झापा । झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याई कानको मुन्द्रा लुट्ने आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ रमाइलोका ३० वर्षीय विजय दर्जी रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई कनकाई नगरपालिका–३ सुरुङ्गास्थित सार्वजनिक बसबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार दर्जीले कनकाई नगरपालिका–३ का ११ वर्षीय प्रज्ज्वल श्रेष्ठलाई फकाएर दुवै कानका मुन्द्रा लुटेका थिए। त्यस्तै, स्थानीय भृकुटी माध्यमिक विद्यालयका दुई विद्यार्थी तथा कनकाई नगरपालिका–८ स्थित हिमाली माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत एक बालकको पनि सोही शैलीमा कानका मुन्द्रा लुटिएको प्रहरीले जनाएको छ।
पछिल्लो एक महिनामा कनकाई नगरपालिकाभित्र पाँच बालबालिकाको कानका मुन्द्रा एउटै तरिकाले लुटिएको घटना सार्वजनिक भएपछि प्रहरीले विशेष निगरानी बढाएको थियो।
प्रहरीका अनुसार घटनास्थल आसपासका सिसिटिभी फुटेज र पीडित बालबालिकाको बयानका आधारमा सबै घटनामा एउटै व्यक्तिको संलग्नता देखिएपछि खोजी अभियान तीव्र पारिएको थियो। त्यसक्रममा सार्वजनिक बसमा यात्रा गरिरहेका दर्जीलाई पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेका दर्जीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेको छ। साथै, लुटिएका मुन्द्रा बिक्री–वितरणमा सहयोग गरेको आरोपमा दर्जीकी आफन्त विमला सांसाकरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ।
समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर