म पहाडको छातीबाट
उखेलिएको एउटा घाउ हुँ ।
कुनै दिन
वर्षौंको स्तब्धता बोकेर
भीरको काखमा निदाइरहेको थिएँ,
जहाँ हिउँले मेरो निधार चुम्थ्यो,
बतासले श्लोक पढ्थ्यो,
र जूनले
माथिबाट आफ्नो सेतो एकान्त खसाल्थ्यो ।
तर एक दिन-
गैँची र बेल्चा लिएर
मानिस आए,
र, मलाई
आफ्नै जन्मभूमिबाट
छिनालेर लगे ।
त्यसपछि
म ढुंगा रहिनँ,
जाँतो भएँ ।
त्यही दिनदेखि
मेरो भाग्य
घुम्नुमात्र रह्यो ।
बिहानीका अँध्यारा आँखाहरूमा
भोक लिएर आउने हातहरूले
मेरो शरीरमा
दिनहुँ अन्नका सपनाहरू खन्याए,
अनि म-
आफ्नै छाती घिसारेर
अरूका पेटमा उज्यालो भरिरहेँ ।
कसैले देखेनन्
रोटीको गन्धभित्र
मेरो घर्षणको रगत मिसिएको थियो ।
कसैले सुनेनन्
पीठोको सफेद रंगभित्र
मेरो घर्षणको विलाप
धुलो बनेर उडिरहेको थियो ।
सबैले रोटीको गोलाइमा सन्तोष पोखे,
कसैले त्यस वृत्तभित्र
मेरो क्षय हुँदै गरेको शताब्दी देखेनन् ।
वर्षौंसम्म
मैले गहुँका सुनौला मौसम पिसेँ,
कोदोका पहाडी गीत पिसेँ,
फापरका चिसा कुहिरा पिसेँ,
भोकले सुकेका आँखाहरूका
असत्य प्रतीक्षा पिसेँ ।
तर
सबैभन्दा धेरै
मैले आफ्नै आयु पिसेँ ।
हरेक फन्कोसँगै
मेरो शरीरबाट
एउटा शताब्दी झर्थ्यो,
हरेक घर्षणसँगै
मेरो अस्तित्वको
एउटा अक्षर मेटिन्थ्यो ।
मलाई थाहा थियो-
अन्न समाप्त हुँदैन,
मानिस समाप्त हुँदैन,
भोक पनि समाप्त हुँदैन,
तर म भने
बिस्तारै आफैंलाई खियाएर
अरूलाई बाँच्न सिकाउने नियति बनेँ ।
समय बित्यो ।
आँगनहरूमा
विद्युतका चिच्याहटहरू आए,
फलामका दाँत भएका
नयाँ युगका यन्त्रहरू आए,
र म
घरको एउटा अँध्यारो कुनामा
थन्किएको इतिहास भएँ ।
मेरो छातीमा पारिएको प्वालभित्र
अब अन्न होइन,
माकुराका जालाहरू उम्रन्छन् ।
मेरा घाउहरूमा
बालबालिकाको हाँसो होइन,
धुलोका कण बस्छन् ।
कहिलेकाहीँ
बिर्सिएर घामले
झ्यालको सानो कापबाट
मेरो जीर्ण शरीर स्पर्श गर्दा
लाग्छ-
म अझै घुमिरहेको छु,
कुनै बूढी आमाको सम्झनामा,
कुनै किसानको पसिनामा,
कुनै पुरानो भोकको कथामा ।
किनकि
जाँतोहरू कहिल्यै मर्दैनन् ।
तिनीहरू
रोटीका आकारमा बाँच्छन्,
आमाका हातका डामहरूमा बाँच्छन्,
पसिनाको नुनमा बाँच्छन्,
र, इतिहासका पानाहरूमा चुपचाफ बाँच्छन् ।
चम।कष्लमजगष्२िनmबष्ि।अय







धेरै पढेलेखेका मान्छेले पनि गाउँ समाजमा विद्यमान प्रचलित गृहस्थ जीवनको जिविकोपार्जनको परम्परागत माध्यमलाई नपढेका छन्। र ति सबैले आ-आफ्नो मुल जरो पढ्नु पर्छ ।
अत्यन्त मर्मस्पर्शी भाषाशैलीको प्रयोग, वास्तविकतालाई सिद्ध गर्नुभएको छ।