यदि समयमै लगानीकर्ताको मनोबल बढाउने र कानुनी त्रासको वातावरण अन्त्य गर्ने कदम चालेन भने पुँजी बजारको यो गिरावट अझै गहिरिन सक्ने विश्लेषण भइरहेको छ ।
धरपकडले ठूला लगानीकर्ता आत्तिएपछि बजार नबढेको हो : अध्यक्ष पाण्डे
बजेटमा राम्रो नीति आए पनि केही धरपकडले गर्दा लगानीकर्तामा अन्योल भएको नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बताउनुभयो । धरपकडले अन्योलको स्थिति आएको उहाँले बताउनुभयो । ठूला लगानीकर्ता नै आत्तिएकाले बजेटपछि पनि बजार नबढेको उहाँको भनाइ छ । ‘धरपकड भएकाले लगानीकर्तामा अन्योलको स्थिति सिर्जना भयो, अब के हुन्छ ? कुन कम्पनी पक्राउ खाने हो भन्ने अवस्था आयो’, पाण्डेले भन्नुभयो, ‘बजार जहिले पनि ठूला लगानीकर्ताले बढाउने हो । ठूला लगानीकर्ता आत्तिएर बजेटपछि नबढेको हो ।’
सेयर बजारमा ७० प्रतिशत बैंक तथा वित्तीय संस्था छन् : पूर्वगभर्नर नेपाल
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले राष्ट्र बैंकले लिएको नीतिले पनि सेयर बजारमा प्रभाव नपरेको बताउनुभयो । मौद्रिक नीतिले कम्पनीको अवस्था हेरेर कर्जा विस्तार गर्ने नीति लिएका कारण बजार बढ्न नसकेको उहाँको भनाइ छ । ‘हाम्रो सेयर बजारमा ७० प्रतिशत जति बैंक तथा वित्तीय संस्था छन् । राष्ट्र बैंकले लिने नीतिले बजारमा ठूलो प्रभाव पर्छ’, नेपालले भन्नुभयो, ‘अहिले त्यसैको प्रभाव परेको देखिन्छ ।’ लगानीकर्ताले राम्रो/नराम्रो सबै कम्पनीको सेयर किनेर राखेको हुनाले मौद्रिक नीतिपछि सेयर बजार घटेको नेपालको बुझाइ छ । लगानीकर्ता बजेटपछि मौद्रिक नीति पर्खिए पनि मौद्रिक नीतिमा त्यस्तो केही नआएको बताउनुहुन्छ पाही इन्भेष्टमेण्ट प्रालि (ब्रोकर नम्बर ७९)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल धिताल । अब लगानीकर्ता धितोपत्र बोर्डतिर हेरेर बसेको उहाँले बताउनुभयो । ‘खास मौद्रिक नीतिमा सेयर बजारको लागि केही पनि आएन’, धितालले भन्नुभयो, ‘अहिले लगानीकर्ता धितोपत्र बोर्डतिर हेरेर बसेको अवस्था छ ।’ उहाँका अनुसार बजेटअघि र मौद्रिक नीति आउनु अघिल्लो दिनसम्म उत्तारचढावबीच नेप्से जम्मा २१ अंकले मात्र घटेको थियो । तर, मौद्रिक नीति आएयता मात्र तीन दिन कारोबार हुँदा नेप्से पूरै ५१ अंकले घटेको देखिन्छ ।
मौद्रिक नीतिले सेयर बजारको लागि राम्रो कुरा केही पनि नआए पनि नराम्रोसमेत नआएको अध्यक्ष पाण्डेको भनाइ छ । बजार दुई हजार ६ सयको आसपासमा आएपछि लगानीकर्ताले स्टप प्लस गर्न थालेको उहाँले बताउनुभयो । ‘असार मसान्त क्लोजिङको बेला भएकाले लगानीकर्तालाई बेच्नुपर्ने प्रेसर परेको पनि छ । ब्रोकरहरूले सेटलमेन्ट गर्न भनेको अवस्था छ’, पाण्डेले भन्नुभयो, ‘अहिले ब्रोकरले पनि लिमिट नदिएको कारणले गर्दा पनि घटेको हो ।’







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर