काठमाडौं । थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी व्यक्ति घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।
थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चानविराकुलका अनुसार आगलागीमा १८ महिला र ९ पुरुष गरी २७ जनाको ज्यान गएको पुष्टि भएको छ। घटनामा अझै केही व्यक्ति बेपत्ता रहेको आशंका गरिएको छ ।
प्रधानमन्त्री चानविराकुलका अनुसार आगो लागेपछि धेरै मानिसहरू ज्यान बचाउन भवनको पछाडितर्फ भागेका थिए। कतिपयले शौचालयमा लुकेर जोगिने प्रयास गरे पनि धुवाँका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अधिकांश शव शौचालयभित्रै फेला परेका उनले बताए ।
घटनाका प्रत्यक्षदर्शी तथा त्यतिबेला बारमा प्रस्तुति दिइरहेका एक सङ्गीतकारका अनुसार कट–आउट स्विचमा अचानक आगो सल्किएपछि केही क्षणमै ठूलो विस्फोट भएको थियो । त्यसपछि धुवाँ र आगो तीव्र गतिमा फैलिँदा बारभित्र रहेका मानिसहरू आत्तिएर बाहिर निस्कने प्रयास गरेका थिए ।
अग्निनियन्त्रकहरूले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको थियो ।
सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा सार्वजनिक भएका भिडियोहरूमा बारबाट आगोको ठूलो लप्का निस्किएको, धुवाँले भवन ढाकेको तथा मानिसहरू चिच्याउँदै बाहिर भागिरहेको दृश्य देखिन्छ ।
बैंककका गभर्नर चाचार्ट सित्तिपुन्तले घटनास्थलको निरीक्षणपछि बारभित्र सजावटका लागि प्रयोग गरिएका प्रज्वलनशील सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको प्रारम्भिक अनुमान रहेको बताउनुभएकाे छ । यद्यपि आगलागीको वास्तविक कारण भने अझै खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर