सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको १०औँ नगरसभा अधिवेशनको दोस्रो बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक ऐन, विनियोजन ऐन, वित्तीय उत्तरदायित्व ऐन तथा नियमावली पारित गरेको छ । नगरसभाले आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान, वार्षिक नीति, योजना र कार्यक्रमसमेत स्वीकृत गरेको हो ।
नगरसभाले सेवा प्रवाहलाई प्रभावकारी र कर्मचारीको मनोबल उच्च बनाउन नगरपालिका मातहत कार्यरत शिक्षक तथा कर्मचारीको पारिश्रमिक पुनःनिर्धारण गर्ने निर्णय गरेको छ । स्थायी कर्मचारीले नेपाल सरकारले निर्धारण गरेबमोजिम पारिश्रमिक पाउनेछन् भने आधारभूत स्वास्थ्य केन्द्रका अहेव/अनमीलाई मासिक ३३ हजार रुपैयाँ, कार्यालय सहयोगीलाई २५ हजार रुपैयाँ, वडा कार्यालयका कार्यालय सहायक (चौथो तह) लाई २७ हजार रुपैयाँ तथा विद्यालय नर्स/स्टाफ नर्सलाई ३४ हजार ७३० रुपैयाँ पारिश्रमिक उपलब्ध गराइने भएको छ । यसका साथै कर्मचारीलाई न्यूनतम सुरु तलब बराबरको चाडपर्व खर्च तथा प्रत्येक वर्ष चैत महिनामा १० हजार रुपैयाँ पोशाक भत्ता प्रदान गरिने निर्णय गरिएको छ ।
नगर अनुदानतर्फ निम्न माध्यमिक तहका शिक्षकलाई २२ हजार रुपैयाँ, प्राथमिक तहका शिक्षकलाई २० हजार रुपैयाँ, बालविकास सहजकर्ता र विद्यालय सहयोगीलाई १९ हजार रुपैयाँ, विद्यालय सहायकलाई २१ हजार रुपैयाँ तथा सांकेतिक भाषा प्रशिक्षकलाई १७ हजार रुपैयाँ मासिक पारिश्रमिक उपलब्ध गराइने निर्णय पनि नगरसभाले गरेको छ ।
बैठकले नवौँ नगरसभापछि हालसम्म बसेका नगर कार्यपालिका बैठकका सम्पूर्ण निर्णय अनुमोदन गर्नुका साथै नगरसभा अधिवेशन सञ्चालन नभएको अवस्थामा आवश्यक निर्णय गर्ने अधिकार नगर कार्यपालिकालाई प्रत्यायोजन गरेको छ । यसैबीच, साक्षर नेपाल अभियानअन्तर्गत आवश्यक न्यूनतम मापदण्ड पूरा गरेकाले हरिवन नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गर्ने निर्णय पनि नगरसभाले गरेको छ ।
नगरसभाबाट पारित भएका निर्णय कार्यान्वयनसँगै आगामी आर्थिक वर्षका विकास निर्माण, सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनका कार्यक्रम अघि बढ्ने नगरपालिकाले जनाएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर