काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित चलचित्र ‘कमला मिस’को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । पोष्टर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शक तथा चलचित्रवृत्तमा उत्सुकता बढेको छ ।
सार्वजनिक पोष्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अँगालोमा च्यापेर बसेको दृश्य प्रस्तुत गरिएको छ । पोष्टरले आमाछोराबीचको गहिरो भावनात्मक सम्बन्ध, माया, त्याग र जीवनका संघर्षलाई प्रतीकात्मक रूपमा चित्रण गरेको छ । यसले चलचित्रको कथा मनोवैज्ञानिक तथा पारिवारिक भावनामा केन्द्रित रहेको स्पष्ट संकेत गर्छ ।
निर्माण पक्षका अनुसार ‘कमला मिस’ प्रसिद्ध साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित भएर निर्माण गरिएको चलचित्र हो । सामाजिक यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रले पारिवारिक सम्बन्धभित्रका मनोवैज्ञानिक पक्षलाई गहिराइका साथ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
चलचित्रमा निर्देशक शाह स्वयंको अभिनयसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्णमुरारी ढुंगेल, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी तथा सञ्जय खतिवडाको अभिनय रहेको छ । अनुभवी र नयाँ पुस्ताका कलाकारहरूको संयोजनले चलचित्रलाई थप सशक्त बनाउने विश्वास निर्माण पक्षको छ ।
लामो अन्तरालपछि निर्देशनमा फर्किएका नीर शाहका लागि ‘कमला मिस’ विशेष महत्त्वको चलचित्रका रूपमा हेरिएको छ । नेपाली चलचित्र क्षेत्रमा गम्भीर विषयवस्तु र साहित्यमा आधारित चलचित्र निर्माणका लागि परिचित शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गर्नुभएको थियो । तीमध्ये अधिकांश चलचित्रले नेपाली समाज, संस्कृति र साहित्यलाई चलचित्रमार्फत प्रभावशाली ढंगले प्रस्तुत गर्नुभएको थियो ।
‘कमला मिस’ पनि त्यही परम्परालाई निरन्तरता दिने प्रयासस्वरूप निर्माण गरिएको जनाइएको छ । निर्माण पक्षका अनुसार चलचित्रले मनोरञ्जनसँगै समाजमा रहेका पारिवारिक सम्बन्ध, मानवीय संवेदना र मनोवैज्ञानिक द्वन्द्वलाई यथार्थपरक शैलीमा प्रस्तुत गर्नेछ ।
चलचित्र विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको हो । यसको कार्यकारी निर्मातामा चैतन्यप्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहनुभएको छ भने लाइन प्रोड्युसरको जिम्मेवारी पुस्कर लामाले सम्हाल्नुभएको छ । पोस्टर सार्वजनिक भएसँगै ‘कमला मिस’ले नेपाली साहित्यमा आधारित चलचित्रप्रति दर्शकको आकर्षण पुनः जगाउने अपेक्षा गरिएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर