काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ । समारोहका अवसरमा नेपाली भाषा, साहित्य तथा भाषिक एकीकरणमा उल्लेखनीय योगदान पुर्याएका साहित्यकार महेश्वर शर्मा र आना स्टिरलाई नगर परिक्रमासहित रथारोहण गराई विशेष सम्मान गरिएको छ ।
समारोहमा सम्मानित दुवै स्रष्टालाई सम्मानपत्र प्रदान गर्दै आयोजकले उहाँहरूको योगदान नेपाली भाषा र साहित्यको विकासमा प्रेरणादायी रहेको उल्लेख गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सभामुख डीपी अर्यालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुर्याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने कार्यसमितिका पदाधिकारी तथा सदस्य, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ब्याण्ड टोली, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, आमन्त्रित लेखक, साहित्यकार, सञ्चारकर्मी तथा सर्वसाधारणप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको छ । आयोजकका अनुसार सहभागीहरूको उत्साहपूर्ण उपस्थितिले आदिकवि भानुभक्तप्रति सच्चा श्रद्धाञ्जलि तथा नेपाली साहित्यप्रतिको अगाध सम्मान अभिव्यक्त भएको छ ।
समारोह अन्तर्गत आयोजित प्रभातफेरीमा नेपाल एपीएफ स्कुल (कीर्तिपुर), शारदा माध्यमिक विद्यालय (तिलगंगा), प्रज्ञा कुञ्ज स्कुल, राष्ट्रिय सेवा दल, निस्ट कलेज, शिवपुरी माध्यमिक विद्यालय, भानुभक्त मेमोरियल स्कुल, निष्ट स्कुल (भक्तपुर), एनके सिंह मेमोरियल प्रिपरेटोरी स्कुल, प्रस्फुटन इन्टरनेसनल एकेडेमी, अन्नपूर्ण माध्यमिक विद्यालय, कान्तिभैरव माध्यमिक विद्यालय, दरबार हाई स्कुल, एपेक्स लाइफ स्कुल (सरस्वतीनगर), लाइसियम मोडेल स्कुल (सिफल), विश्वज्ञान पाठशाला (पेप्सिकोला), भ्याली भ्यु स्कुल (बानेश्वर) र गम्भीर समुद्र सेतु माध्यमिक विद्यालय (इमाडोल)लगायतका शैक्षिक संस्थाहरूको उल्लेखनीय सहभागिता थियो ।
नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मान : सभामुख अर्याल
सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा २१३औं भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा मात्र सीमित नराखी, त्यसलाई आत्मसात गर्दै भाषा र साहित्यलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
सभामुख अर्यालले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र परिवर्तनशील सामाजिक संरचनाका बीच हाम्रो मौलिक पहिचान र संस्कृतिलाई जोगाउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनतासँगको निकटताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ । हामीले युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ । सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ तथा भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्दै अघि बढ्नुपर्छ । भानुभक्तको सम्मानमा जे-जति गरिन्छ, ती सबै नेपाली राष्ट्रियताका पहरेदार कर्म हुन् र नेपाली मौलिकताका परिचायक पनि हुन्,’ उहाँले भन्नुभयो ।
भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनस्तरसँगको सामीप्यता आजको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै सभामुख अर्यालले युवा पुस्तालाई नेपाली साहित्यप्रति आकर्षित गर्नुपर्ने बताउनुभयो ।
‘आजको दिन हामीले भानुभक्तलाई सम्झनुमात्र होइन, उहाँको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने संकल्प लिनु आवश्यक छ । आधुनिक प्रविधि, विश्वव्यापी प्रतिष्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच पनि हाम्रो भाषा, संस्कृति र पहिचानलाई जोगाउनु तथा उन्नत बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो । यो जिम्मेवारी पूरा गर्न हामीलाई सफलता मिलोस् भन्ने विश्वास व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर